कथा

आत्म सम्मान

बुधबार, २२ जेठ २०७६, १५ : ४९ शोभा ज्ञवाली  | @GyawaliShova

आज आकृतिलाई आभाषको तीव्र सम्झनाले सताइरहेको छ। सम्झनुको खास केही कारण पनि चाहिँदैन, बस्, मन उदास भए पुग्छ! कहिलेकाहीँ उदास हुँदा ऊ मनलाई थुम्थुम्याउने अल्झो खोज्छे र अनायाश नै आभाषलाई सम्झन्छे।

आभाष आकृतिको कक्षाको साथी! यी दुईबीच हरेक कुरा सेयर हुन्थ्यो। उनीहरु दुवै घण्टौँ नबोली एकै ठाउँमा बस्न सक्थे। आकृतिलाई कहिलेकाहीँ यस्तो लाग्थ्यो, आभाषको अघिल्तिर भई भने ऊ भोक प्यास बिर्सन सक्छे। बाँच्नका लागि अरु केहीको इच्छा नभएकोजस्तो र सबै कुरामा तृप्त र पूर्ण छे भन्ने लाग्थ्यो। त्यो बेला ऊसित सीमित साधन र स्रोत थिए र पनि आफूलाई पूर्ण महसुस गर्थी। अहिले सबै भौतिक सुख र जीवनलाई चाहिने सबै सुविधाहरु छन् तर जीवनलाई खुशी बनाउने त्यो पल छैन, जहाँ एकअर्कालाई मरिमेट्ने त्यो मन छैन।
आभाषको स्मरणले उसलाई सधैँ अभावको टिस दिएर जान्छ।
०००
समय कति चाँडो उम्कन्छ!

हिजैजस्तो लाग्छ, आभाषले आकृतिको साथ मागेको, थोरै समय मागेको। आकृति पनि त विवश थिई, उसका लागि घरमा बिहे प्रस्तावको ताँती थियो। आभाषले माया र सम्मानबाहेक केही दिन सक्तिनँ भनेर टक्टकिन खोजेको!

मान्छेलाई बाँच्न सम्पतिको थुप्रो चाहिन्छ कि साथसाथ हिँडाउने मायालु! यो सम्झेर आकृतिलाई भाउन्न हुन्छ।

आभाषले भनेको अहिले पनि ऊ सम्झन्छे– बरु मलाई केही समय कुर। तिमीलाई खुशी कसरी बनाउने, मेरो मायालाई खुशी साथ मेरो मनमन्दिरमा कसरी सजाउने त्यही प्रयासमा लागिरहेको छु। मलाई बुझ्ने कोसिस गर आकु। तिमीबिना म बाँच्न सक्दिनँ।

आकृतिलाई उसकै अफिसको बोसले मन पराएको छ। आकाशको शालिन व्यक्तित्वले ऊ त्यसै त्यसै पग्लिएकी पनि छ तर घरिघरि आभाषको मलिन अनुहारले झस्किरहेकी छ। आकाशले पनि त त्यत्तिकै जोर–जबरजस्ती गरेको छैन! बाठो आकाशले सिधै आकृतिको घरमा मनशाय प्रकट गरिदिएकाले सारा खेल बिग्रिरहेको छ। आकाशले आकृतिलाई सिधै प्रस्ताव राखेको भए, अस्वीकृत हुने डर हुन्थ्यो तर सुरुमै घरको स्वीकृति लिएपछि आकृतिलाई असहज पारिदिएको छ। आकाशले नजानिदो पाराले आकर्षित गर्ने प्रयास गरिरहेको छ।

सबैको परिवारलेझैँ आकृतिको परिवारले पनि त खानदानी, पढेलेखेको, आकर्षक आकाशलाई नै छान्छन्। आकृतिलाई पनि छानिरहने वा पर्खने सुविधा छैन। ऊ एक्ली छोरी पनि त होइन! आफूपछिका चार जना दिदी–बहिनीको जिम्मेवारी पनि त छ!

आभाषलाई उसले कसरी अस्वीकार गरोस्! कसरी आभाषका लागि अनिश्चित वर्षहरु कुरोस्!

यही कुरा उसले आभाषलाई नसुनाएकी होइन। आभाषले पनि त कुनै समाधान सुझाउन सकेन! उसले भागौँ पनि त भन्न सकेन!

एक मनले उसको लाक्षीपनप्रति आकृति क्षुब्ध भई।
०००
‘आकृति...आकृति,’ आकाशको आवाजले ऊ झसङ्ग भई।

विगतका सारा सम्झना र यादहरु झ¥यामझरुम भए। आकृति वर्तमानमा पछारिई।

‘छिटो तयार होऊ, हामीलाई डिनर जानु छ,’ आकाशले रुखो स्वरमा भन्यो, ‘ठुस्स मुख लगाएर बस्ने होइन। हँसिलो भएर बस्नू। तिमीहरु मिडल क्लासका मान्छेको समस्या के छ भने अरुको सुखसुविधा पनि देखिसहँदैनौ र हाई क्लासको सुख सुविधा पनि चाहिन्छ तर त्यसैमा रत्तिन पनि सक्तैनौ!’

सधैँझैँको तीखो वचन आकाशले पोखिहाल्यो।

यत्तिको वचनपछि कसलाई पो हाईफाई खोज्दो हो! आकृतिको मन अमिलियो तर आकाशसँग जानै पर्छ त्यहाँ।

अफिसमा पनि त यस्तै हेपाई थियो उसको! आकाशलाई त्यो बेला नै आकृतिले नचिनेकी पनि होइन। तर सधैँ उसलाई मेरै गल्ती होलाजस्तो लाग्थ्यो।

अनेकन ड्रामा, नक्कलझक्कल र पार्टीहरु उसलाई मन पथ्र्यो, चाहे जान मन लागोस् या नलागोस्! बुझे पनि नबुझे पनि हिहिहाहा गर्नु पथ्र्यो। नक्कली कुराबाहेक त्यहाँ उसले केही देख्दिन थिई।

‘आकाश, मलाई साँच्चिकै ज्वरो आइरहेको छ,’ आकृतिले विवशता पोख्न चाही, ‘म हिँड्न सक्दिनँ। औषधी खाएर सुत्छु बरु।’ आकाश चरक्क चर्कियो, ‘तिम्रो हरेक चोटी नयाँ–नयाँ बहाना हुन्छ। बरु म मन पर्दिनँ भने भन। तिमीलाई डिभोर्स चाहिन्छ भने भन।’

ढोकालाई ड्याङ्ग लात हानेर आकाश बाहिर निस्क्यो। आकृतिले कौशीमा गएर उसको गाडी गएको हेरिरही। आकृतिलाई एक पटक पनि सञ्चो भए÷नभएको परख गरेन, जिउ छोएर ज्वरो नापेन। ‘कस्तो संवेदनहीनता!’ आकृतिले निःश्वास छाडी।

यस्तो बेलामा उसलाई झक्झक्याउन आभाषको सम्झना आइपुग्छ। आभाषले भए उसलाई यसरी छाड्थ्यो होला त? पक्कै पनि औषधि खाऊ, आफूलाई विचार गर भन्थ्यो होला। आजको पार्टी छाडिदिऊँ, आज हामी सँगै बसौँ पो भन्थ्यो कि!

‘के मैले उसबाट छुट्कारा चाहेकी हुँ र?’ आकृतिको मनमा कुराहरु खेलिरहे, ‘मैले ऊसित डिभोर्स चाहेकी हुँ र? मेरो समाधान डिभोर्स त पक्कै पनि होइन।’
०००
    एक दिन आकृति र आभाष साँझमा कलेजबाट घर फर्किरहेका थिए। मन दुःखी थियो आकृतिको। दुःखमा ऊ पनि दुःखी थियो र आकृतिलाई हँसाउन अनेकन कुरा गरिरहेको थियो। उसले धेरैबेरसम्म सम्झाइरह्यो, राम्रा कुरा गरेर मन हलुको गराइरह्यो।

दुःखी त आभाष पनि थियो। आकृतिले उसलाई आकाशसँग बिहे हुने कुरा सुनाएकी थिई। आकाशले सायद आफ्नो अवस्थासँग आत्मसमर्पण गरिसकेको थियो। यस्तो दुःस्वप्नको अवस्थामा पनि उसले आकृतिलाई सहज बनाउने प्रयास गरिरहेको थियो।

छुट्टिने बेलामा आकृतिले भनेकी थिई, ‘तिमी मेरो उज्यालो हौ। यस्तो अँधेरीमा पनि तिमीले ताराकै सही, टिम्टिम्याइलो नै सही, टाढैबाट उज्यालो छरिरहेका छौ। म तिमीलाई जीवनभर बिर्सने छैन।’

जवाफमा आभाषले उसको हात दह्रो गरी समातेको थियो र फर्केर पनि नहेरी अँध्यारोमा बिलाएको थियो।

०००
डिभोर्सको कुरा हुँदा मन दुःखी भयो र मन दुखेको बेला आकृतिले सम्झने उही आकाशलाई त हो!

मनमनै आकृतिले भनी, ‘आभाष, तिमीसित भागेको भए यस्तो खिन्नता त हुने थिएन कि! तर तिमीले पनि त मलाई भगाउने आँट गरेनौ। बरु सम्झायौ, यहीँ छ मेरो भविष्य! यहीँ छ सम्भावनाका अपार द्वार! खै, कहाँ छन् ती सम्भावनाका द्वार र भविष्य?’

जब जब आकाशको घोच्ने वचनले हृदय छियाछिया हुन्छ, आकृति विचलित हुन्छे। उसलाई लाग्छ, जीवनमा मेरो केही महŒव छैन। आकाशका लागि त म मनिक्विन हुँ, उसको पार्टीमा देखाउनुपर्ने डमी।

बाहिर चिसो छ, असाध्य चिसो। भित्रको चिसो पनि प्रकृतिले बाहिरै पोखिदिएजस्तो। कौशीमा उभिएकी आकृतिलाई परैबाट छोरीले देखी।
चिसोले पक्रेला भनेर छोरी सचेत देखिई, भनी, ‘आमा हजूरलाई के भयो? किन यस्तो चिसोमा बाहिर?’

आकृति सम्हालिई। हुन पनि ऊ यसरी नै कयौँ पटक सम्हालिएकी छ। कहिले लाग्नेको नाउँमा, कहिले समाजको नाउँमा, कहिले सन्तानका नाउँमा। सधैँसधैँ सम्हालिएर नै उसको जीवन बितिरहेको छ।

‘तिमी अहिलेसम्म नसुतेको बाबा?’ आकृतिले छोरीप्रति स्नेहले हेर्दै भनी, ‘ल हिँड, म पनि आउँछु। मलाई केही भएको छैन।’

केहीबेर छोरीलाई अँगालेर सुती तर उसको आँखामा निद्रा थिएन। छोरी निदाएपछि ऊ उठी र सिटामोल खाई। त्यसपछि आफ्नै कोठामा पल्टी।
आकाश प्रायः रातको एक÷दुई बजे आउँथ्यो। भोलिपल्ट छोरीको स्कुलको वार्षिक उत्सव मनाउन पुग्नै पर्ने थियो। आकाशको तीखो वचन आकृतितर्फ मात्र थियो। जति आकृतिको बेइज्जतीमा आकाशलाई मज्जा आउँथ्यो, त्यत्ति नै छोरीप्रति हुरुक्क भएर पोखिनुमा उसलाई रमाइलो लाग्थ्यो।

०००
छोरीको स्कुलको वार्षिकोत्सवमा आकृतिलाई बडो असहज भयो। उसले चिनेको व्यक्ति निकै लामो समयपछि त्यहीँ प्रमुख अतिथि भएर आएको थियो। उसलाई भेट्न पनि गाह्रो लागिरहेको थियो।

मञ्चमा उसलाई बोलाइयो। देशका चर्चित साहित्यकार आभाष शर्मा भनेर नाउँ लिँदा आकृतिको मुटु ढक्क फुल्यो।

जब जब मन खिन्न हुन्छ, उसले आभाषलाई झुलुक्क सम्झन्थी। अहिले त ऊ नै अघिल्तिर छ। उसको नाम ठूलो स्वरमा माइकमा गुञ्जायमान भइरहँदा मुटु नै फुत्केर बाहिर आउलाझैँ भयो।

यसपछि उसलाई केही सम्झना आएन। भाषणमा आभाषको ओठ, अनुहार र जिउका हाउभाउ, घरिघरि हाँसिरहेका श्रोता र गम्भीर भइरहेका मानिसहरु मात्र आकृतिले देखी।

एक मन त ऊ घृणाले भरिई, ‘कस्तो नराम्रो मान्छे! मैले उसलाई लैजाऊ भनेकै थिएँ नि!’

‘हेर न, मलाई देखाउन अरुलाई हँसाएको होला!’

‘छ्या, टाई कस्तो नसुहाउँदिलो रङको लगाएको होला!’

‘साँची, यसका सन्तान कति जना भए होलान्?’
‘....’
आभाषको भाषण सकियो, कार्यक्रम सकियो र अब पुरस्कार वितरणको कार्यक्रमको पालि थियो। छोरीले कविता वाचनमा प्रथम पुरस्कार पाएको घोषणा हुँदा गर्वले लामो समयसम्म आकृतिले थप्पडी बजाई।

कार्यक्रम सकिएपछि आभाष हतारिँदै आकृति, छोरी र आकाशतिर लम्कियो। आकृतिलाई यस्तो लाग्यो, यो मान्छे यहाँ आइपुग्दा आफू कतै विलिन हुन पाए हुन्थ्यो! तर बिलाउन सकिन।

‘कङ्ग्राट्स,’ आभाषले आकाशतिर हात बढाउँदै तर नजर आकृतितर्फ डुलाउँदै भन्यो।

आकाश मुस्कुरायो मात्र। उसले आकृतितर्फ हात बढाउँदै भन्यो, ‘आकृति, तिम्री छोरीमा एकदमै तीक्ष्णता पाएँ। यति सानै उमेरमा शब्दभण्डार गज्जबको छ।’

आकृतिले उसका शब्द पक्रन सकिन तर उसले हात मिलाउँदै गर्दा आफ्नो पसिना आएका चिसा हात मात्र याद गरी।
‘डु यु नो इचअदर?’ आकाशले भन्यो।

‘हो, हामी कलेजमा सँगै पढ्थ्यौँ,’ आभाषले भन्यो, ‘छोरीको यो तीक्ष्णता र प्रतिभाका लागि म तपाईंलाई भन्दा सन्तानका आमालाई क्रेडिट दिन्छु।’ यसपछि फेरि पनि आकृतितर्फ हे¥यो। आकृतिले कृत्रिम मुस्कानले धन्यवाद भनी।

‘मेरो पहिलो छनोट उही नै थियो,’ आकृतिले आकाशसँग बदला लिने सुरमा यस्तै केही भनूँ भन्ने सोची तर भन्न सकिन।

आकाशले चासो लिएजस्तो गरी भन्यो, ‘तर आकृतिले त तपाईंका बारेमा कहिल्यै कुरा गरेको जस्तो लागेन मलाई त!’

‘कहिल्यै सुन्ने प्रयास गरेको भए पो!’ आकृतिलाई मनमनै जवाफ आइरहेको थियो।

कुरा चिनजानमै अड्किएन र आकृतिले यसमा बडो सन्तोष मानी। आकाशले आफ्नै कुरा सुनाउन थाल्यो, ‘छोरीको क्रेडिट तपाईंले उसलाई दिनु भयो तर यसमा मेरो हात छ। उसलाई त केही पनि आउँदैन। छोरीलाई ट्युसन पढाउने उसले हैन क्यार!’

आकृतिलाई फेरि चस्स बिझ्यो, ‘के छोरी ट्युसन पढेर विद्वत् हुने हो र? कति चाँडो बेइज्जत गर्ने बाटो खोजिहालेको होला!’ आकाशले आभषलाई अनुरोध गर्दै भन्यो, ‘हेर्नुस्, म त बिजनेसम्यान परेँ। मलाई साहित्यको स पनि आउँदैन। छोरीको रुचिलाई अलि सोफेस्टिकेटेड बनाउन तपाईंले केही समय उसलाई गाइड गरिदिनुप-यो।’

‘हेर्नुस्, म अलि महँगो छु... तपाईं...,’ आभाषले आकृतितर्फ हेर्दै गर्दा कुरा बीचमै छाड्यो।
‘हो, तिमी अलि महँगै थ्यौ क्यार!’ आकृतिले मनमनै सोची, ‘त्यसैले त मलाई छाड्यौ!’
‘तपाईं पैसाको चिन्ता नगर्नुस्,’ आकाशले पर्सबाट बिजनेस कार्ड झिकेर आभाषतर्फ अघि बढाउँदै भन्यो, ‘टम्र्स एन्ड कन्डिसन्सका बारेमा सल्लाह गरौँला, भोलि नै भेटौँ।’
०००
    आभाष छोरीलाई पढाउन कहिलेकाहीँ घरैमा आउन थाल्यो। छोरी पनि प्रख्यात साहित्यकारसँगको सङ्गतमा खुशी थिई। आकाश आफ्नै काममा व्यस्त थियो। उसले बोलीले मात्र होइन, आकृतिलाई हात नै उज्याएर घाइते बनाउने क्रममा थियो। तर यी सारा पीडा उसले कसलाई सुनाउने? अरुलाई सुनायो भने अझ हाँसोको पात्र बनुँली भन्ने डरमा थिई। केही दिनभित्रै आभाषले सबैकुरा बुझिसकेको थियो।

एकदिन आकृतिको गाला सुन्निएको थियो। जसै आकृतिले छोरी र आभाषलाई चिया पु¥याउन गई, आभाष सुन्निएको गाला देखेर अवाक् भयो।
कुरा मोड्न आभाषले छोरी मान्यतालाई भन्यो, ‘तिमीलाई थाहा छ नानु, तिम्रो ममी कलेजमा निकै राम्रो कविता लेख्थिन्।’
‘रियल्ली?’ मान्यताले आश्चर्य मान्दै आकृतितर्फ हेरी। आकृतिले फिस्स हाँस्नबाहेक अरु के गर्न सक्थी?

भन्न त आकृतिलाई मन थियो, ‘मेरा निजी डायरीमा कविताको खजाना लुकेर बसेको छ। हरेक पीडामा, खुसीमा, दर्दमा एउटै मल्हम ती डायरी त थिए, जसले मलाई बग्न सहज बनाउँथे।’
‘किन तिमीले लेख्न छाडेको?’ आभाषले सोध्यो, ‘तिमीले आफ्नो प्रतिभा लुकाउनु हुन्नथ्यो। हो, तिमी व्यस्त छौ तर त्यसका बाबजुद पनि तिमीले आफूलाई प्रष्फुटित गर्ने काम रोक्नु हुन्न। रोक्नु भनेको आफैँप्रति अन्याय गर्नु हो।’
आभाषको यी कुराले त्यहीँ रोइदिऊँझैँ आकृतिलाई भइरहेको थियो तर फिस्स हाँसेर ऊ त्यहाँबाट निस्किई।

०००
अर्को दिन आकृतिलाई छोरीका कविता हेर्ने जाँगर चलेर आयो। आभाषको सङ्गतमा उसका कविता केही नबुझिने किसिमका भएका थिए। उसले चित्त बुझाई, ‘छोरीको स्तर बढ्यो, मेरो घट्यो।’

यही बेला मान्यताले सोधी, ‘मामु, हजूर पनि लेख्न थालिस्यो न! बरु कम्पिटिसन गरौँ।’
आकृति हाँसी मात्र र त्यसपछि उसले एउटा डायरी निकालेर छोरीलाई पढ्न दिई।
केही कविता थिए त्यहाँ, धेरै वर्षअघिका। मान्यता जन्मनुभन्दा पनि अघिका कविता!
‘यस्तो लेखिसिँदोरहेछ,’ छक्क पर्दै प्रतिक्रिया दिई मान्यताले, ‘अब कन्टिन्यु गरिस्यो।’
‘अब पहिलाको जस्तो जाँगर र आत्मविश्वास दुवै छैन नानु,’ आकृतिले निराश हुँदै सुनाई।
यत्तिकैमा आभाष आइपुग्यो। मान्यताले डायरी आभाषतर्फ अघि बढाउँदै भनी, ‘हेरिस्यो त सर, मामुको पुरानो कविता!’
आभाषले यो डायरीसँगै उसले पोस्टकार्ड पनि त दिएको थियो! ऊ केहीबेर पुरानो फ्ल्यासब्याकमा पुग्यो र सामान्य हुँदै भन्यो, ‘कविता त खान्दानी रोग पो रहेछ!’
०००
मान्यतासँगको अनुमति लिएर आभाषले आकृतिका पुराना कविता घर लिएर गयो, पढ्यो। उसले पढेन, प्रत्येक शब्द याद ग¥यो।
भोलि मान्यतालाई भेट्न आउँदा उसले ढोकैमा आकृतिलाई फेला पा¥यो।

‘लेख्न किन बन्द गरेको? लेख्ने गर,’ आभाषले भन्यो, ‘लेख्नुमा जस्तो आनन्द केही छैन। यसो गर्दा मन भुल्छ। काई जमेको पुरानो घाउलाई बल्झाऊ र लेख्न थाले। तिमीले आफूलाई प्रमाणित गर्ने योभन्दा राम्रो बाटो अरु हुन सक्तैन। यो कला सबैसँग हुँदैन।’
छोटकरीमै सही उसले मनमा उकुसमुकुस कुरा आकृतिसामु पोख्यो।

‘आभाषजस्तो प्रख्यात साहित्यकारले भनेको सत्य हो त? कि उसले मलाई त्यत्तिकै उकासेको मात्र हो?’ आकृतिको मनमा अनेकौँ कुरा खेले, ‘के ममा साँच्चिकै त्यो प्रतिभा छ? आत्मविश्वास गुमाएकी स्त्री हुँ म, मैले कसरी लेख्न सकूँली?’
०००
आभाषकै जोडबलले छोरी मान्यता र आकृतिले साहित्य क्लबको सदस्यता लिए। यहाँ हरेक साता कविता वाचन हुने गथ्र्यो। केही डर, केही धक मान्दै आकृतिले पनि कविता वाचन गर्न थाली। आभाषले पनि यसमा भरपूर सहयोग गर्न थाल्यो।

लामो समय त आकाशले आमा–छोरीको सक्रियताको भेउ पाउनै छाड्यो। जुन दिन थाहा पायो, भन्यो, ‘हाम्री आकुले कथा साहित्य लेख्ने? के लेख्छे यसले? ठट्टाको भारी?’
उसले आभाषतिर हेर्दै भन्यो, ‘छोरीलाई सिकाइदिनोस्। आमालाई पर्दैन, तपाईंको समय मात्र खेर जान्छ।’ यसपछि ऊ ठूलो स्वरले हाँस्न थाल्यो।
आजको हाँसोले पुनः आकृतिको मन छियाछिया भयो। उसले मनमनै प्रण गरी, ‘अब ऊ आकाशको वचन सहन्न। उसको अत्याचार, हेपाई, पिटाई, केही सहन्न। उसलाई केही बनेर देखाउँछु। समाजका लागि म नयाँ आकृतिको परिचय दिन्छु।’
आभाषको साहित्य क्लबमा ऊ अब झन् सक्रिय भएर लाग्न थाली।

समाजको ढोँगीपन उसले देखी–भोगी आएको कुरा थियो। विसङ्गति र विकृतिमाथि उसको व्यंग्य चेत मौलाउँदै जान थाल्यो। आखिर दृढ निश्चय र लगनशीलता भए मान्छेले के पो हासिल नगर्ला! यही निश्चयले आकृति अघि बढ्न थाली।

नभन्दै केही समयमै आकृतिले हराएको आत्मविश्वास पुनः हासिल गरी। समाजले उसलाई मिस आकृति भनेर चिन्न थाले। उसका लेखनी सबैका लागि प्रेरणादायी हुन्थे। ऊ व्यस्त हुन थाली।

आकृतिलाई गरिएको सम्मान देखेर आकाशको व्यवहार पनि राम्रो हुँदै गयो। उसको गाली र कुटपिट क्रमशः घट्दै मात्र गएन, सम्मान पनि बढ्न थाल्यो। 

०००
एक दिन आभाष र आकृति कलेजताकाकै कुनै रेस्टुराँमा बसेर कफी पिउँदै थिए। आकृति निकैबेर चुप थिई, आभाष पनि केही बोलिरहेको थिएन। मात्र आकृतितर्फ हेरिरहेको थियो।

निकैबेर मौन    देखेर आभाषले प्रश्न ग¥यो, ‘के सोचिरहेको?’
आकृतिले सारा कुरा भनेर आफूलाई रित्याई, कहिले हाँस्थी र कहिले रुन्थी।
सबै कुरा सुनिसकेपछि आभाषले भन्यो, ‘हेर आकृति, मैले तिमीलाई पहिले सम्झाउन सकिनँ तर तिमी आफँैले बुझिछौ, मलाई खुसी लाग्यो। तिमी केमा विश्वास गर भने, हरेक मानिसले आफ्नो मान–सम्मान आपैmँ कमाउनु पर्छ। आफ्नो अस्तित्वको लडाईं पनि समाजसँग मात्र होइन, आफ्नो परिवार अनि नजिक ठानिएको व्यक्तिसँग पनि आफैँ लड्नु पर्छ। त्योभन्दा पनि जबसम्म तिमीले आफैँ जित्न सक्तिनौ, अरुलाई पछार्न सक्तिनौ।’

उसले भनाइ जारी राख्दै भन्यो, ‘जब तिमीले आफ्नो प्रतिभा प्रमाणित गछ्र्यौ, अनि परिवारले चिन्छ, परिवारले चिनेपछि समाजले चिन्छ र समाजले चिनेपछि बल्ल देशले चिन्छ। पहिला सुरुमा आफैँसँगको लडाइँ नजिती उसले बाहिरको युद्ध जित्न सक्तैन।’

‘आकाशले तिमीलाई चिनेन, त्यो उसको समस्या थियो,’ ऊ आज बोल्ने मुडमा थियो, भन्यो, ‘तिमीले त आफ्नो प्रयास नछाडेको भए हुन्थ्यो नि! तर तिमीले अनेक बहाना बनाएर आफैँलाई कैद ग¥यौ। तिमी जति खुम्चँदै गयौ, उसले तिमीमाथि अन्याय, अत्याचार थप्दै जान थाल्यो। तर एक दिन उसको होश खुल्यो। जब समाजले तिमीलाई सम्मान गर्न थाल्यो, उसले आफ्नो गल्ती थाहा पाइहाल्यो। ऊ पनि त मुर्ख होइन, तिमीप्रति पशुजस्तो व्यवहार गर्न!’

आकृतिलाई लाग्यो, ‘हो, कुनै पनि व्यक्ति जन्मदै पशु हुँदैन। मात्र अपेक्षाको भारीले थिचिएर ऊ आफ्नो स्तर गिराउन थाल्छ। आकाश पनि निर्गतिलो त होइन, मात्र उसले कल्पेजस्तो स्मार्ट थिइनँ म। जसै आफूले आफैँलाई चिनेँ, उसले पनि मलाई चिन्दै जान थाल्यो। मान्छेले आफू चिन्नु कति महत्त्व रहेछ।’

कफी हाउसबाट निस्कदै गर्दा मैले आभाषतिर हेर्दै अप्रकट रुपमा धन्यवाद भनेँ। उसले मेरो मौन कृतज्ञता बुझेपछि मुस्कुराउँदै आफ्नो बाटो लाग्यो।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad