८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थप तीन खर्बबराबरको चिनियाँ सामानमा कर लगाउने अमेरिकी चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा थप कर वृद्धि गर्ने चेतावनी दिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको जारी व्यापार युद्धकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका भित्रिने थप तीन खर्बबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

थप चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी जारी गरे पनि राष्ट्रपति ट्रम्पले चीन र मेक्सिको दुवै राष्ट्रले अमेरिकासँगको व्यापार विवादलाई समाधानार्थ सम्झौता गर्नेमा आशावादी रहेको बताए । यसै वर्षको मे महिनामा व्यापार युद्धलाई अन्त्य गर्नेबारे भएको वासिङ्टन र बेइजिङबीचको वार्ता बिना सम्झौता टुंगिएपछि दुई शक्तिशाली अर्थतन्त्रबीचको तनाव झनै बढेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशबीच वार्ता चलिरहेको बताए पनि गत मे १० देखि दुई पक्षबीच प्रत्यक्ष कुराकानी हुन सकेको छैन । सोही दिन ट्रम्पले दुई खर्ब डलरबराबरको चिनियाँ सामानमा थप २५ प्रतिशत कर वृद्धि गरेका थिए । अमेरिकाले आफ्ना सामानमा कर वृद्धि गरेको बदलास्वरुप चीनले पनि अमेरिकी सामानमा कर वृद्धि गरेपछि दुई देशबीचको औपचारिक वार्ता हुन सकिरहेको छैन ।

‘चीनसँगको हाम्रो वार्तामा थुप्रै रमाइलो चिज भइरहेका छन् । के हुन्छ हामी हेर्ने छौं । म कम्तीमा तीन खर्ब डलरबराबरको चिनियाँ सामानमा थप कर वृद्धि गर्न सक्छु र सो काम म उचित समय आएपछि  गर्नेछु,’ चीनका कुनकुन सामानमा कर वृद्धि हुन्छ भनेर नबताएका ट्रम्पले पत्रकारहरुसँग भने । ‘तर मलाई लाग्छ चीनले सम्झौता गर्न चाहिरहेको छ र मेक्सिको पनि सम्झौता गर्न आतुर रहेको मैले बुझेको छु,’ फ्रान्समा आयोजित हुने ‘डी–डे सम्मान’का लागि प्रस्थान गर्नुअघि आइरिस विमानस्थलमा ट्रम्पले संवाददाताहरुसँग बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी बाहिरिएसँगै चीनको पनि कडा प्रतिक्रिया आएको छ । बेइजिङस्थित चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको चेतावनीलाई कडा शब्दले प्रतिक्रिया जनाएको छ । ‘यदि संयुक्त राज्य अमेरिकाले जानाजानी तनावलाई बढाउने निर्णय ग¥यो भने, हामी अन्त्यसम्म लड्ने छौं,’ मन्त्रालयका प्रवक्ता गाओ फेङले नियमित पत्रकार सम्मेलनका क्रममा भने, ‘चीन व्यापार युद्ध लड्न चाहँदैन तर युद्धसँग डराउँदैन पनि । यदि संयुक्त राज्य अमेरिकाले जानाजानी तनाव बढाउन चाहेको हो भने हामी पनि आवश्यक उपाय अवलम्बन गर्ने छौं र चीन तथा चिनियाँ नागरिकका स्वार्थको संरक्षण गर्ने छौं ।’

चीनसँगको व्यापार र सहकार्यका कारण अमेरिकाले कैयौं वर्षदेखि कसरी फाइदा लिइरहेको छ भन्ने प्रतिवेदन पनि चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको छ । तर अमेरिकाले चीनले मात्रै द्विपक्षीय सम्बन्धबाट फाइदा लिइरहेको आरोप लगाउँदै आएको वाणिज्य मन्त्रालयको भनाइ छ । ‘अमेरिकामा नयाँ प्रशासनले कार्यालय सम्हालेदेखि नै उसले द्विपक्षीय फाइदालाई लत्याउँदै आएको छ र आर्थिक र व्यापारिक सहकार्यका कारण चीन–अमेरिकाबीच रहेको विन–विन प्रकृतीलाई अवमूल्यन गर्दै आइरहेको छ,’ मन्त्रालयले जारी गरेको अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । प्रतिवदेनले अमेरिकाले चीनसँगको व्यापारमा घाटामात्रै रहेको भन्ने सिद्धान्त अवलम्बन गरेको पनि आरोप लगाएको छ ।

‘अमेरिकाले आर्थिक र व्यापारको विषयलाई तोडमोड गर्नका लागि व्यापार घाटाको मुद्दा उचालिरहेको छ,’ मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । व्यापार युद्धमा चीनले अमेरिकी कम्पनीलाई प्रहार गर्नसक्ने विषयमा बोल्दै मन्त्रालयले गत साता चिनियाँ व्यापारिक कम्पनीलाई हानी गर्न सक्ने अमेरिकी कम्पनीको नाम सूचीकृत गरिरहेको बताएको थियो ।

प्रवक्ता गाओले चीनले अमेरिकाका निश्चित उद्योग, कम्पनी वा व्यक्तिलाई लक्षित नगरेको र सूची चाँडै नै सार्वजनिक गर्नेसमेत बताए । चिनियाँ कानुन र बजार कानुन पालना गर्ने अमेरिकी कम्पनी डराउनु नपर्ने उनको भनाइ थियो । चीन र अमेरिकाले एकअर्काका उत्पादनमाथि अतिरिक्त कर लगाउँदै गए त्यसले विश्व अर्थतन्त्रमा भयावह अवस्था सिर्जजना गर्न सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले बुधबार चेतावनी दिएको थियो ।

यसैबीच जारी अमेरिका–चीन व्यापार विवादबारे अमेरिकी अर्थमन्त्री स्टेभन मुन्चिन र पिपल्स बैंक अफ चीनका गभर्नर यी जाङबीच विश्वका २० शक्तिशाली अर्थतन्त्र रहेका देशका अर्थसम्बन्धी नेतृत्वको जापानमा हुने भेलामा छलफल हुने भएको छ । यो भेट दुई देशका अधिकारीबीच एक महिनापछि हुन लागेको औपचारिक भेट हुने रोयटर्सले उल्लेख गरेको छ । उता, मेक्सिको र अमेरिकाबीचको स्थगित वार्ता पनि बिहीबारबाट वासिङटनमा सुरु भएको छ । वार्तामा मेक्सिकन सामानमाथि अमेरिकामा लाग्दै आएको कर हटाउनेबारे छलफल हुने अनुमान गरिएको छ ।बुधबार दुई देशका अधिकारीबीच भएको छलफलमा मेक्सिकोले सीमाबाट गैरकानुनी आप्रवासी रोक्नेबारे सहमति व्यक्त नगरेको वासिङ्नले बताएको थियो । सोही प्रसंगलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार पत्रकारहरुसँग बोल्दै मेक्सिकोसँगको वार्ता सकारात्मक भएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App