८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

देशको सैन्य परिषद्समक्ष नागरिकलाई सत्ता हस्तान्तरणको माग गर्दै राजधानी खार्तुममा प्रदर्शन गर्दै प्रदर्शनकारी। तस्बिर ः एजेन्सी

खार्तुम – सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषद्सँगको वार्तालाई अस्वीकार गरेको छ। सुडानको राजधानी खार्तुममा जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठ जनाको मृत्यु भएपछि लोकतन्त्रवादी नेताले वार्तालाई अस्वीकार गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सैनिक मुख्यालय बाहिर नागरिक सरकारको माग गर्दै धर्नामा बसेका लोकतन्त्रवादी प्रदर्शनकारीलाई सरकारी फौजले सोमबार गरेको बल प्रयोगमा परी मृत्यु हुनेको संख्या सयभन्दा बढी भएको लोकतन्त्रवादी प्रदर्शनकारीलाई समर्थन गर्ने चिकित्सकहरुको समूहले बताएको छ।

३० वर्षभन्दा बढी समय सुडानको राष्ट्रपति रहेका ओमार अल–बसिरलाई सत्ताच्यूत गरी देशको सेनाले सत्ता हातमा लिएको थियो। सत्ता हातमा लिएसँगै सेनाले संक्रमणकालीन सैन्य परिषद् गठन गरी तीन वर्षभित्र नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने सहमति व्यक्त गरेको थियो। यद्यपि नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको थियो।

सोमबारको घटनापछि सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भंग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा पनि संक्रमणकालीन सैन्य परिषद्ले गरेको छ। सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा नौ महिनाभित्र निर्वाचन गराइने बताएका छन्।

सैन्य परिषद्ले चुनावको घोषणा गरे पनि राजधानी खार्तुममा प्रदर्शन रोकिएको छैन। सोमबार यताको प्रदर्शनका कारण मात्रै एक सय आठ व्यक्तिको मृत्यु हुनुको साथै पाँच सय भन्दाबढी व्यक्ति घाइते भएको बताइएको छ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र सहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसिरहेका छन्। धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले सोमबार गोली चलाएको थियो। प्रदर्शनस्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको थियो। आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ।

संयुक्त राज्य अमेरिका र बेलायतलगायतका राष्ट्रले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न संक्रमणकालीन सैन्य परिषद्समक्ष आग्रह गरेका छन्। यी मुलुकले नागरिकलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन्। सुडानको प्रभावशाली नागरिक संस्था चिकित्सकको केन्द्रीय टोलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ। रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको र आपत्कालीन सहयोगको आवश्यकता परेको बताएका छन्।

सुडानी प्रफेसनल एसोसिएसन (एसपिए)ले सेनाले ‘नागरिकको नरसंहार’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ आन्दोलन गर्न आह्वान गरेको छ। एसपिएले सैनिक सत्तासँग तत्काल वार्ता सम्भव नरहेको पनि बताएको छ। सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल–बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो। सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न सर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीले प्रदर्शन जारी राखेको बताइएको छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App