६ वैशाख २०८१ बिहीबार
समाज

पीडितलाई आश्वासन मात्रै

चितवन - माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

‘गएको एक वर्ष नहुँदै फर्किएँ, ऋण झनै थपियो,’ उनले भने। दोस्रोपटक फेरि मलेसिया नै गएका उनले पहिलाकै नियति भोग्नुप¥यो। घर फर्किएर ज्याला, मजदुरी र खेतबारीको काम खोजे पनि शरीरले साथ दिएन। उनी अझै ढाड सीधा बनाएर बस्न सक्दैनन्। कहिलेकाहीँ दिसामा रगत जाने समस्या पनि त्यो घटनापछि नै देखिन थालेको उनी बताउँछन्। राजु आमा र कान्छा भइसँग बस्दै आएका छन्। घाइते भएकै कारण उनले अहिलेसम्म ४० हजार रुपैयाँ उपचार खर्च पाएका छन्। राजु भन्ने गरिए पनि उनको नागरिकतामा तिलबहादुर नाम भएकाले कागजात मिलाउन पनि समस्या भएको उनी बताउँछन्। ‘यतिका वर्ष भइसक्यो, कतैबाट केही भएन,’ उनले भने, ‘आस पनि छैन, हामीजस्ता पीडितलाई घरमै आयआर्जनको काम गर्न सहयोग गरे सजिलो हुन्थ्यो।’
२०६२ साल जेठ २३ गते। तत्कालीन नेकपा माओवादीले एम्बुस थापेर गराइएको विस्फोटमा ना१ख ३२४५ नम्बरको यात्रुवाहक बस प¥यो। बाँदरमुढेमा गराइएको

विस्फोटमा नेपाली सेनाका तीनजनासहित ३८ जनाले ज्यान गुमाए भने ७५ जना घाइते भए। घटना भएको १४ वर्ष पुग्यो। हरेक वर्ष आउने वार्षिकीले माडीवासीलाई पीडा थपिदिन्छ। लामो समय हुँदा पनि पीडितहरूले राजुले जस्तै सामान्य सहयोगबाहेक जीविकामा सघाउ पु¥याउने कुनै गतिविधि भएको छैन।

पीडितसँगको सहमति कागजमैै सीमित
घटनाको आठ वर्षपछि तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक माडी पुगे। माडी महोत्सव उद्घाटनका क्रममा उनले घटना युद्ध नीति र पार्टीको केन्द्रीय निर्णयविपरीत भएको भन्दै घटनाको पीडितका लागि ६० लाखको प्याकेज कार्यक्रम ल्याउने उद्घोष गरे। २५ शड्ढयाको अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष दाहालले ल्याएको राहत प्याकेज घाइते परिवारलाई अनुकूल हुनेगरी खर्च गर्न नमिल्ने भयो। पीडितहरूले रकम खर्च नगर्ने निर्णय गरे। त्यसयता दाहाल पटक–पटक माडी पुगेका छन्। चितवनको निर्वाचन क्षेत्रबाट चुनाव लड्दा समेत प्रचारप्रसारका लागि माडी पुगेका थिए। बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी दाहालबाट पटक–पटक आश्वासन मात्र पाइएको बताउँछन्। ‘घटनापछि पार्टीले पटकपटक सरकारको नेतृत्व गरिसके पनि अहिलेसम्म माडी घटनाका पीडितले न्याय पाउन सकेका छैनन्,’ उनी भन्छन्।

‘२०६४ सालमा दाहालसँग गरिएको सात बुँदे सहमति र त्यसको १० वर्षपछि २०७४ सालमा चुनावताका गरिएको तीनबुँदे सहमति पनि कागजमै सीमित छ,’ उनी भन्छन्, ‘त्यस्तो घटनालाई पनि सानो मानेर संवेदनशील नभएको जस्तो देखिन्छ।’ माडीसमेत समेटिएको निर्वाचन क्षेत्रबाट चुनाव लड्नुअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले पीडितहरूसँग तीनबुँदे सहमति गरेका थिए। त्यतिबेला मृतकमा आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने सहमति भएको थियो। पीडित, माओवादी केन्द्र र माडी नगरपालिकाका प्रतिनिधि सहभागी भएको छानबिन समिति गठन गरेर मागहरू पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै, घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बाँदरमुढे क्षेत्रको १० बिघा क्षेत्रफलमा स्मारक, संग्रहालय, चिडियाघर निर्माण गरेर पर्यटकीय स्थल बनाउने सहमति पनि भएको थियो।

सहमतिअनुसार बाँदरमुढेमा विविध संरचना सहितको पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम अघि बढाइएको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन्। नगरपालिकाले घटनाका पीडितका लागि यो वर्ष २५ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसका लागि ६० जनाको निवेदन परेको छ। प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले यो वर्ष २५ जनालाई आयआर्जनमुलक काम गर्नका लागि एक लाख रुपैयाँ दिइने मेयर ढकालले जानकारी दिए। बाँकी ३५ जनालाई भने अर्को वर्ष सहयोग गरिने उनले बताए। बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने विषयमा सम्पर्कमा आएका नौ विद्यार्थीलाई विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था गरिएको उनी बताउँछन्। ‘परिचयपत्रको कुरो पनि थियो। त्यो नगरपालिकाले दिने विषय पनि परेन,’ उनी भन्छन्, ‘अध्यक्षले त्यो सरकारको तर्फबाट पहल गर्छौं र दिन्छौं भन्नुभएको छ।’

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App