coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हुरीपीडितको बिचल्ली

बारा - सरकारले घर निर्माण गरिदिने खबर सार्वजनिक भएसँगै हौसिएर घर भत्काएका हुरीपीडित निर्माण गर्ने भनिएको घर संख्या कटौती भएपछि बिचल्लीमा परेका छन्। सरकारबाट घर निर्माण हुने विवरणमा नाम आएपछि धेरै पीडितले अांशिक क्षति भएका घर पनि भत्काएका थिए। तर अहिले आएर घर निर्माण कार्य रोकिएपछि हुरीपीडित समस्यामा परेका हुन्।

पुरैनियाका सफी महम्द अन्सारीले हुरीबाट आफ्ना छोराहरू बस्दै आएका चारवटा घरमा क्षति पुगेको बताए। उनका पाँचजना छोराका अलगअलग घरमध्ये चारजनाको भत्केको विवरण जिल्ला प्रशासन कार्यालय र अन्य निकायबाट खटेको टोलीले तयार गरेको थियो। सरकारबाट निर्माण गरिने घरको विवरण सूचीमा अन्सारीका चारैजना छोराको नाम समावेश थियो। सुरुमा चारैजनाको घर निर्माण प्रकिया थालिए पनि अहिले काम रोकिएको अन्सारीले बताए। निर्माण रोकिँदा छोराहरूसहित २५ जना घरविहीन हुने अवस्था आएको अन्सारीले बताए।

सुरुमा निर्माण गर्ने भनिएका घरको संख्या पछि कटौती गरिएकाले घरविहीन हुने अवस्था आएको पीडितको गुनासो

हुरीपीडितमा नाम आए पनि घर निर्माण नभएको अर्का हबिब अन्सारीले बताए। सरकारबाट घर निर्माण हुने भनिएपछि क्षति भएको घर पूर्णरूपले भत्काएको उनले सुनाए। स्थानीयले नचाहिँदो कुरा लगाएका कारण घर निर्माण रोकिएको उनले बताए। फेटा गाउँपालिका–६, पुरैनियामा सुरुमा निर्माण गरिने घर संख्या पछि आएर आधाभन्दा बढीले कटौती गरिएपछि हुरीपीडित समस्यामा परेको बताइएको छ। वडाध्यक्ष जाकिर हुसेन मियाँले सुरुमा बारा प्रहरीले हुरीबाट ८९ वटा घर भत्केको विवरण तयार पारेको बताए। दोस्रो पटक गाउँपालिकाबाट ८८ वटा घर पूर्णरूपले क्षति भएको विवरण तयार पारिए पनि सरकार र रेडक्रस लगायतबाट खटेका प्राविधिक टोलीले ६८ वटामात्र पूर्ण क्षति भएको विवरण तयार गरेको अध्यक्ष मियाँले बताए।

पूर्णरुपमा क्षति भएका ६८ वटा घर निर्माण गर्ने निर्णय भएर आए पनि जिल्ला प्रशासन कार्यालय बारा र निर्माण कार्यमा खटेका सेनाले ३२ वटा घरमात्र निर्माण गर्न लागेकाले समस्या आएको उनले बताए। ३६ जना हुरीपीडितको घर स्थानीय प्रशासनको लापरबाहीले निर्माण नहुने अवस्थामा पुगेको उनको भनाइ छ। बारामा पहिलो सूचीमा परेका पाँच सय ४१ हुरीपीडितको घर निर्माण कार्य रोकिएको छ। प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पछि अनुगमन गरेर निर्माण गर्ने घर संख्या थपिने आश्वासन पाएको बताए। उनले सुरुमा विवरण तयार गर्न खटेका टोलीले गल्ती गरेको बताए। हुरीबाट आंशिक क्षति भएका घरलाई पूर्ण क्षति भएको भनेर विवरण पेस गर्दा संख्या बढ्न पुगेको र पुनः अनुगमन गरी वास्तविक पीडितको घरमात्रै निर्माण गर्न लगाइएको पौडेलले बताए।

बारामा सुरुमा तयार गरिएको विवरण अनुसार एक हजार तीन सय ८७ हुरीपीडितको घर निर्माण गर्ने निर्णय सरकारले गरे पनि अब आठ सय ४६ वटा घर निर्माण गरिने सम्भावना रहेको जनता आवास कार्यदलको नेतृत्व गरेका सेनाका सहायक रथी विनयविक्रम राणाले बताए। जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायबाट तयार गरिएको नयाँ विवरणलाई प्रदेश नम्बर २ का प्रमुखसचिव नेतृत्वको पुनः स्थापना तथा घर पुनर्निर्माण सहजीकरण तथा समन्वय समितिबाट अनुमोदन गराएर काम अगाडि बढाउने राणाले बताए। चैत १७ गतेको हुरीबाट क्षति भएका घर पुनर्निर्माणको शिलान्यास वैशाख २१ गते गरिएको थियो। सुरुमा बारा जिल्ला प्रशासन कार्यालयले जिल्लाका आठ स्थानीय तहका विभिन्न गाउँमा गरी दुई हजार चार सय ९३ घरमा क्षति पुगेको विवरण संकलन गरेको थियो।

प्रकाशित: २३ जेष्ठ २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App