७ वैशाख २०८१ शुक्रबार
अर्थ

आयातमा कडाईपछि नेपाली किसानलाई राहत

भैरहवा– भारतबाट आयात हुने मासु जन्य पशुपन्छी खसी, बोका, बाख्रा, भेडा लगायतका पशुपंक्षीजन्य सामग्रीलाई रोक्न सरकारले कडाइ गरेसगै नेपाली किसानलाई राहत मिलेको छ।

स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न तथा उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन र मासुजन्य पशुपन्छीमा मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ रणनीति स्वरुप कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा पशुपन्छीको आयात ठप्प परेपछि नेपाली किसानलाई राहत मिलेको हो।  

गत फागुन २६ गतेदेखि भैरहवा, कृष्णनगर र महेशपुर नाकाबाट खसीबोका आयत भएकै छैन। पशु क्वारेन्टाइन कार्यालय भैरहवाका  प्रमुख डा. गान्धी उपाध्यायले दाबी गरे। ‘गत आर्थिक बर्षमा ४ अर्ब भन्दा बढी मूल्यमा ३ लाख ६९ हजार ६ सय ५७ गोटा खसीबोका यो नाकाबाट नेपाल भित्रिएका थिए। चालु आर्थिक बर्षको फागुन २५ सम्म पनि नेपालमा १ लाख ९३ हजार ६ सय ९३ गोटा खसीबोका आयात भए तर फागुन २६ गतेदेखि यता एउटा पनि खसीबोका नेपाल आयत भएको छैन’, गान्धीले नागरिकलाई भने।

पहिले स्वस्थ्यताको प्रमाणपत्र र भ्याक्सीन रेकर्ड तथा बिल भएमा सहजै नेपाल ल्याउने प्रावधान थियो, अहिले मासुजन्य पशुपन्छी आयातमा केही कडाई भएपछि किसानलाई सहज भएको हो। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ नियमावली ५६ अनुसार पशु, पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री आयत गर्दा अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र लिएको हुनुपर्ने भनि व्यवस्था गरे अनुसार उक्त प्रमाणपत्रलाई अनिवार्य गरेसंगै खसीबोका आयात पुर्णतया रोकिएको डा. उपाध्ययले बताए। 

अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र नयाँदिल्ली, मुम्बई, हैदराबाद, कलकत्ता, चेन्नई र बैंगलोरबाट जारी गर्ने प्रचलन छ। यो प्रमाणपत्र लिन लामो प्रक्रिया हुने हुँदा अहिले खसीबोका आयात पूर्णतया रोके सरह भएको छ। 

विगतमा भएता पनि कडाईका साथ लागु हुन नसकेको र कानुन लागु हुने बित्तिकै नेपाली किसानलाई यतिबेला राहत मिलेको छ। तर नेपाली बजारको लागि आवश्यक मासु भने नेपाली किसान र व्यवसायिक फर्मले पुरा गर्न भने धौं धौ भएको छ। जसको कारण आजभोलि खसी बोकाको मासुको मूल्य पनि बृद्धि भएको छ।

विगत ३ वर्षदेखि इन्जिनियरिङ पेशा छाडी व्यावसायिक रुपमा बाख्रा पाल्दै आएका रुपन्देही सुद्धोधन गाँउपालिका ३ बेथानीका सन्दिप खनालले सरकारले ल्याएको नीति अति राम्रो रहेको बताए। ‘पहिला भारतीय गुणस्तरहिन बाख्राहरु सहजै नेपाल भित्रिन्थयो र हामीले उत्पादन गरेको बाख्रासँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्थ्यो। यता लागत बढी लाग्ने र लागत अनुसारको रकम किसानले नपाउने हुन्थ्यो भने अहिले किसानले राम्रो मूल्य पाएका छन, जति खसी बोका उत्पादन गर्न सके बजारीकरण कमी छैन। पहिला जिउँदो खसी ४५० मा बिक्री गर्दथ्यौ भने अहिले मूल्य पनि प्रति केजी ५० रुपैयाँ बढेको छ’, खनालले भने।

प्रकाशित: २३ जेष्ठ २०७६ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App