coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

धादिङका किसानले पाए मल

सहकारीमार्फत मल पाएपछि खुसी हुँदै धादिङका किसान। तस्बिर: सरिता/नागरिक

धादिङ - बजारमा मल नपाएपछि जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गर्न पुगेका किसानले मल पाएका छन्। धानको बीउ छर्ने र फल दिने मुख्य सिजनमा मल नपाएपछि आन्दोलन गर्दै जिल्ला प्रशासन कार्यालय गुहार्न पुगेका किसानलाई नीलकण्ठ सहकारीले मल उपलब्ध गराएको हो। किसानले आन्दोलन गरेपछि प्रशासनले साल्ट टे«डिङ कर्पोरेसनलाई मल उपलब्ध गराउन माग गरेका थिए। किसानले प्रशासन गुहारेको तेस्रो दिनमै मल पाएका हुन्।

चर्को घाममा मल लिन आएका ज्वालामुखी गाउँपालिका–४, ढोलाका कमल नारायण श्रेष्ठ मल पाएपछि खुसी भएका छन्। खेतमा लगाएको धानका लागि मल लिन सदरमुकाम धादिङबेसीसम्म धाइरहेका श्रेष्ठले दुई सातापछि बल्ल मल पाएको बताए। ‘मल पाउनका लागि आन्दोलन नै गर्नुपर्ने रहेछ,’ उनले भने, ‘बल्ल एक बोरा मल पाए, जसोतसो यो सिजनलाई पु-याउँछौं।’ खेतीपातीको समयमा प्रत्येक वर्ष मलको अभाव हुने गरेको उनले बताए। 

सहकारीले मंगलबारदेखि मल वितरण गर्ने भनेपछि सदरमुकाम झरेका नीलकण्ठ नगरपालिका वडा नं ४ पौवाका आइते नेपालीले पनि एक बोरा मल पाए। मल लिन श्रीमतीसँगै झरेका उनी मल पाएपछि प्रशन्न मुद्रामा थिए। ‘मल लिन धाएको दुई साता भयो,’ उनले भने, ‘किसानको चर्को मागले गर्दा बल्ल पायौं।’  
लामो समयदेखि धादिङका किसानलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहकारी संस्थाले किसानलाई मल उपलब्ध गराएका हुन्। मलका लागि नाम दर्ता गराएका एक हजार दुई सय किसानलाई मंगलबार सहकारीले मल उपलब्ध गराएका छन्। प्रतिकिसानलाई एक–एक बोराका दरले मल प्रदान गरिएको सहकारीका व्यवस्थापक हरिप्रसाद रिजालले बताए।

धादिङमा मल अभाव भएपछि किसानले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए। किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले साल्ट टे«डिङ कर्पोरेसनलाई मलको माग गरेका थिए। सहकारीलाई कर्पोरेसनले सात सय बोरा र कृषि सामग्री केन्द्रबाट चार सय बोरा मल उपलब्ध गराएको रिजालले बताए। ‘किसानको माग दुई हजार पाँच सय बोरासम्मको थियो,’ उनले भने, ‘मल अभावका कारण किसानको माग र आवश्यकतालाई परिपूर्ति गर्न कोशिस गरेका छौं।’

मल दिने खबर पाएपछि गाउँगाउँबाट आउनेहरुको भीड लागेको छ। नेपाल सरकारले किसानहरुलालाई सजिलोका लागि सहकारी मार्फत मल बिक्रि गर्ने नीति ल्याएको छ। त्यहि नीति अनुसार नीलकण्ठ सहकारीले मल वितरण गर्दै आइरहेको छ। तर पछिल्लो समय सहकारीमा मल नआउने र व्यापारीहरुले नै कालोबजारी गरि मल वितरण गर्दा किसानहरु दोब्बर तिर्नुपर्ने मारमा छन्। सहकारीले भने अबदेखि सहज रुपमा किसानहरुले मल पाउने आश्वासन दिएका छन्। 

अहिले खेतमा लगाइएको धान र मकैमा फल लाग्ने बेला हो। किसानलाई यतिबेला फल लाग्दै गरेको रोपो गोड्न चटारो छ। खेतीको सिजनमा प्रत्येक वर्ष मल अभाव खेप्नुपरेपछि किसानले हैरानी खेप्नुपरेको छ। तीन चौथाइ जनतालाई पुग्ने खाद्यान्न उत्पादनको जिम्मा बोकेका किसान मल अभावकै कारण खेतीपाती व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको छ। बर्सेनि सिजनको समयमा मलको हाहाकार खेप्नुपरेको समस्या सुनाउँदै किसान सरकारले पूर्वतयारी गरी किसानको समस्यालाई समाधान गर्नुपर्ने बताउँछन्।

धादिङ जिल्ला तरकारी तथा खाद्यान्न क्षेत्रमा अब्बल मानिन्छ। यहाँ उत्पादन भएको तरकारी तथा खाद्यान्न काठमाडौं, पोखरा, चितवनलगायत मुख्य बजारमा निर्यात गरिन्छ। देशका मुख्य बजारको मागलाई परिपूर्ति गर्दै आइरहेको जिल्ला नै किसानलाई आवश्यक मल, बिउलगायत कृषि सामग्रीको आवश्यकता नहुनु विडम्बना नै हुन्। राज्यले पनि किसानको समस्यालाई समाधान गर्नु आवश्यक छ।

जिल्लामा १६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको छ। वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ। जिल्लाभर एक वर्षमा १२ हजार मेट्रिक टन मल आवश्यक पर्ने गर्छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App