८ वैशाख २०८१ शनिबार
समाज

सामाजिक मान्यताले छेक्दैन पौरखी महिलालाई

लम्की - कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा ‘किशोर हेयर कटिङ’ हेयर शैलुन पसल छ। यहाँ पुरुषहरुको दा-ही बनाउने, कपाल काट्ने काम हुन्छ। हीरा चौधरीले विगत १३ वर्षदेखि यो काम गर्दै आउनुभएको छ। कैलालीकै एक संस्थाले हीरासहित तीन  महिलालाई कपाल काट्ने, दा-ही बनाउने तालीम दियो। अन्य साथीले यो काम गर्न लाज माने तर, उनलाइ लाग्यो पुरुषले गर्ने सम्पूर्ण काम महिलाले पनि गर्न सक्छ। यसै विश्वासका साथ ब्यवसाय शुरु गरेकी हीराले आफ्नो अनुभव यसरी सुनाइन् – “व्यवसाय गर्दागर्दै विवाह भयो। विवाहपछि श्रीमान्लाई पनि यो शीप सिकाएँ।” अहिले दुबैजना मिलेर हेयर शैलुन चलाउँछन्। यस शैलुनबाट मासिक ३५ हजारसम्म कमाइ हुन्छ।

हीरा जस्तै मेहनती र सफल महिला कैलालीकै बुध्नि डगौरा थारु ट्याक्सी चलाछन्। हाम्रो समाजमा ट्याक्सी चालकको भूमिकामा प्रायः पुरुषहरु छन्। तर, कुनै पनि काम पुरुष र महिलाको हुँदैन भन्ने प्रमाणित गर्न डगौरालाई ठूलै मेहनत गर्नुप-यो। अहिले उहाँकै कारण समाजमा महिलालाई हेर्ने दृष्टिकोण केही परिवर्तन भएको छ। “शुरुशुरुमा मैले ट्याक्सी चलाएको जम्मा भएर हेर्ने गर्दथे, पुरुषहरु निकै कुरा काट्थे,” बुध्नीले भने  – “अहिले सबैले राम्रो व्यवहार गर्छन्। मैले दैनिक दुई हजारदेखि १० हजारम्म कमाउँछु। मलाई भ्याइनभ्याई छ।” बुध्निका अनुसार मेहनत गरेमा महिलाले गर्न नसक्ने भन्ने काम छैन।

पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा अहिले पनि विद्यमान छ। यसरी काम गर्ने महिलाको समाजले नकारात्मक टीकाटिप्पणी गर्छन्।  पुरुषले गर्ने सम्पूर्ण काम गर्न महिला सक्षम छन् भन्ने प्रमाणित यी महिलाले गरिससकेका छन्। यस्तै, आफूलाई प्रमाणित गरेकी अर्की महिला कैलाली टीकापुरकी कल्पना चौधरीको सङ्घर्ष पनि कम छैन। कल्पना वाइरिङ र मोटर मर्मतको काम गछिन। आठ वर्षअघि श्रीमान्सँग यो शीप सिकेकी चौधरीको परिवार यसै व्यवसायबाट धानिएको छ। अहिले उहाँउनी पसल मात्र हैन घरघर गएर पङ्खा मर्मत, मोटर मर्मत र वाइरिङ सम्बन्धी सम्पूर्ण काम एक्लै गछर्न्। “शुरुशुरुमा घर वाइरिङ महिलाले गर्ने भन्दै हाँस्थे, हाल धेरैले विश्वास गर्छन्,” कल्पनाले भनिन् – “महिलाले मोटर बनाउने भन्छन्। काम गरेको देखेर साहसिक महिला भन्न थालेका छन्।” कमाइ भएपछि जीवन सहज हुने भएकाले मेहनत गरेको बताउने कल्पना भन्छन् – “महिलाले घर, चुलोचौकाका काम मात्रै गर्छन् भन्ने धारणा परिवर्तन भएको छ। म मेरो श्रीमान् बराबर काम गर्न सक्छु भन्ने प्रमाणित गरेकी छु।”

लम्की चुहा नगरपालिकाकी तुल्सी देवकोटा एक विवाहित महिला हुन्। पेशाले उनी आइएमइ लाइफ इन्स्योरेन्स टीकापुरकी शाखा प्रमुख हुन्। सात वर्ष अघि काम शुरु गर्दा उनकाे दोस्रो सन्तान गर्भमा थियो। अहिले दुईवटा बच्चा अघिपछि च्यापेर बाइक कुदाउँदै कार्यालय पुग्ने देवकोटा सम्पूर्ण विवाहित महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्। “मैले श्रीमती, बुहारी, आमादेखि कार्यालयको हाकिमसम्मको जिम्मेवारी एक्लैले निभाएकी छु। महिलाले मेहनत गर्नुपर्छ।” देवकोटाले भने– “म अप्ठेरो परेकोे दिन १५० सिसीको बाइकमा अघिपछि दुई सन्तान बोकेर काम गर्छु। शुरुशुरुमा बाइक चलाएर हिँड्दा धेरैले अचम्म मान्थे।” देवकोटाका अनुसार हिम्मत गरेमा महिला अझ बढी राम्रो काम गर्न सक्छन्।

छोरी मात्र पाएको बहानामा महिलामाथि अनेक हिंसा हुने गर्दछ। दर्जनौं छोरी जन्मे पनि छोराको आशले महिलालाई सन्तान जन्माउने साधनका रुपमा प्रयोग गरेका उदाहरण समाजमा प्रशस्त छन्। अधिकारकर्मी कल्पना उपाध्याय नचाहँदा नचाहँदै जन्मिएका छोरीहरु राम्रोसँग लेखपढ गर्न नपाई पराई घर जान्छन्। “अवसर पाएका छोरीहरु यस्ता उदाहरणीय काम गर्छन्, त्यसैले छोरीको महत्व बुझ्न आवश्यक छ,” उपाध्याय भन्छन् ।

– “छोरीले जोखिमपूर्ण काम गर्न सक्दैनन् भन्ने धारणा त्यागौं।”

यस्तो सामाजिक धारणा परिवर्तनका लागि सङ्घर्ष गर्ने दम्पती पनि छन्। कैलालीको टीकापुर नगरपालिका–४ अस्नेरीका इन्जिनीयर बालकृष्ण घिमिरे यस्तो सोच भएको समाजका लागि उदाहरणीय बनेका छन्। घिमिरेकी एकमात्र छोरी छन्। अठार वर्षकी छोरी अहिले इन्जिनीयरिङ विषय अध्ययन गर्दैछिन्। छोरा र छोरीलाई समान देख्ने घिमिरे दम्पतीलाई छोराको चाहना कहिल्यै भएन। “हामीले भएको सन्तानलाई राम्रो संस्कार र शिक्षा दिने सोच बनायौ,” इन्जिनीयर घिमिरेले भने– “अवसर दिने हो। छोरी अझ छोराभन्दा राम्रो गर्न सक्छन् भन्ने ठान्यौं र अर्को बच्चा जन्माएनौं।” पत्नी पवित्रा घिमिरेले एउटै छोरीमा आफूहरु खुशी रहेको र तिनै छोरीलाई असल नागरिक बनाउने प्रयासमा रहेको बताए।

सामाजिक संरचना अनुसार महिला र पुरुषले गर्ने काम भिन्दाभिन्दै छन्। आर्थिक रुपमा आयआर्जन हुने घरबाहिरका काम गर्नुपर्ने जिम्मेवारी पुरुषलाई छ भने घरभित्रका गैरआर्थिक कामहरु महिलाले गर्नुपर्ने भनेर भूमिका छुट्याइएको छ। यसले गर्दा समाजमा लैङ्गिक विभेदले प्रश्रय पाइरहेको छ र महिला हिंसा बढिरहेको छ। यस अवस्थामा हीरा, डगौरा, कल्पना र तुल्सी जस्ता महिलाहरु सिङ्गो समाजकै लागि प्रेरणा बनिरहेका छन् भने घिमिरे दम्पतीले छोरा प्रमुख मान्ने सामाजिक मूल्य मान्यता बोकेको समाजलाई छोरीको महत्व बुझ्न दबाब दिइरहेका छन्।रासस

प्रकाशित: २२ जेष्ठ २०७६ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App