coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अपराधको कारक बन्दै पारिवारिक किचलो

पाँचथर - देशविदेशका नेपालीमाझ चर्चा र चिन्ता बढाउनेगरी जेठ ६ गते राति जिल्लाको मिक्लाजुङमा भएको हत्याकाण्डका पछाडि पारिवारिक किचलो प्रमुख कारण रहेको प्रहरी अनुसन्धानले देखाएको छ। मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा बमबहादुर फियाक र धनराज शेर्माको घरमा नौजनाको निर्मम हत्या भएको थियो। हत्यामा मिक्लाजुङ–७ का मनबहादुर माखिमको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनी बमबहादुरका कान्छा ज्वाइँ हुन्। कान्छी छोरी मनकुमारी फियाकसँग पारिवारिक सम्बन्धमा आएको दरारका कारण उत्पन्न जटिलता हत्यासम्म पुगेको पाइएको छ।

‘विगतमा एकपछि अर्को पारिवारिक तनाव भएको देखिन्छ। मनकुमारीसँग अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको थियो,’ पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले भने, ‘पारिवारिक रिसइबी बढ्दै गएको र हत्यामा कान्छा ज्वाइँ मनबहादुरकै हात रहेको देखिएको छ। उनले घरबार राम्रो नभएको, पैसा कमाउन नसकेको जस्ता निराशाजनक कुरा गर्ने गरेको समेत पाइएको छ। अरूको सहयोग लिए÷लिएनन् भन्नेचाहिँ अनुसन्धान अझै हुँदै छ।’ हत्या गरिएका नौजना सबै मनबहादुरकै आफन्त हुन्। लेनदेन, पारिवारिक विवाद, प्रहरीसम्म उजुरी, मेलमिलाप र सम्बन्ध विच्छेदसम्मका घटना जोडिएको देखिन्छ।

आर्थिक कारोबार, सम्पत्तिको वितरण, परसम्बन्धलगायत कारणले परिवारमा किचलो बढेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी र विभिन्न प्रहरी चौकीमा पारिवारिक किचलोका उजुरी प्रशस्त आउँछन्। मेलमिलाप गर्न मिल्ने उजुरीलाई मिलाएर पठाउने गरिएको डिएसपी कुँवर बताउँछन्।

पत्नी माइत आएर बसेकी थिइन्। मानबहादुर विदेशमा थिए। विदेशबाट आएपछि माइतमा लिन आउँदा पत्नी जान नमानेको स्थानीयको भनाइ छ। स्थानीय बुधबारे बजारबाट जबर्जस्ती घर ल्याएको घटनाक्रम देखिन्छ। जबर्जस्ती मनकुमारीलाई घर लगेपछि विवाद बढ्दा रबीस्थित इलाका प्रहरी कार्यालयमा मिलापत्र भएको प्रहरीले जानकारी दिएको छ। यसरी घटनाक्रम हेर्दा पारिवारिक कलहकै कारण यति ठूलो अपराध भएको देखिन्छ। यो घटना मात्र होइन, विगतमा भएका हत्यासम्मका घटना हेर्दा पारिवारिक किचलो नै उत्कर्षमा पुगेको देखिन्छ। शृंखलाबद्ध रूपमा एकपछि अर्को पारिवारिक किचलोका कारण हत्यासम्मका अपराध हुने गरेको डिएसपी कुँवर बताउँछन्। ‘हत्या, ज्यान मार्ने उद्योग, कुटपिट तथा घरेलु हिंसालगायत उजुरीको प्रकृति हेर्दा पारिवारिक असन्तोष मुख्य कारण देखिन थालेको छ,’ उनले भने।

चालु आवमा हत्याका अन्य घटना पनि भएको पाइन्छ। मंसिरमा फाल्गुनन्द गाउँपालिकाको फाक्तेपमा इन्द्रमाला चेम्जोङको हत्या भयो। हत्याको अनुसन्धान गर्दै जाँदा आफ्नै पति नरबहादुर चेम्जोङले हत्या गरेको खुल्न आयो। हत्याकै घटना तुम्बेवा गाउँपालिकामा पनि भयो। छोरीले बाबुलाई धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको देखियो। वकिल माङ्लाकलाई छोरी दीपा भनिने दिव्या माङलाकले छुरी प्रहर गरेकी थिइन्। घरव्यहारबारे किचलो हुँदै जाँदा यस्तो आपराधिक घटना हुन पुगेको थियो। त्यस्तै माघमै मिक्लाजुङमा पत्नीले आत्महत्या गरेको भनेपछि माइती पक्षले अस्वीकार गरी हत्याको किटानी गर्दै जाहेरी दिए। माइती पक्षले हत्या भएको किटानी गरेपछि दीपेन्द्र राई पुर्पक्षका लागि थुनामा छन् भने उनको मुद्दा अदालतमा चलिरहेको छ।

यी हत्याका घटनाले पारिवारिक कलहको गम्भीर अवस्था जनाउँछ। आर्थिक कारोबार, सम्पत्तिको वितरण, परसम्बन्धलगायत कारणले परिवारमा किचलो बढेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी र विभिन्न प्रहरी चौकीमा पारिवारिक किचलोका उजुरी प्रशस्त आउँछन्। मेलमिलाप गर्न मिल्ने उजुरीलाई मिलाएर पठाउने गरिएको डिएसपी कुँवर बताउँछन्। जिल्लामा २०७२/७३ मा चार, २०७३/७४ मा १२ र २०७४/७५ मा पाँचवटा हत्याका घटना भएका थिए। ज्यान मार्ने उद्योगका घटना पनि उत्तिकै देखिन्छन्। २०७२÷७३ मा आठ, २०७३/७४ मा चार र आघिल्लो आवमा ६ वटा घटना भएका थिए। गाउँमै समाज राखेर घरायसी समस्या समाधान गर्ने चलन पनि रहेको छ।
बक्स

ह्वात्तै बढ्यो सम्बन्ध विच्छेद
परिवार टुक्रिँदै गएको पुष्टि सम्बन्ध विच्छेद बढ्दै जानुले पनि गराउँछ। जिल्ला अदालतको तथ्यांक हेर्ने हो भने अरू मुद्दाको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढी देखिन्छन्। चालु आवमा सम्बन्ध विच्छेदका लागि १ सय ६२ जनाले निवेदन दर्ता गराएका छन्। जसमा १ सय ३ महिला छन् भने ५९ जना पुरुष। यो अघिल्लो आवको तुलनामा साढे तीन गुणा बढी हो। अघिल्लो आवमा ४५ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो आवमा ४३ महिला र दुई पुरुषले मुद्दा दर्ता गराएका थिए। पति वैदेशिक रोजगारीमा हुँदा अर्को विवाह गर्नेको संख्या पनि बढेको देखिन्छ। अत्यधिक मादक पदार्थ सेवन तथा सामाजिक सञ्जालको जथाभावी प्रयोगले पनि समस्या पार्ने गरेको डिएसपी कुँवर बताउँछन्।                                                                                                         

प्रकाशित: २४ जेष्ठ २०७६ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App