coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

नाकाबाट अवैध रुपमा आयात भएको सामान बोकेको मोटरसाइकल । तस्बिरः टंक/नागरिक

सर्लाही– जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ। जिल्लास्थित संग्रामपुर, त्रिभुवननगर, खुटौना, सिमराफेनरा, मधुवनी, बहादुरपुर, बलरालगायत नाकामा रातभर तस्कर समूहको सामान ओसार्नेको भिड लाग्ने गरेको छ।

सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट एवं नेपाल प्रहरीको सीमा प्रहरी चौकीका सुरक्षाकर्मीहरु नै तस्करीको सामान स्कर्टिङ्गमा खट्ने गरेको स्थानीयको गुनासो छ। दिउँसो घरायसी प्रयोगका लागि थोरै सामान ल्याउनसमेत सर्वसाधारणलाई कडाई गर्ने सशस्त्र प्रहरी र नेपाल प्रहरी आफैं रातभर भने तस्करीको सामान  स्कर्टिङमा खटिने गरेका छन्।

सीमा क्षेत्रस्थित खुटौना घर भएका संघीय सांसद प्रमोद साह जनताको सुरक्षार्थ भनेर खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी पछिल्लो समय रातभरी तस्करीको सामान स्कर्टिङ्गमै व्यस्त भएको नागरिक न्यूजलाई बताए। ‘सीमा क्षेत्र अनि जनताको सुरक्षा गर्न भनेर सिमा क्षेत्रमा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सबै सुरक्षाकर्मीहरु पछिल्लो समय तस्करी समूहलाई लाइन दिने र उनीहरुको सामान वारपार गर्नमै व्यस्त बनेका छन्’, सांसद् साहले आरोप लगाए, ‘दिउँसो थोरै घरायसी सामान ल्याउने सर्वसाधारणलाई समेत थर्काउने सुरक्षाकर्मी रातभर भने तस्करीको सामान सेटिङमै व्यस्त हुने गरेका छन्।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखसँग जति भन्दा पनि अवैध सामान आयात निर्यात नरोकिएको सांसद् साहले गुनासो गरे।

यता मधुवनी नाका नजिक घर भएका प्रदेश सांसद् उपेन्द्र कुशवाहा पनि सदावहार रुपमा नाकाबाट अवैध रुपमा सामानहरु तस्करी भइरहेको बताउँछन्। ‘यो नाका सदावहार हो, कहिल्यै पनि बन्द भएकै छैन’, उनले भने, ‘अनि लाइन खुल्यो भन्नुको अर्थै छैन, यताका नाकाबाट जहिले पनि निर्वाध तस्करी भईरहेको छ।’

स्थानीय बासिन्दाका अनुसार दिनभर सर्वसाधारण ओहोरदोहोर बाहेक सुनसान रहने सिमा क्षेत्रस्थित नाकाहरु साँझ पर्दै गएपछि अवैध सामान ओसारपसार गर्नेहरुको भिडले भरिभराउ हुने गर्दछ। संग्रामपुर र त्रिभुवननगर नाकाबाट विशेषगरी कपडा, सूर्ती, तेल र हार्डवेयरका सामान, खुटौना नाकाबाट मलखाद, सिमरा फेनरा नाकाबाट कपडा एवं विद्युतीय सामान बढी भित्रिने गरेको स्थानीय बताउँछन्।

नेपालबाट पनि गिट बालुवा, गाइ गोरु र घरेलु मदिरा अवैध रुपमा निकासी हुने गरेको स्रोतले बतायो। संग्रामपुर र त्रिभुवननगर नाकाबाट भित्रिने सामान ब्रम्हपुरी र भेल्हीमा गोदाम हुने र मोटरसाईकल, जीपबाट क्रमशः ईश्वरपुर र लालबन्दी बजारसम्म पुग्ने गरेको छ। खुटौना, सिमराफेनरा, मधुवनी, बलरालगायत नाकाबाट भित्रिएका सामानहरु भने बरहथवा, हरिवन बजारसम्म पुग्ने गरेको छ। सामान तस्करीमा ईश्वरपुर, लालबन्दी, हरिवन, बरहथवाका ठूला व्यापारी एवं तस्कर समूहसँग ‘मोटो रकम’ असुलेर सुरक्षाकर्मीले लाइन दिने गरेको जानकारहरु बताउँछन्।

अवैध रुपमा तस्कर समूहले आयात एवं निर्यात गर्ने समान सुरक्षित रुपमा नाका वारपार गराउनका लागि माथिल्लो तहसम्म सेटिङ्ग मिलाउने काम भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘घुुमुवा’ले गर्दछन्। सूचना संकलन गर्नका लागि भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश कार्यालयबाट समेत घुमुवा खटिने गरेका छन्। जिल्लास्थित सुरक्षा निकाय प्रमुखबाट पनि छुट्टै घुमुवा टोली खटाइएको हुन्छ। तर डिआइजी कार्यालय र एसपी कार्यालयबाट खटिएका घुमुवाहरुले गोप्य सूचना संकलन भन्दा पनि स्थानीय सुरक्षा युनिट प्रमुखसँगको सहकार्यमा तस्करी समूहसँग मिलेमतो गर्दै अवैध सामान ओसारपसारको सेटिङ्ग मिलाउने र त्यसबापत हुने ठूलो अवैध आम्दानी हाकिमसम्म पु¥याउने गरेको स्रोतले नागरिक न्यूजलाई जानकारी दियो। घुमुवासहित सुरक्षा निकायका उपल्लो तहका अधिकारीहरुको मिलेमतो बिना निर्वाध तस्करी सम्भव नरहेको स्थानियको भनाई छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु भने अवैध रुपमा सामान आयात निर्यातमा कडाई गरिएको दाबी गर्दछन्। नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले व्यापारीहरुको एक समूह तस्करीको लाइन दिन भन्दै आएको तर आफूले हकारेर पठाइदिएको बताए। ‘मैले सिमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसारमा कडाई गर्न स्थानीय युनिटहरुमा खटिएका सुरक्षाकर्मीलाई कडा निर्देशन दिएको छु’, उनले दाबी गरे, ‘कम्प्लेन आउने वितिकै सिमराफेनरा, नारायणपुरलगायत नाकास्थित युनिट ईन्चार्जलाई जिल्लामै तानिसकेको छु, स्थानीय स्तरमा हुने स–साना कमजोरीमा भने २४ सै घण्टा निगरानी गर्न सकिएको छैन।’ खुला सिमा भएकाले लुकिचोरी छिटफुट सामान ओसारपसार हुने गरेको र कतिपय अवस्थामा लाखौंका सामानहरु नियन्त्रणमा लिएर कारवाही प्रकृयासमेत अगाडी बढाइएको प्रहरी उपरीक्षक भट्टराईले बताए।

सर्लाहीको कविलासीस्थित सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ पनि सिमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको र अवैध सामान फेला परे पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाइएको दाबी गरेका छन्।

सशस्त्रका डिआईजीकाे ब्रिफिङ
जिल्लास्थित भारतीय सिमा नाकाहरुबाट सुरक्षाकर्मीकै मिलेमतोमा विभिन्न सामानहरु तस्करी भइरहेको गुनासो आएपछि बिहिबार सशस्त्र प्रहरी बलको २ नं. प्रदेश हेर्ने रुद्र बाहिनीका बाहिनीपति नायव महानिरीक्षक प्रविण श्रेष्ठ सर्लाही आएका छन्।

नायव महानिरीक्षक श्रेष्ठले बिहिबार दिउँसो कविलासीस्थित १० नं. गणमा गणपति उपरिक्षक समरबहादुर श्रेष्ठ तथा नाकास्थित युनिट ईन्चार्जहरुलाई बोलाएर ब्रिफिङ सुनेको सशस्त्र प्रहरी स्रोतले बतायो। नायव महानिरीक्षक श्रेष्ठले निरीक्षणका क्रममा आफू सर्लाही आएको जानकारी दिए ।

प्रकाशित: २३ जेष्ठ २०७६ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App