८ वैशाख २०८१ शनिबार
समाज

जाजरकोट अस्पतालको प्रसुती भवन ५ वर्षदेखि अलपत्र

निर्माण व्यवसायी भागेपछि ५ वर्षदेखि अलपत्र प्रसुती गृहको भवन। तस्बिर: जनक केसी

जाजरकोट–१५ शैय्याबाट भर्खरै ५० शैय्यामा स्तर वृृद्धि गरिएको जाजरकोट अस्प्तालको प्रसुती गृहको भवन ५ वर्षदेखि अलपत्र बनेको छ।  निर्माणको जिम्मा लिएका ठेकेदार को चरम लापरवाही र गैरजिम्मेवारीका कारण  निर्माणाधीन भवन अलपत्र परेको हो। गृहमन्त्री शक्तिवहादुर बस्नेतले तामझामका साथ गत जेठ १० गते १५  शैय्याबाट ५० शैय्याको अस्प्तालको रुपमा  स्तरवृद्धिको घोषणा गरेको  जाजरकोट अस्पतालको  अति आवश्यक प्रसुती गृह भवन ५ वर्षदेखि अलपत्र पर्दा पनि सरोकारवाला निकायले कुनै  चासो लिएको  छैन।
 भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी कामै छोडेर भागेपछि भवनको काम अलपत्र परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र जिसीले बताए। भवन निर्माणको काम लामो समय अलपत्र पर्दा पनि सम्वन्धित निकाय मौन रहेका कारण समस्या आएको  डा. जिसीले बताए।
   प्रसुती गृह भवन निर्माण नहुदा जिल्ला अस्पतालमा सुत्केरी हुन आउने महिलालाई निकै समस्या पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। सुत्केरी हुन दैनिक ४/५ जना महिला अस्प्तालमा आउने गरेको भएपनि ठाउँ अभावले सेवा दिन आफूहरुलाई निकै हैरानी हुने गरेको  अनमी नारायणी शाहले बताइन्।
    जिल्ला अस्पतालको परिसरमा  निर्माण हुने भनिएको  उक्त भवन निर्माणको लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६८\०६९ मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा.लि कोटेश्वर (३५) काठमाडौंले लिएको थियो। २०६८\१२\२६ मा सम्झौता भइ २०७०\८\२९ मा कार्य सम्पन्त गर्नु पर्ने भएपनि अहिलेसम्म बेवारिसे अवस्थामा रहेको छ।
    भवनको डिपिसी मात्र  गरेर निर्माण व्यवसायीका भागेपछि भवनका लागि भनेर खरिद गरिएका काठहरु कुहेका छन भने भवनमा रुख विरुवा उम्रिएका छन्।
भवन निर्माणको कुल बजेट १ करोड १६ लाख ८५ हजार  भएपनि निर्माण व्यवसायीले ७४ लाख ६६ हजारमा निर्माणको लिएका  सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । निर्माण व्यवसायीले अहिलेसम्म १२ लाख ६६ हजार रकम भुक्तानी लिइ सकेको कार्यालयले जनाएको छ।  
 भवन निर्माणको जिम्मा लिएर काम नगर्ने व्यवसायीलाई कालो सूचिमा राख्ने प्रक्रिया अघि बढाउने तयारी भइ रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बबहादुर श्रेष्ठले बताए।  ‘पत्र काटेर  उनीहरुलाई बोलाइएको  छ अव कारवाहीको  प्रक्रिया अघि वढ्छ,’ उनले भने।  

 

प्रकाशित: १३ असार २०७३ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App