४ वैशाख २०८१ मंगलबार
समाज

गोसाइँकुण्ड मेला सुरु

रसुवा - गंगादशहराको अवसरमा मंगलबारदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ। मेला सुरु भएसँगै भक्तजनको आवागमन बढेको छ। दैनिक रूपमा डेढ सयको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ। गोसाइँकुण्ड जानका लागि मौसम अनुकूल भएको, पदमार्ग सुधार गरिएको तथा पदमार्गमा रहेका होटल सञ्चालनमा आइसकेका कारण गत वर्षको तुलनामा तीर्थयात्री आगमन बढ्ने आशा गरिएको छ।

मेला २९ गतेसम्म सञ्चालन हुने छ। हरेक वर्ष जेष्ठ प्रतिपदादेखि दशमीसम्म धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ। जनैपूर्णिमा मेलाको तुलनामा गंगादशहरा मेलामा कम तीर्थयात्री आउने गरेका छन्। पहिले पहिले मेलाको बेलामा तीर्थयात्री आउने गरेका भए पनि अहिले अरु बेलामा पनि जाने गरेका समितिका अध्यक्ष सञ्जीव डिएमले बताए। ‘गोसाइँकुण्ड आउने तीर्थयात्रीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘तर अरु समयमा पनि जाने क्रम बढ्दै जाँदा मेलाको समयमा चाहिँ संख्यामा केही कमि देखिन्छ।’

यो पटक करिब तीन हजारको हाराहारीमा तीर्थयात्री आउने अनुमान गरिएको छ। गंगादशहरा मेलामा तीर्थयात्री कम आउने भएकाले मेलाको ठूलो तयारी गर्न नपर्ने भए पनि सामान्य रूपमा तयारी गर्ने गरिएको छ। मेलामा तीर्थयात्री बिरामी हुन सक्ने भएकाले नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयले जेठ २५ गतेदेखि २९ गतेसम्म स्वास्थ्य शिबिर सञ्चालन गर्ने छन्।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्। त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारी साधनबाट यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।

त्यसैगरी काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो आउँछ। धेरै कम यात्रुले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनै पनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन्। कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्दा जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन्।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ। जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।

मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौं, काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामा, झाँक्री गोसाइँकुण्ड जान्छन्। त्यस्तै काठमाडौं उपत्यका नेवार समुदायका धेरै युवायुवती जाने गरेको पाइन्छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App