म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ घारमा उत्पादित चिज अफ सिजनमा बिक्री नहुँदा कृषक समस्यामा परेका छन्। दैनिकजसो उत्पादन हुने चिज भण्डार कक्षमा टन्नै भए पनि बजार अभावका कारण बिक्री हुन सकेको छैन।
जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले स्थानीयले २०७१ वैशाखदेखि सञ्चालनमा रहेको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाले उत्पादन गरेको चिज गुणस्तरीय भए पनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको संस्थाका सचिव श्यामप्रसाद खड्काले बताए।
उनले लगानी, उत्पादन क्षमता र जनशक्तिको कुनै समस्या नभए पनि बजार व्यवस्थापनको दृष्टिले चुनौती देखिएको बताए। १० लिटर दूधबाट एक केजी चिज उत्पादन हुन्छ। उनका अनुसार उद्योगमा मौज्दात सयौं किलो चिज सवारी साधन तथा खच्चडबाट ढुवानी गरेर बिक्री गर्ने गरिएको बताए।
गाउँमा उन्नत जातका गाईपालन गरेका कृषकले दैनिक उद्योगमा दूध खपत गर्ने गरेकाले पनि बजार अभावका कारण कृषकलाई राहत दिन नियमित उत्पादन गर्नुपर्ने बाध्यता रहेको सहकारीका सञ्चालकले जनाएका छन्। कृषकहरूको दूध संकलन गरेर चिजसँगै घिउ उत्पादन गरी बिक्री गर्ने गरिएको छ।
चिजको नियमित खपत नहुँदा कृषकलाई दूध खरिद गर्न र भुक्तानी दिन समस्या भइरहेको छ।
चिज र घिउ प्रतिकेजी आठ सय ५० मा बिक्री हुने गरेको छ। घिउ गाउँ आसपासमै खपत हुने भएकाले पनि घिउको आम्दानीबाटै अफ सिजनमा कृषकलाई भुक्तानी दिने गरिएको छ। गाउँका ३२ जना अगुवा कृषकले दैनिक खपत गर्ने दूधलाई उद्योगले प्रतिलिटर ४५ देखि ७० रुपैयाँसम्म उपलब्ध गराउने गरेको छ।
चिजको नियमित खपत नहँुदा कृषकलाई दूध खरिद गर्न र भुक्तानी दिन समस्या भइरहेको बताए। व्यावसायिक रूपमा उन्नत जर्सी र होल्यड जातको गाई पालनमा ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन्।
गाउँमा उद्योग स्थापना भएपछि एक लाखदेखि तीन लाखसम्म लगानी गरी स्थानीयले उन्नत जातको गाई खरिद गरेका छन्। चिज उद्योगबाट एकजना कृषकले मासिक सात हजारदेखि ३२ हजारसम्म आम्दानी गर्ने गरेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए। ‘मुख्य बजारको खोजी आवश्यक छ,’ बरुवालले भने, ‘जिल्लाभित्र बाहिरबाट आउने चिजलाई रोक्नुपर्छ।’
लामो समयसम्म उत्पादित चिज भण्डारण गर्दा कुहिने भएकाले पनि सस्तो मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेकाले स्थानीय कृषकले गाउँपालिका तथा अन्य सरकारी निकायबाट आवश्यक औजारसहित बजार प्रवद्र्धनमा समेत सघाउनुपर्नेमा जोड दिएका छन्।
गत वर्ष उद्योगबाट चिज र घिउ गरी ३८ लाखको कारोबार भएको थियो। अन्नपूर्ण गापा–७ पाउद्वारमा २०५८ सालमा स्थापना भएको खयरबराही डेरी उद्योगबाट दैनिक चिज उत्पादन भइरहेको छ।
उद्योगबाट हुने आम्दानीले स्थानीय पाउद्वार माविमा शिक्षकको तलबसँगै कृषकलाई प्रोत्साहन गर्न घाँस, औजार, अनुदानका साथै तालिम समेत उपलब्ध गराउने गरिएको छ। दुवै उद्योगमा उत्पादिन चिज जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोरेपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, कास्कीको घान्द्रुक, लेकसाइड तथा मुस्ताङमा घुम्न आउने विदेशी पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०७६ ०५:४१ बिहीबार