७ वैशाख २०८१ शुक्रबार
खेल

मौसमले प्रभावित गर्ने खतरा

पोखरा - पानी कति खेर पर्छ थाहै हुँदैन। पोखराको मौसमको भर नहुँदा काम साँचेर राख्न हुँदैन। फटाफट नगरिए समस्या बढ्छ। मंसिर तेस्रो साता हुने दक्षिण एसियाली खेलकुद सागअन्तर्गत प्याराग्लाइडिङ र आर्चरीको बन्द प्रशिक्षण पोखरामै तोकिएको छ। हो, मौममकै कारण बन्द प्रशिक्षणमा खेलाडीले खुलेरै प्रशिक्षण गर्ने सम्भावना निकै कम छ।

आर्चरी र प्याराग्लाइडिङ दुवै आउटडोर खेल हुन्। आर्चरीको इन्डोर प्रशिक्षण मिल्छ। तर आउट प्रशिक्षण गर्न मौसमले साथ दिँदैन। प्याराग्लाइडिङमा पनि एक्युरेसीको प्रशिक्षण हुन्छ। त्यो पनि मुस्किलले दुई पटक मात्रै। टेक अफ र ल्यान्डिङमा ढिलाइ गरे एक पटक उडेर अवतरण गर्नुपर्छ। अर्को विधा क्रसकन्ट्रीको भने सम्भावना नै छैन। क्रसकन्ट्रीमा टास्क पूरा गर्नुपर्दा समय खर्चिलो हुन्छ। समय धेरै लाग्दा भर नभएको मौसमले प्रशिक्षण गर्ने सम्भावना देखिँदैन।

‘एक्युरेसीको बन्द प्रशिक्षण बढीमा दुई पटक सम्भावना छ,’ प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराईले भने, ‘क्रस कन्ट्रीको सम्भावना यो मौसममा सम्भव छैन।’ क्रस कन्ट्रीका लागि असोजपछिको मौसम मात्रै उपयुक्त हुने उनको भनाइ थियो। प्याराग्लाइडिङ हावाको चापअनुसार उडान र अवतरण हुने हुँदा बादल लागेको मौसममा खेलाडीले खासै राम्रो र प्रभावकारी प्रदर्शन गर्न सक्दैनन्। पोखराको सराङकोटमा प्याराग्लाइडिङको प्रशिक्षण हुनेछ। सराङकोट १५९२ मिटरको उचाइमा छ। तर सराङकोटको प्याराग्लाइडिङ उडान क्षेत्र झन्डै १३ सय मिटरको उचाइबाट फेवातालको किनारमा अवतरण गरिनेछ।

‘एक्युरेसीको बन्द प्रशिक्षण बढीमा दुई पटक सम्भावना छ। क्रस कन्ट्रीको सम्भावना यो मौसममा सम्भव छैन।’

प्याराग्लाइडिङ बन्द प्रशिक्षणका लागि परिषद्ले तत्कालै बजेट विनियोजन भने गरेको छैन। साग खेलकुद पोखरामै आयोजना गर्ने अवस्थामा भने उडान र अवतरणका लागि व्यवस्थित गर्नुपर्ने खाँचो प्याराग्लाइडिङ व्यवसायीहरू औंल्याउँछन्। गत वर्षको जेठमा इन्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुदमा पुरुष क्रस कन्ट्री विधामा नेपालले ऐतिहासिक रजत पदक जितेर फर्किएको थियो। ‘बर्खा छ। पानी कति बेला पर्छ यकिन नै हुँदैन। त्यसैले एक्युरेसीको प्रशिक्षण हुन्छ,’ उनले भने, ‘खेलाडी छनोट गरेर पठाइसकिएको छ। फाइनल भएपछि बन्द प्रशिक्षण सुरु हुन्छ।’ बन्द प्रशिक्षणका लागि १० पुरुष र ६ महिलाको नाम पठाइसकिएको उनले सुनाए। परिषद्ले बन्द प्रशिक्षण थाल्नु भन्ने सूचना दिएपछि बन्द प्रशिक्षण सुरु गरिने उनको भनाइ थियो।

यो मौसममा आर्चरीको पनि इन्डोर प्रशिक्षण मात्रै हुन्छ। आउटडोर प्रशिक्षण सम्भावना नै रहँदैन। पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा ट्रस हालिएको छ। ट्रसबाहिर आउटडोर प्रशिक्षण गरिन्छ। ‘पानी पर्दा इन्डोर प्रशिक्षण हुन्छ। आउटडोर प्रशिक्षणको सम्भावना रहँदैन,’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने,‘ट्रसमा १८ र ३० मिटर टार्गेट हान्न सकिन्छ।’ उनका अनुसार बन्द प्रशिक्षणमा खेलाडीले १८ र ३० मिटरमै टार्गेट हानेर प्रशिक्षण गर्ने गर्छन्। अन्तिम समयमा मात्रै खेलाडीले आफ्नो टार्गेटलाई ‘मिट’ गर्न आउटडोर प्रशिक्षण गर्ने उनको भनाइ थियो।

आउटडोरमा ५० र ७० मिटरको हुन्छ। सागमा विशेष गरी ७० मिटरको टार्गेट हुन्छ। वर्षायामकै कारण अहिले आउटडोर प्रशिक्षण नहँुदा खेलाडीले असोज र कात्तिकमा मात्रै आउटडोर प्रशिक्षण गर्ने बताए। ‘अहिले इन्डोर प्रशिक्षण गर्छन्। असोज र कात्तिकमा आउटडोर प्रशिक्षण गराइनेछ,’ उनले भने। बन्द प्रशिक्षणमा १२ जना खेलाडी छन्। पोखराबाट ४ र काठमाडौंका ८ जना खेलाडी छन्। रिकव र कम्पाउन्डमा प्रतिस्पर्धा हुनेछ। विभिन्न १० इभेन्टमा खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। व्यक्तिगत (महिला÷पुरुष), महिला तथा पुरुष  टिम छुट्टाछुट्टै र मिक्स्ड टिममा प्रतिस्पर्धा हुनेछ।

आर्चरीको लागि पोखराको मैदानलाई प्रशिक्षण एवं प्रतियोगितास्थलका रूपमा विस्तार गरिएको छ। सागकै तयारीकै लागि राष्ट्रिय खेलकुद परिषदसँग मैदानका लागि ९० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। जुन बजेटले मैदान पुनर्निर्माण गरेपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भने खर्च गर्नुपर्ने अवस्था रहँदैन। मैदानलाई परिषद्ले विभिन्न समयमा २ करोडभन्दा बढी बजेट विनियोजन गर्दै वर्तमान अवस्थासम्म पु-याएको हो।

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App