coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘संविधानसभा पदक पार्टीको तक्माजस्तो’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानसभा पदक प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गते गणतन्त्र दिवसमा संविधानसभा सदस्यलाई बाँडेको पदकमा विभिन्न टिप्पणी हुन थालेका छन्। कांग्रेसले यसबारे पार्टीमा कुरा उठाउने बताएको छ भने अन्य सांसदले पदक राजतन्त्र जस्तो शैलीमा वितरण गरिएको तथा पहिलो संविधानसभा र दोस्रो संविधानसभाका सदस्यलाई एउटै पदक दिएको भन्दै विरोध गरेका छन्।

कांग्रेस सचेतक पुष्पा भुसालले पदकको विषयमा संसदीय दलको बैठक र पार्टीमा छलफल चलाउने बताइन्। ‘राष्ट्रपतिबाट दिएको पदकमा सूर्य चिन्ह भएको निश्चित हो, कुरा उठेपछि यसको पार्टीले नै निर्णय गर्नुपर्ने भएका कारण केही दिनपछि यसबारेमा छलफल गरिनेछ ,’ उनले भनिन्।

नेकपा सांसद् रामकुमारी झाँक्रीले राष्ट्रपतिबाट दिएको पदक राजतन्त्रको झल्को आउने गरी वितरण गरिएको बताइन्। राजनीतिकर्मीलाई कुनै पदकको आवश्यकता नभएको बताउँदै उनले भनिन्, ‘पदक दिने कुरा राम्रो हो तर यस्तो व्यक्तिलाई दिइयोस् जसले राष्ट्रमा सामाजिक योगदान गरेका छन्।’विगतमा पनि पदक विवादित व्यक्तिलाई दिएका कारण पदक दिने नै हो भने एउटा सैद्धान्तिक बहसको आवश्यकता परेको बताइन्।

कतै विवादित कर्मचारी, कतै क्रिमिनल व्यक्ति, कतै डिउटी पूरा नगरेका डाक्टरले पदक पाएकाले पनि पदकबारे राम्रो सन्देश नगएको उनको भनाइ छ। ‘गणतन्त्रपछिको पदक राम्रो सन्देश दिने हुनुपर्छ,’ उनले भनिन्, ‘नेपालमा गणतन्त्रपछि राम्रो सन्देश दिनेगरी पदक वितरण भएनन्, विवादास्पद मान्छेले पाए।’ राजनीतिकर्मीले पदक पाउने होइन भन्दै उनले राजनीतिमा पदकको मूल्य कौडी बराबर हुने बताइन्। ‘राष्ट्रपतिबाट घाँटीमा लगाइने कुरा हातमा दिने गरियो। यो पनि गलत भयो,’ झाँक्रीले भनिन्।

दोस्रो संविधानसभा सदस्य रामहरि खतिवडाले राष्ट्रपतिबाट संविधान बनाउने सदस्यलाई संविधान बनाएबापत दिएको पदक सकारात्मक भएको बताए। तर उनले पनि सूर्य चिन्ह राखेको विषयमा आपत्ति जनाए। ‘पार्टीको तक्मा दिएको हो भने त्यसमा दुःख छ ,’ उनले भने, ‘राष्ट्रपति पार्टी र जातीभन्दा माथि उठ्नुपर्छ। सबै संविधानसभाका सदस्यलाई सम्मान गर्ने कुरा हो यो।’ उनले दोस्रो संविधानसभाले मात्र संविधान बनाएको भन्दै ‘संविधान बनाउने र नबनाउनेलाई एउटै पदक दिन आवश्यक थिएन।’

‘यसरी दुवै संविधानसभाका सदस्यलाई पदक दिने हो भने संविधान बनाउने माथि न्याय गरियो कि अन्याय गरियो ?’ उनको प्रतिप्रश्न छ। संविधानसभा सदस्यलाई दिने पदक पनि एनजिओले बनाएजस्तो भएको उनको आरोप छ। ‘मलाई यो पदक कुन दिन लाउने पनि थाहा छैन,’ उनले भने। जेठ १५ गते गणतन्त्र दिवसमा पहिलो संविधानसभा र दोस्रो संविधानसभाका एक सय १४ ले मात्र पदक लिएका थिए।

राष्ट्रपति भण्डारीले बाँडेको पदकमा कोरिएका धर्सा सूर्यजस्तो भएको भन्दै विरोध भएको हो। मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले ‘पदकमा संविधानलाई आडदिने गरी कुंदिएका रेखाहरूको कलात्मक प्रस्तुतिले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो भन्ने आम चर्चा छ,’ भन्दै आपत्ति जनाएका थिए। संविधान निर्माणमा भएको बलिदानीपूर्ण संघर्ष संविधानको मर्म भावना र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो रहेको पनि उनले बताए। उनले संविधान निर्मातालाई चिनारी पदक वितरण गर्ने सुशोभनको शैली स्याबासी दिनेजस्तो भएको पनि बताए।

पदकभित्र सूर्य चिन्हजस्ता धर्सा राखिएको छ। पार्टीको चुनाव चिन्हलाई पदकभित्र घुसाएर एउटा पार्टीले मात्र संविधान निर्माण गरेजस्तो गरिएको कांग्रेसको ठहर छ। पदकभित्र लालिगुराँस फूल, नेपालको राष्ट्रिय झण्डा, भित्र सूर्यको चिन्ह अंकित रेखा रहेका छन। सूर्यजस्ता धर्साहरू स्थानीय तह बुझाउने धर्का रहेको गृहमन्त्रालयले जनाएको छ। स्थानीय तह सात सय ५३ छन् तर धर्साहरू त्यति संख्यामा नभएको सभासदको भनाइ छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App