coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘नाइल नदीबाट दर्जनौं शव निकालियो’

संक्रमणकालीन सैन्य परिषद्विरुद्ध राजधानी खार्तुममा अवरोध सिर्जना गरेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी। तस्बिरः एजेन्सी

खार्तुम –  लोकतन्त्रवादी सुडानी नागरिक र सेनाको अन्तरिम परिषद्बीच भएको हिंस्रक झडपपछ राजधानी खार्तुम भएर बग्ने नाइल नदीबाट ४० वटा शव निकालिएको विपक्षी अधिकारकर्मीहरुले बुधबार बताएका छन्। विपक्षी समर्थक चिकित्सकहरुका अनुसार ती शवहरु सेनाको मुख्यालयबाहिर रहेका प्रदर्शनकारीमाथि सुरक्षा फौजले आक्रमण गरी मारेको सय मानिसमध्येका हुन्।

लोकतन्त्रवादीको निरन्तरको प्रदर्शनपछि सेनाको नेतृत्वमा रहेको अन्तरिम परिषद्ले आमनिर्वाचन गर्ने घोषणा गरे पनि सुडानमा अर्धसैनिक बलले सर्वसाधारण नागरिकको ज्यान लिने कार्यलाई नरोकेको समाचार पनि बाहिरिएका छन्।
नाइल नदीबाट मात्रै ४० वटा शव बरामद भएको समाचार बाहिरिएपछि सुडानको संक्रमणकालीन सैन्य परिषद् (टिएमसी)ले यसबारे अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको बिबिसीले उल्लेख गरेको छ।

सुडानको सेना समर्थित अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस् (आरएसएफ)का सदस्यहरु सडक वरपर घुमिरहेका कारण आफूहरुलाई निकै डर लागेको राजधानी खार्तुमका बासिन्दाहरुले बिबिसीसँग बताएका छन्। विगतमा जनजाविद मिलिसिया भनेर चिनिने सुडानको अर्धसैनिक एकाई आरएसएफलाई सन् २००३ मा पश्चिमी सुडानमा भएको डार्फर द्वन्द्वमा खराब पहिचान बनाएको समूह हो।

संक्रमणकालीन सैन्य परिषद्ले तीन वर्षत्रि सैन्य सत्ता नागरिकलाई हस्तान्तरण गर्ने बताए पनि अप्रिल ६ देखि नै सैनिक मुख्यालयबाहिर प्रदर्शन गरिरहेका लोकतन्त्रवादीले प्रदर्शनलाई निरन्तरता दिइरहे।

‘नाइल नदीबाट हिजो हामीले ४० जना महान् सहिदहरुको शव फेला पारेका छौं,’ सुडानी चिकित्सकहरुको केन्द्रीय कमिटीले आफ्नो फेसबुक पोस्टमा लेखेको छ। चिकित्सक समूहका एक अधिकारीले बिबिसीलाई बताएअनुसार उनीहरुले विभिन्न अस्पतालमा रहेका शवहरु देखेका छन् र पहिचान गरेका आधारमा सोमबारको सरकारी बल प्रयोगमा परी मृत्यु हुनेको संख्या सय पुगेको छ।

‘नाइल नदीमा फ्याँकिएका मध्ये केहीलाई पिटिएको वा गोली हानेर मारिएको थियो भने केहीलाई भने चक्कु हानेर मारिएको थियो,’ सुडानी सुरक्षा निकायका एक पूर्वअधिकारीलाई उद्धृत गर्दै च्यानल–४ नामक एक सुडानी पत्रकार योस्ररा एलबागिरले जनाएका छन्। ‘यो एउटा नरसंहार हो,’ नाम उल्लेख नगरिएको एउटा स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सुडानका राजनीतिक अधिकार मागेर भएका प्रदर्शनमा सुरक्षा फौजले गरेको बल प्रयोगलाई लिएर अमेरिकी विदेश मन्त्रालयले मंगलबार आवाज उठाएको थियो। उसले सुडानी सैन्य शासकको नजिकको साझेदार साउदी अरबलाई यसबारे ध्यानाकर्षणसमेत गराएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले साउदी अरबका उपरक्षा मन्त्री खालिद बिन सलमानलाई टेलिफोन गर्दै सुडानमा नागरिक नेतृत्वको संक्रमणकालीन सरकार बन्नुपर्नेमा जोड दिएको बताइएको छ।

सुडानी सेनाको प्रमुख साझेदार वा सहयोगी साउदी अरबले बुधबार सुडानका विभिन्न राजनीतिक शक्तिलाई वार्ताको पुनः थालनी गर्न आग्रह गरेको छ। ‘चिन्तित सुडानी नागरिकका अपेक्षाबमोजिम सुडानमा रहेका सबै राजनीतिक दललाई वार्ताको पुनः थालनीको महत्वबारे साउदी अधिराज्य प्रकाश पार्न चाहन्छ,’ साउदी अरबको प्रेस एजेन्सीले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ।

सुडानमा ३० वर्षसम्म शासन गरेका राष्ट्रपति ओमार अल–बसिरलाई सेनाले सत्ताच्यूत गर्नुपूर्व नै गत अप्रिल ६ देखि प्रदर्शन सुरु भएका थिए। उनीहरुले सोही दिनदेखि नै सेनाको मुख्यालयबाहिरको क्षेत्र कब्जा गरेका थिए। राष्ट्रपति बसिरलाई सत्ताच्यूत गरि सेनाले नै सत्ता हातमा लियो र टिएमसी गठन ग¥यो। उसले तीन वर्षत्रि सैन्य सत्ता नागरिकलाई हस्तान्तरण गर्ने बताए पनि अप्रिल ६ देखि नै सैनिक मुख्यालयबाहिर प्रदर्शन गरिरहेका लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शनलाई निरन्तरता दिइरहे। यसैबीच गत सोमबार सुरक्षा फौजले उनीहरुलाई सो स्थानबाट हटाउने उद्देश्यसहित बल प्रयोग गर्दा सुडानको अवस्था झनै बिग्रिदै गएको छ।

सोमबारको घटनापछि संक्रमणकालीन सैन्य परिषद्ले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग केही समय अघि गरेको सम्झौता भंग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ। सैनिक कारबाही र आमनिर्वाचनको घोषणा गरिए पनि राजधानी खार्तुममा प्रदर्शन रोकिएका छैनन्। त्यसमाथि नाइल नदीबाट मात्रै ४० वटा शव भेट्टिएपछि प्रदर्शनकारीहरु झनै आक्रोशित बनेको बताइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App