८ वैशाख २०८१ शनिबार
समाज

बिचौलिया पक्राउ गर्न प्रहरी सक्रिय

प्रहरीले पक्राउ गरेको बिचौलिया। तस्बिरः नागरिक

धनुषा– सरकारी कार्यालयका कर्मचारीले राम्ररी काम नगरेको भ्रम सिर्जना गरी बिचौलियाको काम गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ। धनुषा प्रहरीले विभिन्न सरकारी कार्यालयहरूबाट बिचौलिया पक्राउ गर्न सक्रियता देखाएको हो।

जनकपुर अञ्चल अस्पताल अगाडिबाट सेवाग्राहीलाई जबरजस्ती निजी अस्पतालमा लैजाने दुई बिचौलियालाई पक्राउ परेको एक दिन नबित्दै थप दुई बिचौलियालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

जनकपुर अञ्चल अस्पतालबाट अन्य निजी अस्पतालमा पठाउने एक बिचौलियालाई प्रहरीले मंगलबार जनकपुर अञ्चल अस्पताल गेट अगाडिबाट पक्राउ गरेको छ। सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई निजी अस्पतालतर्फ लैजान खोज्ने एक बिचौलियालाई प्रहरीले सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।

जनकपुर अञ्चल अस्पतालमा ओपिडी सेवामा उपचारका लागि आउने बिरामी तथा बिरामीका आफन्तलाई अन्यत्र क्लिनिकमा पठाउन जबरजस्ती गरेको आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–७ का २० वर्षीय आरएन राइनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए।

त्यस्तै मंगलबार जनकपुर श्रम तथा रोजगार कार्यालय परिसरबाट एक बिचौलियालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। सर्लाही जिल्ला घर भई जनकपुरमा बसेर बिचौलियाको काम गर्दै आएका मलंगवा नगरपालिका–५ बस्ने ३३ वर्षीयका राजेश यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित श्रम तथा रोजगार कार्यालयमा आउने सेवाग्राहीहरूलाई श्रम स्वीकृति गराइदिने भन्दै बढी रकम असुली गरेको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो। सेवाग्राहीसँग विभिन्न बहाना बनाई दस्तुरभन्दा दोब्बर, तेब्बर रकम मागेको आधारमा प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ।

पक्राउ परेको दुवै बिचौलियालाई विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App