७ वैशाख २०८१ शुक्रबार
राजनीति

हिन्दू राष्ट्र पूनर्स्थापनाको लागि सडकमा आउने राणाको घोषणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन्।  

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने वाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताए। उनले भने, ‘नेपाललाई विदेशीको ईशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्ष बनाए। हाम्रो पार्टी यसको विरुद्धमा छ। अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं।’

उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए। उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारे।

अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए। उनले भने, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन। अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रस्ट हुनुपर्नेमा जोड दिए। 

आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि सुनाए। उनले भने, ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ।’ अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हाँसिल गरेको पनि सुनाए। 

शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दा पनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ। उनले भने, ‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ती आयो हात्ती फुस्साजस्तै छ।’

प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनको आरोप छ। उनले भने, ‘जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होइन। राष्ट्र बनाउनको लागि दिएको हो। त्यो कुरा उहाँले बुझ्नुपर्छ।’

मुलुकमा व्यापक भ्रष्टाचार रहेको सुनाउँदै सरकारले यसप्रति पनि चासो नदेखाएको राणाले आरोप लगाए। उनले थपे, ‘बुढीगण्डकी, मेलम्चीजस्ता आयोजनामा पनि भ्रष्टाचार भएको छ। हरेक कुरामा भ्रष्टाचारको दुर्गन्ध छ। तर, प्रधानमन्त्रीजीले प्राप्त गरेको म्याण्डेटअनुसार आफ्नो इमान्दारिता देखाउन सक्नुभएन।’

सरकारको विरोधी शक्तिहरु एकीकृत भएर सरकारले गरेका हरेक बेइमानी र गल्तीहरुको विरुद्धमा अब सडकमा उत्रिनुपर्ने पनि राणाले आवश्यकता औंल्याए। 

बुढीगण्डकीजस्तो ठूलो परियोजनामा बिना प्रतिष्पर्धा ठेक्का दिनु गलत भएको उनको टिप्पणी छ। उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले अब सरकारले गरेका हरेक अकल्याण कामहरु ओकल्नुपर्छ।’

हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उनको भनाई छ। हिन्दूराष्ट्र पूनर्स्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उनले स्पष्ट पारे। 

तपाईहरु मुलुकमा राजसंस्था फर्काउने पक्षमा हुनुहुन्छ, त्यसका लागि कसरी अघि बढ्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘यो मुलुकमा नयाँ संविधान बनाउने प्रमुख चार शक्तिमा हामी पनि एक थियौं। संविधान जारी गर्दा हामीले यो एजेण्डामा त्यति ध्यान दिएनौं। हामी बढी हिन्दूराष्ट्रको एजेण्डामा केन्द्रित भयौं।’

राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको टिप्पणी गरे। उनले भने, ‘अर्बाैको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ। मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्न कुरा भैरहेको छ। राष्ट्रपतिको यो किसिमको सोख प्रिजेन्ट गर्न सकिँदैन्।’

उनले कुनै पनि पार्टीको सदस्य नभएको र पूरानो संस्था भएकोले राजालाई निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राख्न अनुकुल हुने कुरा आफूहरुले उठाएको सुनाए। 

प्रकाशित: २२ जेष्ठ २०७६ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App