८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय सरकारका प्रमुखबाट पत्रकार असुरक्षित

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी। तस्बिरः चौधरीको फेसबुकबाट

इटहरी - पत्रकारले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीबाट आफूहरु असुरक्षित भएको ठहर गरी सुरक्षा माग्दै आन्दोलन थालेका छन्। जनताको जिउधनको सुरक्षा प्रदान गर्ने निकायका प्रमुख चौधरीले पत्रकारको नाक भाँच्ने धम्की दिनु र त्यसपछि सञ्चारमाध्यममार्फत कानुन, न्यायपालिका र प्रहरीलाई नमान्ने अनि पत्रकारलाई लात्तैलात्ताले हानेर कालो मोसो दल्छु भनी अभिव्यक्ति दिएपछि सुनसरीका पत्रकारले असुरक्षा महसुस गरेका हुन्।

पत्रकार अनुपमसँग मंगलबार टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु, तिम्रो विरुद्ध सुपारी दिइसकेको छु, सुरक्षा खोज्नु’ भन्दै धम्की दिएका थिए। सोही विषयमा न्युज २४ टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘म संविधान र कानुन मान्दिनँ, इटहरीमा मेरो शासन चल्छ, मेरो विरुद्ध लेख्नेलाई कालो मोसो दलेर टिन ठटाएर बजार घुमाउँछु, निर्धाहरुले मात्रै कानुन र पुलिसकोमा जाने हो, कानुन नमाने पनि नेपालमा केही हँदैन’ जस्ता अत्यन्तै अस्वाभाविक, अराजक र अमर्यादित अभिव्यक्ति दिएका थिए। मेयर चौधरीले शृंखलाबद्ध रुपमा पत्रकारलाई दुव्र्यवहार गर्दै र धम्की दिँदै आएकाले पत्रकार असुरक्षित भएका हुन्।

मेयर चौधरीले आठ वर्षअघि विराटनगरमा पर्शुराम बस्नेतको आदेशमा पत्रकार खिलानाथ ढकालको नाक भाँच्नेलाई केही नभएकाले आफूले पनि त्यही गर्ने भन्दै पत्रकार अनुपमलाई धम्की दिएका थिए। पत्रकार असुरक्षित भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई ध्यानाकर्षण पत्र बुझाएर सुरक्षाको माग गरेका छन्। नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारले सुरक्षा माग गरेका हुन्।

मेयर चौधरीले पत्रकारलाई निसाना बनाएर दिएको अभिव्यक्ति संवेदनशील भएको ठहर गरी प्रहरी–प्रशासनले पनि पत्रकारलाई विशेष निगरानी गर्ने जनाएको छ। पत्रकार असुरक्षित भएपछि महासंघ सुनसरीले इटहरी उपमहानगरपालिकाका गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ। जबसम्म पूर्णरुपमा सुरक्षाको वातवारण तयार हुँदैन, तबसम्म उपमहानगरपालिकाका गतिविधिमा संलग्न नहुने महासंघका सुनसरी सचिव हिमाल दाहालले बताए।

पत्रकार असुरक्षित भएपछि नेपाल पत्रकार महासंघको पहलमा बिहीबार सुनसरीका पूर्वअध्यक्ष, अग्रज पत्रकार र संगठनका नेतृत्वकर्तासँग छलफलसमेत गरियो। छलफलमा सहभागी पत्रकारले मेयर चौधरीको अभिव्यक्तिले समग्र प्रेसजगत् असुरक्षित भएको निष्कर्ष निकाल्यो। ‘आमसञ्चारका माध्यममार्फत खुलेआम कानुन नमान्ने, अदालत नमान्ने, न्यायपालिका र प्रहरी मान्दिनँ, पत्रकारलाई लात्तैलात्ताले हानेर कालो मोसो दल्छु भनेर स्थानीय सरकारका प्रमुखले भनेपछि अब सुरक्षा माग गर्न कहाँ जाने,’ महासंघ सुनसरीका पूर्वअध्यक्ष राजेश विद्रोहीले भने, ‘स्थानीय सरकारको प्रमुखको दायित्व भनेको जनताको जिउधनको सुरक्षा गर्ने हो। नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारले असुरक्षित महसुस गरेपछि सुरक्षा माग गर्न कहाँ जाने ?’

अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बाले मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने नत्र महासंघले अरु सशक्त कार्यक्रम अघि बढाउनुपर्ने बताए। जिल्ला शाखाका पूर्वअध्यक्ष कृष्ण अधिकारीले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि मेयर चौधरीले ठाडो चुनौती दिएकाले जिल्ला, प्रदेश र केन्द्रीय पत्रकार महासंघ संयुक्तरुपमा अघि बढ्नुपर्ने बताए।

पत्रकार अर्जुन उप्रेतीले मेयर चौधरीले प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गर्नुपर्ने र घटनाप्रति सार्वजनिक माफी माग्नुपर्ने बताए। प्रेस सेन्टरका राजन केडीले प्रेस स्वतन्त्रताका लागि सबै एक हुनुपर्ने बताए। अर्का पत्रकार देवेन्द्र कार्कीले महासंघले अझै दबाबका कार्यक्रम अघि सार्नुपर्ने बताए।

यसअघि मेयर चौधरीले जेठ ८ गते समाचार संकलन गर्ने क्रममा पत्रकारलाई दुव्र्यवहार गरेका थिए। सो घटनापछि जेठ १२ गते दुःख व्यक्त गर्दै मेयर चौधरीले भनेका थिए, ‘मेरो पत्रकारको भावनामा चोट पु¥याउने कुनै मनसाय छैन र रहने पनि छैन।’ तर आफ्नो प्रतिबद्धताविपरीत चौधरीले पत्रकार अनुपमलाई धम्की दिएका थिए। त्यसलगत्तै सञ्चारमाध्यमबाट समग्र पत्रकारविरुद्ध अभिव्यक्ति दिएका थिए।

यसैबीच मेयर चौधरीले पत्रकारलाई दिएको धम्की र त्यसपछि उत्पन्न परिस्थितिबारे अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल पत्रकार महासंघ प्रदेश समितिले चारसदस्यीय मिसन गठन गरेको छ। महासंघको प्रदेश समितिले पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको अध्यक्षतामा टोली गठन गरेको हो। टोलीमा महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, सुनसरी शाखाका अध्यक्ष अमर खड्का र प्रदेश सदस्य जयकृष्ण यादव छन्।
व्यवहार सच्याउन कांग्रेसको माग

संघीय सरकारले मानवअधिकार र प्रेस स्वतन्त्रताविरोधी मिडिया काउन्सिल विधेयक संसद्मा दर्ता गराएको बेला स्थानीय सरकारका प्रमुख इटहरीका मेयर चौधरीद्वारा पत्रकारमाथि गरिएको व्यवहार सच्याउनुपर्ने माग नेपाली कांग्रेस इटहरीले गरेको छ। कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले चौधरीले बोली र व्यवहार नसच्याए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए।

‘सार्वजनिक पद धारण गरेको व्यक्तिले कसैलाई अंगभंग गराउन एक करोड छुट्याएको छु, सुपारी नै दिइसकेको छु, अदालत र प्रहरीका कमजोरका लागि मात्रै हो, म शासक हुँ, अदालत र प्रहरीलाई मान्दिनँ भन्नुजस्तो गैरजिम्मेवार, अलोकतान्त्रिक र संविधानविरोधी कार्य निन्दनीय छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App