८ वैशाख २०८१ शनिबार
समाज

आधार शिविरमा आश्रयस्थल

म्याग्दी-   अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ। बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो।    
    
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा मिस्त्रीखोला क्याम्पमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए। एक्यापको रु १० लाख सहयोगमा नारच्याङका बासिन्दाले श्रमदान गरेर आश्रयस्थल बनाएका हुन्। यस वर्ष पनि एक्यापको थप रु १५ लाख अनुदान सहयोगमा छोटेपा र आधार शिविरमा १५/१५ जना क्षमताका दुई आश्रयस्थल भवन बनाउन लागिएको छ।    
    
आश्रयस्थल निर्माण भएपछि ओडारमा बास बस्नुपर्ने समस्याको अन्त्य हुने निर्माण समितिका अध्यक्ष चन्द्रजित पुनले बताए। यसअघि भरिया ओडारमा बास बस्ने गरेका थिए। पर्यटक भने टेन्ट लगेर पदयात्रामा जाने गर्छन्। हिमपात, हिमआँधी आएको अवस्थामा स्थायी प्रकृतिका भवन भएपछि सुरक्षित आश्रय लिन सकिने भएको छ। नारच्याङ गाउँदेखि तीन दिनको पदयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर ओझेलमा परेको पर्यटकीयस्थल हो। फ्रान्सका मौरिस हर्जोगले ६९ वर्षअघि आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेल परेको छ। रासस    
 

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App