८ वैशाख २०८१ शनिबार
समाज

विद्यालयमा मदिरा सेवन गरी तोडफोड

सर्लाही– युवाहरुको समूहले जिल्लाको मध्य क्षेत्रस्थित गैरमा रहेको विद्यालयमा मदिरा सेवन गरी तोडफोड गरेका छन्। कविलासी नगरपालिका–७, गैरमा रहेको श्री माध्यमिक विद्यालयमा तोडफोड भएको हो। वुधवार राती विद्यार्थीहरुको एक समूह विद्यालयभित्रै बसेर मदिरा सेवन गरेको र मातेर लठ्ठ भएपछि विद्यार्थी बस्ने डेक्सबेञ्चलगायत संरचना तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक हेमनारायण झाले जानकारी दिए।

विहिबार बिहान शिक्षक र विद्यार्थी विद्यालय पुग्दा कक्षा कोठाका सबै डेक्सबेञ्च तोडफोड भएको र बियरका बोतल यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो। तोडफोडबाट डेक्सबेन्चमा क्षति पुगेपछि पठनपाठनमा समस्या परेको विद्यालयका प्रअ झाले जानकारी दिए।

‘बियरका बोतलको सिसा जथाभावी छरिएको र डेक्सबेञ्च समेत सद्दे अवस्थामा नरहेकाले बिहिवार विद्यालयमा पठनपाठन गराउन सकिएन’ प्रधानाध्यापक झाले भने, ‘दोषीलाई कारवाहीका लागि स्थानीय प्रहरी र जनप्रतिनिधी गुहारेपनि सुनवाई भएन्।’ प्रअ झाले घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय हरिपुरमा जाहेरी दिन पुगेपनि वडाध्यक्षले घटना गाउँमै मिलाउनुपर्छ भनेपछि आफूहरु प्रहरी कार्यालय पुगेर फर्किएको बताए।

युवाहरुले राती १० बजेतिर वियर खाईसकेपछि कक्षाकोठाको डेस्कबेञ्चमा तोडफोड गरेका थिए। लगतै कम्प्युटर कोठाको ढोकाको ताला फोड्ने क्रममा ठूलो आवाज आपछि स्थानीय बासिन्दाले घटनाबारे थाहा पाएका थिए। प्रअ झाका अनुसार आवाज आएसँगै छेउमा रहेका बासिन्दा एवं शिक्षक पुगेपछि युवाहरु भागेका थिए।

विद्यालयमा तोडफोड भएलगत्तै प्रहरीले वुधवार राती नै चार युवकलाई पक्राउ गरेको थियो। तर, कविलासी नगरपालिका–७, का वडाध्यक्ष प्रभु रायको दबाबमा चारै युवकलाई बिहिवार दिउँसो छाडिएको छ।

पक्राउ परेका युवाका अभिभावक, वडाध्यक्षसहितका मानिस आएर पक्राउ परेकाहरुमध्ये केही कलिलै बालक रहेका र एक पटकलाई सुध्रिने मौका दिन आग्रह गरेपछि उनीहरुलाई छाडिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रमेश पालले जानकारी दिए। यस सम्वन्धमा वडाध्यक्ष रायसँग पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन।

प्रकाशित: २३ जेष्ठ २०७६ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App