coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जसले २७ वर्षदेखि बक्सिङ खेल्दै साफमा स्वर्ण दिलाए

लाइफटाइम अचिभमेन्ट अवार्डबाट स म्मानित हुन लागेका बक्सिङका अन्तर्राष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङ। तस्बिर : सुशान्त गाहामगर÷नागरिक

पोखरा - गण्डकी प्रदेशका एक मात्र अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता चित्रबहादुर गुरुङलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले चौथो टिभिएस अपाचे स्पोटर््स अवार्ड वितरणको अवसरमा साफ गेमका स्वर्ण पदकधारी अन्तर्राष्ट्रिय बक्सिङका पूर्वखेलाडी गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो। मञ्चले यही जेठ २४ गते पोखरा सभागृहमा आयोजित अवार्ड वितरण कार्यक्रममा सम्मान गर्ने बताएको छ।

गुरुङ गण्डकी प्रदेशका एक मात्र अन्तर्राष्ट्रिय स्वर्ण पदकधारी पूर्वखेलाडी हुन्। सानैदेखि खेलकुदमा रुचि राख्ने गुरुङले २७ वर्षको उमेरदेखि मात्र बक्सिङ खेल्न सुरु गरेका थिए। अरूले संन्यास लिने उमेर पुग्नै लाग्दा बल्ल बक्सिङ खेल्न सुरु गरेका गुरुङले छोटो समयमै नेपालका लागि ३ महत्वपूर्ण अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। १९८९ मा बेइजिङमा भएको चौधौं एसियन बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक दिलाएका गुरुङले १९९० मा भएको एघारौं एसियन गेममा नेपाललाई कांस्य दिलाए। उनले १९८९ मा पाकिस्तानमा भएको चौथो साफ गेममा नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। चौथो साफ गेममा नेपालले एक मात्र स्वर्ण पदक जित्दा गुरुङ नायक बने।

स्याङ्जा जिल्ला साबिक मनकामना गाविस भई हाल विरुवा गाउँपालिका ७ स्थायी बासिन्दा गुरुङ २०१८ साल असोज २० गते जन्मिएका हुन्। कक्षा १० सम्मको अध्ययन गरेका गुरुङ लाहुरे दाजु भक्तबहादुरसँग हङकङ गए।  त्यहाँ उनी साढे ६ वर्ष बसे। हङकङ बस्दा अध्ययनसँगै स्विमिङ, बास्केटबललगायतका खेलप्रति आकर्षित गुरुङ दाजुको साथ लागेर गृहजिल्ला स्याङ्जा फर्किए।

स्याङ्जा फर्किएपछि पूर्वाधार नहुँदा उनले स्विमिङ र बास्केटबल खेल्न पाएनन्। त्यसपछि भलिबल र सटपुट खेल्दै उनले २७ वर्षको उमेरमा २०४४ सालदेखि बक्सिङ खेल्न सुरु गरे। सन् १९७७ मा पहिलो पटक एरेनामा उत्रिएका उनले ८४ केजी तौलसमूहमा खेल्दा पहिलो राउन्डमा विपक्षीलाई नकआउट गर्दै जित हासिल गरेर सबैलाई चकित पारे। प्रशिक्षणबिना नै उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएपछि उनी त्यसताकाका उत्कृष्ट प्रशिक्षकको आँखामा परे।

करिब एकमहिने प्रशिक्षणपश्चात् उनी बुटवलमा आयोजित प्रतियोगितामा रजत जित्दै साफ गेमका लागि छनोट भए। त्यस बेला स्वर्ण र रजत जित्ने खेलाडीलाई साफ गेमका लागि छनोट गरिन्थ्यो।

तेस्रो साफ गेमका लागि करिब १५ दिनको प्रशिक्षणपश्चात् उनी थप प्रशिक्षणका लागि बैंकक गए। त्यहाँ ८२ दिनको प्रशिक्षणबाट खारिएर साफ गेममा सहभागी भएका उनले पहिलो चरणमा भुटानलाई नकआउटबाट हराएर श्रीलंकामाथि सनसनीपूर्ण जित निकाल्दै फाइनल पुगे पनि भारतका खेलाडीसँग पराजित भएपछि रजतमा चित्त बुझाए। आफूले पहिलो साफ गेममा रजतमा मात्रै चित्त बुझाउनुपरेपछि हारेको बाघझैं रन्थनिएका उनले हारलाई जितमा बदल्न झन् कडा परिश्रम गरे। त्यसको प्रतिफल उनले चौथो साफ गेममा स्वर्ण जित्न सफल भए।

सन १९८८ को कोरियामा आयोजित ओलम्पिकमा छनोट भएर पनि प्रतियोगिता खेल्न नपाएकोमा चित्रबहादुरलाई थकथकी लाग्छ। स्वास्थ्यले साथ नदिँदा ओलम्पिक खेल्नबाट वञ्चित भएको उनको भनाइ छ। बाह्रौं एसियली खेलकुदमा पनि उनी छनोट भए। पदक मात्र होइन, खेलाडी उत्पादनमा पनि उनको योगदान उत्तिकै छ। आठौं साफ गेमका स्वर्ण विजेता प्रकाश थापामगर, साफ गेमकै कांस्य पदक विजेता बुद्धिबहादुर गुरुङ, बक्सिङका हालका मुख्य प्रशिक्षक प्रवीण गिरी उनका चेला हुन्। चेलाले जित्दा गर्वले छाती फुलाउने चित्रबहादुर हाल वन विज्ञान अध्ययन संस्थान, रामबजारमा खेल प्रशिक्षकका रूपमा कार्यरत छन्। जीवनको उत्तराद्र्धमा पनि युवाझैं दिनहुँ खटिने चित्रबहादुर आफ्नो अनुभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन्। तर राज्यले नै वातावरण नबनाउँदा खिन्न छन्। आफूसँग भएको ज्ञान, सीप र अनुभव बाँड्ने मन त छ। उनले भने, ‘तर के गर्नु हामीले भनेर मात्र हुँदैन, राज्यले त्यसबारेमा सोच्दै सोचेन।’

प्रकाशित: २४ जेष्ठ २०७६ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App