७ वैशाख २०८१ शुक्रबार
समाज

क्यान्सर उपचारमा नयाँदिल्ली धाउँदै नेपाली

नयाँदिल्ली - गोरखाका खेमराज देवकाटाले पत्नी सविताको उपचारमा कम्तीमा २ करोड रुपैयाँ खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर भएको छ। कृषि विकास बैंकका पूर्वअधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा १० वर्षदेखि पत्नीको उपचार गराउँदै आएका छन्।

खोटाङको हलेसी तुवाचुङ गाउँपालिका–४ का ४४ वर्षीय चूडामणि पौडेलको मुखमा क्यान्सर भएको छ। उनी पनि उपचारका लागि राजीव गान्धी क्यान्सर अस्पतालमा भर्ना भएका छन्। उनकी पत्नी लक्ष्मी दुई महिनादेखि कुरुवा बसेकी छिन्। चूडामणि नेपालका अस्पतालमा स्तरीय सेवा पाउन नसकेपछि नयाँदिल्लीस्थित रोहिणी सेक्टर ५ स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा आएका हुन्। मुखको क्यान्सर उपचारका क्रममा चूडामणिको शल्यक्रिया गरिएको छ। अहिलेसम्म उपचारमा १५ लाख रुपैयाँ खर्च भइसकेको उनकी पत्नी लक्ष्मीले बताइन्।

त्यस्तै धादिङको थाक्रे गाउँपालिका–९, पण्डितपौवाका शंकरप्रसाद पण्डितले पनि राजीव गान्धी क्यान्सर अस्पतालमा घाँटीको क्यान्सर उपचार गराइरहेका छन्। काठमाडौंको वीर अस्पताल र ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराउँदागराउँदै क्यान्सर फैलिएर चौथो स्टेजमा पुगेपछि उनी नयाँ दिल्ली आएका हुन्। ६ महिनादेखि उपचाररत पण्डितको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। क्यान्सरको सेल मार्न उनले अहिलेसम्म ६ वटा केमो लगाएका छन्। पण्डितले दिल्लीमा आएपछि २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताए।

‘राजीव गान्धी अस्पतालमा उपचार गराउनेमध्ये करिब ४० प्रतिशत बिरामी नेपाली हुन्छन्।’

बुटबलका स्थायी बासिन्दा हरिहर उदय बारा जिल्लास्थित सूर्य टोबाको चुरोट कारखाना लिमिटेडका कर्मचारी हुन्। उदयको पेटमा क्यान्सर छ। उनले नेपालका विभिन्न अस्पतालमा उपचार प्रयास गरे तर कतै सम्भव नभएपछि दिल्ली आएको बताए। नेपालका अस्पतालमा निरासा मात्र हात लागेको तर नयाँदिल्ली आएपछि भने बाँच्ने आसा पलाएको उनले बताए। नेपालमा स्तरीय क्यान्सर अस्पताल नहुँदा उपचारका लागि नयाँदिल्ली आएको बताउने उदयले अहिलेसम्म १८ लाख रुपैयाँ खर्च गरिसकेका छन्।
 
राजीब गान्धी क्यान्सर अस्पतालपछाडि ‘एनबी टुर एन्ड ट्राभल्स’ सञ्चालन गरी बसेका दैलेखका नरेन्द्र शाहीले उपचारका लागि यहाँ आउने नेपालीलाई सहयोग गरिरहेका छन्। उपचारका लागि दिल्ली आएका नेपालीलाई भारतीय मुद्रा अभाव हुँदा शाहीले साटेर ल्याइदिन्छन्। उनले बिरामी र कुरुवालाई कतै जानुपरे आवश्यक व्यवस्था गरिदिन्छन्। घर फर्कने नेपाली बिरामीलाई हवाईजहाज, रेल र बसको टिकट मिलाइदिएर उनले ठूलो गुन लगाइरहेका छन्। ‘यस अस्पतालमा उपचार गराउनेमध्ये करिब ४० प्रतिशत बिरामी नेपालबाटै आउँछन्,’ द्वन्द्वकालमै नयाँदिल्ली आएर व्यवसाय सञ्चालन गरी बसेका शाहीले बताए।

हरेक महिना नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सरलगायत विभिन्न अस्पतालमा नेपाली उपचारका लागि आउने गरेको शाहीले बताए। उनका अनुसार हरेक वर्ष क्यान्सर उपचारका लागि अर्बौं रुपैयाँ नेपालबाट भारत भित्रिन्छ। देशमै स्तरीय र विश्वसनीय उपचार सेवा दिन सके उपचारका नाममा बाहिरिने रुपैयाँ नेपालमै रहने उनले बताए।

प्रकाशित: २३ जेष्ठ २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App