coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा नेताहरूको स्वार्थ बाझिँदा डेढ साता पछि धकेलिएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहालका तर्फबाट प्रस्तुत भएको केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावमा ओली दाहाल गुटका व्यक्ति मात्रै समावेश गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललगायत सचिवालय सदस्यहरूले लगातार असहमति प्रकट गरेपछि सचिवालयको बैठक डेढ साता पछाडि धेकेलिएको हो।

पार्टी अध्यक्षद्वयले आफ्नै गुटका मात्रै व्यक्तिलाई समावेश गरेपछि सचिवालय सदस्यहरूले त्यसलाई अस्वीकार गरेका थिए। बिहीबार बिहान पार्टी अध्यक्षद्वय ओली दाहाल र नेपालबीच बेग्लै छलफल भएको थियो। छलफलका क्रममा नेपालले संघीय मन्त्री, प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सांसद र विभिन्न संसदीय समितिमा रहेका व्यक्तिबाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनुपर्ने अडान दोहो-याएका थिए।

त्यसैगरी, जिल्ला सह–इन्चार्जमा धेरैजना तोकिँदा मिनी केन्द्रीय कमिटीको बैठक जस्तो हुने भएकाले त्यसलाई पनि एकजना इन्चार्ज एकजना सह–इन्चार्ज तोक्नुपर्ने यसरी कार्यविभाजन गर्दा वरिष्ठताको क्रम भंग गर्न नहुने कुरा नेता नेपालले राखेका थिए। छलफलले निष्कर्ष ननिकालेपछि बैठक डेढ साता पछि धेकेलिएको हो। प्रधानमन्त्री ओली सन् २०१९ को जुन ८ तारिखमा युरोप भ्रमणमा जाँदैछन् भने १६ तारिख मात्रै स्वदेश फर्किनेछन्।

अहिलको कार्यविभाजनले आगामी महाधिवेशनलाई समेत प्रभाव पार्न सक्ने अवस्था भएका कारण तीन जनाले आफ्ना अडान छाड्न सकेका छैनन। आगामी महाधिवशेनवाट नेतृत्व लिने गरी पार्टीभित्र मुख्य तीन गुटमा विभाजित छन्। अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका आ–आफ्ना गुट र शक्ति स्वार्थ अहिले नेकपामा प्रस्टै देखिएका कारण कार्यविभाजनमा तीनजना नेताहरू आ–आफ्ना अडानमा छन्। त्यही कारण पनि उनीहरू पार्टीका बन्ने कमिटीमा आफ्ना समूहका नेताकार्यकर्तालाई बढीभन्दा बढी समेट्नलाई उनीहरूले विधि र मादण्ड मिच्न र विधि र मादण्डलाई आधार बनाउने विषयमा रस्साकस्सी गर्दै आएका छन्। अझ नेतृत्वमै आफ्ना समूहलाई स्थापित गराउन सके आगामी दिनमा आफूअनुकूल काम गराउन सकिनेमा नेताहरूमा स्वार्थ हावी हुँदा कार्यविभाजनमा समेत यसको प्रत्यक्ष असर देखिएको छ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको युरोप भ्रमणपछि मात्रै सचिवालयको बैठक बस्ने जानकारी दिए उनका अनुसार पर्याप्त छलफलबिना कार्यविभाजनको प्रस्ताव आएकाले त्यसलाई बैठकले अस्वीकार गरेको र तयारीका साथ अर्को प्रस्ताव बनाउनु पर्ने भएपछि बैठक पछि सरेको हो। ‘ केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा तयारी भएको थिएन बैठकमा प्रस्तुत भएको प्रस्तावमा अलिक छलफल गर्नुपर्ने देखियो जसका कारण प्रधानमन्त्री केपी ओलीको भ्रमण अघि बैठक बस्न संभव भएन पछि धेकेलिएको हो’, वरिष्ठ नेता खनालले भने। पार्टी अध्यक्षद्वयले राखेको प्रस्तावमा मापदण्डभन्दा पनि गुटलाई आधार मानेपछि नेताहरूबीच विवाद भएको थियो।

बैठकमा ओली पक्षबाट ईश्वर पोखरेलले हुबहु समर्थन गरेका थिए भने महाससचिव विष्णु पौडेलले पनि पोखरेललाई साथ दिएका थिए। प्रस्ताव तयार गर्ने रामबहादुर थापा भने मौन बस्दै आएका छन्। बैठकमा नेपाललाई झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले साथ दिएका थिए। उनीहरूले पार्टी व्यक्तिले होइन विधिले चल्नुपर्छ गुटगत स्वार्थलाई केन्द्रमा राखेर पार्टीलाई सञ्चालन गर्नु हुँदैन भन्दै अध्यक्षद्वयको प्रस्तावमा अहमति जनाएका थिए। अघिल्ला बैठकहरूमा त्यही विषय दोहोरिएपछि बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकी स्थगित भएको थियो। ‘सचिवालय बैठक बस्नुअघि तीन नेताहरूबीचको छलफल पनि सकारात्मक नभएपछि बिहीबारको बैठक स्थगित भएको हो,’ एक सचिवालय सदस्यले भने। उनका अनुसार धेरै वरिष्ठ नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै मन्त्री र सांसद भएका व्यक्तिलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिन खोजेकाले बैठकमा असहजता उत्पन्न भएको थियो।

बुधबारको बैठकमा वामदेव गौतमले त ओली–दाहाललाई सबै आफ्ना खल्तीका नेतालाई जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका थिए। त्यसपछि अध्यक्ष दाहालले मन्त्री र सांसद बाहेकलाई जिम्मेवारी दिनेगरी बिहीबारको बैठक आह्वान गरेका थिए। तर बिहीबार बैठक नै बस्न सकेन। बिहीबारको छलफलमा नेता नेपालले स्पष्ट मापदण्ड बनाएर जिम्मेवारी नदिए धेरै नेताहरू अन्यायमा पर्ने यसले पार्टीलाई सही दिशातर्फ लैजान नसक्ने दाबी गरेपछि थप तयारीका लागि भन्दै बैठक पछि सारिएको थियो।

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App