coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनगढी विमानस्थल एक महिनादेखि बन्द

कैलालीस्थित धनगढी विमानस्थलमा मर्मत तथा स्तरोन्नतिको काम हुँदै। तस्बिर : नागरिक

धनगढी - सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।

विशेषगरी हृदयघातलगायत केही घण्टामा उपचार गराउनु पर्ने बिरामी बढी समस्यामा परेका छन्। उडान बन्द नगरी मर्मत तथा स्तरोन्नतिको काम गरिनुपर्ने भन्दै स्थानीयले राखेको माग बेवास्ता गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले वैशाख २२ देखि जेठ २१ गतेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो। निर्धारित समय पूरा हुँदा पनि उडान सुचारु नहुँदा चौतर्फी समस्या भएको भन्दै स्थानीय आक्रोसित भएका छन्। ‘अन्य विमानस्थलमा उडान बन्द नगरी काम भइरहेकामा सुदूरपश्चिमको विमानस्थल बन्द नगरी काम गर्न हामीले गरेको माग सुनवाइ गरिएन्,’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले भने, ‘अहिले एक महिनापछि विमानस्थल बन्दको अवधि लम्ब्याएर सर्वसाधारणमाथि थप अन्याय गरिएको छ।’

भद्रपुर, वीरगन्ज, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंलागयत अन्य विमानस्थलमा राति काम गरेर दिउसो उडान नियमित गरिएकामा यहाँ नगरिएको उनले बताए। उडान बन्दले सुदूरपश्चिममा हुने ठूला कार्यक्रम एक महिनासम्म हुन नसकेको उनको भनाइ छ। होटल व्यवसाय, पर्यटन, अन्य व्यवसायमा प्रत्यक्ष रुपमा असर परेको उनको भनाइ छ।

विमानस्थल बन्द नगरेर काम गर्न माग गर्दा त्यतिबेला विमानस्थलका कर्मचारीले एक महिना बन्द गरिने सूचना जारी भए पनि २० दिनमै काम सिध्याएर उडान सुचारु गर्ने आश्वासन दिएको स्थानीय बताउँछन। ‘त्यतिबेला २० दिनमै काम सिध्याएर हवाई उडान सुचारु गर्छौं भनेर भनिएको थियो,’ पर्यटन व्यवसायी पदमबहादुर सिंहले भने, ‘अहिले एक महिनामा पनि सुचारु नगरेर बन्दको अवधि थप गर्ने काम गरेर सर्वसाधारणलाई थप मार्कामा पारिएको छ।’

धनगढी विमानस्थल आयोजना प्रमुख रतनकुमार श्रेष्ठले सञ्चारकर्मीसँग पनि २० दिनमै काम सकेर निर्धारित समयअगावै उडान सुचारु गर्ने बताएका थिए। श्रेष्ठले स्टिमेटभन्दा बढी काम गर्नुपर्ने भएकाले पहिले भनेजस्तो २० दिनमा काम नसकिएको तर्क दिए। ‘स्टिमेटअनुसार २० दिनमा काम सिध्याउन भनेका थियौं, माटो दलदल भएकाले बढी खन्नुपर्ने भएकाले समय लम्बिएको हो,’ उनले भने। एक सातामा काम सकेर उडान सुचारु हुने उनको भनाइ छ।
धावनमार्गको आठ सय ५० मिटर लम्बाइमा स्टिमेटमा कम भएकामा साढे चार फिट गहिरो खाडल खन्ने काम भएकाले समय बढी लागेको उनको भनाइ छ। यो भागमा नयाँ पिच गरिने छ भने अन्य भागमा पिचमाथि नै कालोपत्रे थपिने छ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले अहिले अर्को सूचना जारी गरेर जेठ २८ सम्म विमानस्थल बन्द गरिएको जानकारी दिए। उच्च प्रविधि प्रयोग गरेर विमानस्थलमा उडान सुचारु राखेर काम गर्न सकिने अवस्था हुँदाहुँदै प्रदेशभरीको एक मात्र विमानस्थल आफूखुसी एक महिना बन्द गर्ने र अझ एक साता थप्ने काम हेपाहा प्रवृति भएको नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य गोपाल हमाल बताउँछन्। ‘कर्णालीबाहेक अन्य कुनै विमानस्थल बन्द गरेर मर्मत र स्तरोन्नतिको काम गरेको उदाहरण छैन,’ उनी भन्छन्।

विमानस्थल बन्दसँगै यहाँबाट हवाईमार्ग भएर काठमाडौं आहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। राजधानीका राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सवैभन्दा बढी गाह्रो परेको छ। हृदयघातलगायत गम्भीर बिरामीलाई उपचारका लागि हवाईमार्गमार्फत बिरामी काठमाडौं लैजाने गरिन्थ्यो। ‘अहिले इमर्जेन्सी बिरामी उपचारका लागि भारततिर जान बाध्य छन्,’ व्यवसायी पुष्कर ओझाले भने, ‘भारतमा महंगो उपचार गर्नुपर्ने, ठगिनु पर्ने र ज्यानसमेत गुमाउनु पर्ने अवस्था भएको छ।’

बिरामी, अशक्तलाई अन्यत्र जान समस्या भएको छ स्थानीय बताउँछन्। ‘गाह्रो, असजिलो र इमर्जेन्सी पर्दा सुदूरपश्चिमबाट देशका अन्यभागमा तुरन्तै ओहोरदोहोर गर्ने अन्य उपाय छैन,’ स्थानीय भीम चौधरीले भने। धनगढीबाट चार घण्टाको सडकदूरीमा रहेको नेपालगन्जबाट काठमाडौंलगायत ठाउँमा हवाई यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीको भनाइ छ।

स्थानिय व्यवसायी दिनेश भण्डारीले आर्थिक बर्षको अन्तिममा आर्थिक गतिबिधी बढी हुने समयमा एक महिनामा थप एक साता   विमानस्थल बन्दले यस प्रदेशको बिकास लगायत सवैक्षेत्रमा गंभिर असर परेको भन्दै आपत्ती जनाएका छन। ‘बर्षभरीमा सवैभन्दा बढी बजेट खर्च भएर गतिबिधी हुने पिग आवरका वेला मनपरी ढंगले एक डेढ महिना विमानस्थल बन्द गरिदाँ पुरै प्रदेशको विकासमा नै प्रभाव परेको छ ’उनले भने।

मेशिनवाट पिच उम्काउने, पिच भर्ने र ३ घण्टामै पिच सेट गरिसक्ने प्रविधी हुँदाहुदै करिव ३० लाख जनसंख्या भएको सुदूरपश्चिाम प्रदेशलाई हवाई सम्पर्क बिहिन हुनेगरि निर्माणका नाममा विमानस्थल बन्द गरिनुृ दुःखद र अन्यायपुर्ण काम भएको पर्यटन व्यवसायी संजय चौधरी बताउछन।‘बन्द गरिसकेपछि पनि निर्धारित सुचना जारी गरेको समयमा काम सिध्याएर हवाई उडान सुचारु गर्ने इमान्दारिता देखाउन सक्नुपथ्र्यो, त्यो पनि भएन’उनले भने।

संसारका सवै विमानस्थलमा १०, १० बर्षमा रन वे रिहाव गरिने र  अहिलेको प्रविधीमा जनतालाई दुःख दिने गरि बन्द गरेर काम अन्यत्र  कतै नहुने उनी बताउछन। विमानस्थल बन्दले एक महिना यता पर्यटक आउन समस्या भएको उनले बताए। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाका अनुसार धनगढी विमानस्थलवाट प्रतेक दिन बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सका दुई–दुई उडान हुने गरेका थिए भने नेपाल एयरलाइन्सले आइतवार, मंगलवार र बिहिवार गरि हप्ताको ३ दिन उडान गर्ने गरेको छ। प्रत्येक दिन ७ सय यात्रुले ओहोरदोहोर गर्ने गरेका थिए।

धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको छ। विमानस्थल स्तर उन्नती र कालोपत्रेका लागी १७ करोड, ८८ लाख ८८ हजार बजेट रहेको छ। अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईमा मर्मत र कालोपत्रे हुने छ। जहाजको पार्किङ क्षमता बढाउन १०० मिटर लम्बाइ र ७० मिटर चौडाई विस्तार पनि गरिने छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App