coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

मोदी सत्ता: हाम्रो सन्दर्भ

भारतमा भारतीय जनता पार्टीले अभूतपूर्वरूपमा लोकसभा निर्वाचनमा विजय प्राप्त गरेको छ। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएको भारतको लोकतान्त्रिक इतिहासमा पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु, तेस्रो प्रधानमन्त्री इन्दिरा गान्धीपछि दोहो-याएर प्रचण्ड बहुमतकासाथ प्रधानमन्त्री हुनुभएको छ नरेन्द्र मोदी। सामान्य परिवारमा जन्मेर चिया बोक्दै अध्ययनमा संलग्न मोदीले यसरी शक्तिशाली भारतको शक्तिशाली प्रधानमन्त्री भएको विषय सामान्य होइन। खानदानी राजनीतिले मात्र लोकतन्त्रमा नेतृत्व लिन्छ भन्ने हुँदैन। लालबहादुर शास्त्री भारतमा नै उदाहरण हुन्। उनी जति साधारण परिवारबाट थिए त्यति नै सहज, साधारण र सरल जीवनशैलीका कारण चर्चित छन्।

नेपालमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र अहिलेका केपी ओली वा पुष्पकमल दाहालहरू कुनै असाधारण परिवारका होइनन्। सुशील कोइराला र डा. बाबुराम भट्टराईको पारिवारिक पृष्ठभूमि असाध्य सामान्य आर्थिक, राजनीतिक र सामाजिक रहेको छ। स्वयं शेरबहादुर देउवाको पारिवारिक अवस्था समृद्ध होइन। निर्दलीय पञ्चायतको समयमा मरीचमान सिंह श्रेष्ठ जस्ता अत्यन्त न्यून आर्थिक परिवारबाट थिए। नेपालमा त यस्ता धेरै उदाहरण छन् जो कुनै समृद्ध राजनीतिक आर्थिक पृष्ठभूमिबाट देशको नेतृत्वमा पुगेको होस्। एकपटक अमेरिकाका तत्कालीन राष्ट्रपति जिम्मीकार्टरको पत्रिका बेच्दै गरेको तस्बिर अखवारमा आएको थियो। अमेरिका जस्तो देशमा सामान्य अखबार बिक्रेता राष्ट्रपति हुनुलाई धेरैले आश्चर्यका रूपमा हेरेका थिए। पहिलो कम्युनिस्ट देश रुसका नेता भ्लादमिर इ लेनिन गरिब थिएनन्। माओ सेतुङको पारिवारिक पृष्ठभूमि मध्यमवर्गीय नै थियो। तर भियतनामका काका हो निकै गरिब परिवारका थिए।

संसारको राजनीतिक इतिहासमा यस्ता धेरै उदाहरण भेटिनसक्छन्। तर नरेन्द्र मोदी र अरुमा निकै ठूलो अन्तर छ। नरेन्द्र मोदीले आफ्नो सामान्य पारिवारिक पृष्ठभूमि लुकाएनन्। उनले पहिलो निर्वाचन सन् २०१४ का समयमा आफँैलाई चिया बोक्ने केटाका रूपमा भारतीय समाजमा परिचित गराए। संभ्रान्तहरूले उनको सकेसम्म तेजोवध गर्ने काम गरे। उनीहरूले विशाल भारतको विशाल लोकतन्त्रको नेतृत्व लिने क्षमता सामान्य मानिसमा हुनसक्नेमा निकै शंका गरे। तर भारतीय जनताले तिनै चिया बोक्दै रेल स्टेसनहरूमा आफ्ना पिताजीको सहयोग गर्ने केटालाई सत्ताको श्रीपेच जिम्मा दिए।

दोस्रोपटक फेरि तिनै चिया बोक्ने केटोले अद्वितीय जनसमर्थन लिन सफल भएको भारतको आजको अवस्था हो। विपक्षीहरूका चुनावी भाषण तथानाम गालीहरूको पर्रा सुनिन्थ्यो। बिहारकी पहिलेकी एक महिला मुख्यमन्त्रीले शब्दहरूको निकृष्टतम सीमा नाघेको सुनिन्थ्यो भने पश्चिम बंगालकी वर्तमान मुख्यमन्त्रीले समेत तथानाम गरेको सबैले सुनेका थिए। तर मोदीले ती गालीका लागि सार्वजनिकरूपमा नै गालीदाताहरूलाई धन्यवादमात्र दिएका थिएनन् ती गाली आफ्नालागि आशीर्वाद भएको अभिव्यक्ति दिन पुगेका थिए। उनले आफूलाई आफ्नो देश र जनताको चौकीदार बताउँदा विपक्षले त्यो श्रमजीवी वर्गको उपहास गर्दै चोर चौकीदारको नारा बुलन्द गरे। मोदी समर्थकहरूले समग्र भारतभर आफूलाई चौकीदार भनी घोषणा गर्ने काम गरे। सिंगो सामाजिक सञ्जालमा आफ्नो नामको अगाडिचौकीदार सुरु गराए। त्यो अभियानले मोदीलाई निम्न आर्थिक सामाजिक वर्गको समर्थन लिन सहज भयो।

भूगोलले सम्बन्धलाई जति सहज बनाएको हुन्छ त्यति नै जटिल बनाइरहेको हुन्छ। नेपालको भूगोल सहज र जटिलता बीचमा छ। भारतमा मोदीको पुनरोदयलाई नेपालले अत्यन्त स्वाभाविकरूपमा लिनुपर्छ।

मोदीले आफूलाई विशिष्ट बनाउने, विशिष्ट घोषणा गर्ने वा विशिष्ट ठान्ने प्रयास कहिल्यै पनि गरेको सुनिएन। अघि उल्लेख गरिएका नेपालका प्रधानमन्त्रीमध्ये कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाले मात्र आफूलाई विशिष्ट बनाउने कुनै प्रयास गरेका थिएनन्। मरीचमान सिंह पनि त्यही पंक्तिमा छन्। तर बाँकी सबैले आफूलाई, आफ्नो पृष्ठभूमिलाई सलक्क पखाल्दै विशिष्ट बनाउने काम गरिरहेका छन्। हिजोका दिनमा पनि विगत बिर्सेर, आफ्नो वर्गीय आधार लुकाउँदै विशिष्ट देखाउने हरसम्भव प्रयत्न भएका थिए। अहिले साम्यवादीहरूको नेतृत्व गरिरहेकाहरू त सबैभन्दा विशिष्ट घोषणा नै गर्न सक्रिय देखिन्छन्। आफ्नो विगत लुकाउने प्रयासस्वरूप श्रीसम्पत्ति जोहो गर्ने, थप गर्ने, शक्ति बिस्तार गर्ने, अरु नागरिकलाई हियाउने, उपेक्षा गर्ने, अपमानित गर्ने अनेक कुटिल कार्य वर्तमानको यथार्थता भएको छ।

असल कुरा जोसँग सिक्दा पनि हुन्छ। मोदीले जनतासँग सिधा सम्पर्क गरेका देखिन्छ, सुनिन्छ। उनी सडकमा नागरिकसँग हात मिलाउँदै हिँडेका दृश्य सञ्चारमाध्यममा आइरहेका छन्। जोगीको पाउदेखि श्रमजीवी मजदूरको पाउ धुने, पखाल्नेसम्मका काम उनी गरिरहेका हुनछन् र यसलाई उनी लुकाउँदैनन्। आफूलाई सर्वसाधारण भएको र सदा सर्वसाधारण, विनम्र भएर नै सत्ता चलाउने सन्देश उनी निरन्तर दिइरहेका छन्। करिब डेढ अरब जनताको प्रतिनिधि भएर पनि उनमा कुनै घमण्ड देखिँदेैन। यस्ता गुण नेपालका राजनीतिकर्मी, सत्ताधारी वा विपक्षी कसेैमा देखिन्थ्यो भने हाम्रो लोकतन्त्रको भविष्य सुनिश्चित हुने विश्वास पलाउने थियो। तर दुर्भाग्य नेपालीले राजनीतिका खेलाडीहरूबाट सरलता, विनयशीलता र विगतको यथार्थता कतै पनि देख्न र सुन्न पाएका छैनन्।अहंकारमतिले सर्वत्र आसन जमाइरहेको छ नेपाली राजनीतिमा। आफूलाई आमनागरिक भन्दा विशिष्ट देखाउने कसरत निरन्तर छ। आफ्नो जमिन लुकाउने हरसम्भव प्रयास भइरहेका छन्। नागरिकसरह साधारण हुनु बेइमानी ठान्नेहरूको राजनीतिको रथ नेपाली भूमिको दुर्भाग्य बनिरहेको छ।

मोदी विजयले धेरै कुराको क्रमभंगता गरेको छ भारतीय राजनीतिमा। पहिलो कुरा, करिब सात दशकदेखि यो वा त्यो रूपमा स्थापित पारिवारिक राजनीतिक वर्चस्वलाई भताभुंग बनाइदिएको छ। नेहरु वा इन्दिरा गान्धीको परिवारमा जन्मनेहरू नेहरु वा इन्दिरा गान्धी हुँदैनन् भन्ने सिद्ध गरेको छ। एक समयको नेतृत्व सदाकालका लागि मान्य हुनुपर्छ र हुन्छ भन्ने धारणामा बिराम लगाइदिएको छ। अमेठीबाट राहुल गान्धीको पराजय यसको खास उदाहरण हो। दोस्रो जातीय र  क्षेत्रीय राजनीतिप्रति बिस्तार विकर्षण उत्पन्न गरेको छ। उत्तरप्रदेशमा भएको दलित र यादवहरूको गठबन्धन छिन्नभिन्न गराइदिए मतदाताले। बिहारमा लालु परिवारको वर्चस्वको अन्त्य गराइदिए र बंगालमा ममता वनर्जीको अहंकारको पारो निकै चिसो बनाइदिए। अन्यत्र पनि यस्ता उदाहरण देखिए।

सबैभन्दा महत्वपूर्ण भयो भारतबाट बिस्तारै कम्युनिस्ट पार्टीहरूको विलय। गरिबश्रमजीवीका नाउँमा निरन्तर जनतालाई दिगभ्रमित तुल्याउँदै शासनारुढ कम्युनिस्टहरूको पत्तासाफ भयो भारतीय राजनीतिमा। हिंसात्मक वा अहिंसात्मक दुवैखाले राजनीतिमा कम्युनिस्टहरू भारतमा असफल भएका छन्। उनीहरूको पुनरागमनकालागि लोकतन्त्रका समग्र मूल्यहरूको सम्मानका लागि त्यस मूल्यका विकल्पहरूको परिकल्पना परित्याग गर्नुपर्ने भएको छ। भारतमा मोदीको यो विजयले भारतीय राजनीतिमा पूर्वीय दर्शन र संस्कृतिको पुनर्जागरणको सन्देश र संकेत दिएको छ। भोलिका दिनमा मोदी नेतृत्वले गर्ने जनसेवा र भारतीय जनताको राष्ट्रियताप्रतिको तीव्र संवेगलाई सुरक्षित गर्नसक्यो भने यो संकेत र सन्देश व्यापक हुनसक्ने अनुमान गरिरहनुपर्दैन।

भारतमा नरेन्द्र मोदीको शक्तिशाली पुनरोदयलाई नेपालमा अनेक शब्दमा अनुमान गर्न लागिएको छ। पहिलो चरणमा नेपाली जनताका माझ मोदीको लोकप्रियता कुनै पनि समकालीन नेपाली नेताभन्दा निकै माथि देखिएको थियो। तर मधेस तराईका केही अत्यन्त स्वार्थी नेताको लहैलहैमा लागेर २०७२ सालमा जब सीमा अवरुद्ध गर्दै अघोषितरूपमा भारतीय पक्षबाट नाकाबन्दी लगाउने काम भयो त्यसपछि नेपालीहरू क्रुद्ध र चिन्तित हुन पुगे। पहिले कहिल्यै पनि सन्देह नगरिएको तराई मधेस क्षेत्रमाथि यसपछि अनावश्यक शंका उत्पन्न हुन थाले। नाकाबन्दी हुनुपहिले विदेश सचिवका रूपमा नेपालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामाथि दबाब दिन आएका एस जयशंकरलाई मोदी मन्त्रिमण्डलमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएपछि नेपालीका मनमा चिसो पसेको छ।

सरकारी तहमा त त्यसबेला लागेको घाउमा खाटा बसिसकेका छन्। जनकपुरमा भारतीय सुरक्षाकर्मीलाई हतियारसाथ कम्ब्याट डे«समा नै पेट्रोलिङ गराउने सरकारी कृत्यदेखि अरुण परियोजनाको उद्घाटन संयुक्तरूपमा भएपछिको क्षणदेखि नै सरकारी तहका सबै चिसोपन मेटिएको अनुभव गरिएको थियो। भारतसँग नेपालको निर्भरता जतिखेर र जहिले पनि बनिरहनुपर्छ भन्ने सोचले उत्पन्न परिस्थितिबाट बाहिर निस्कन नेपाली राजनीति निरन्तर असफल भइरहेको छ। बाहिर निस्कने नाउँमा अराजक, उत्तेजक र असम्भव परिस्थितिहरू सिर्जना गर्ने काम पनि नदेखिएका होइनन्। यथार्थमा भारतीय निर्भरता घटाउन पनि भारतसँगनै नेपालले सहकार्य गर्दै, सहयोगी र सकारात्मक सोचकासाथ अघि बढ्नु अपरिहार्य छ। नेपाल १९५० को अवस्थामा छैन भन्ने सत्य भारतले पनि बुझ्नैपर्ने हुन्छ भने नेपालले साम्यवादी राजनीतिकासाथ विकासको उत्कर्ष छुन लागेको विशाल चीन र विशाल लोकतन्त्रको छातामा विकासको यात्रा तीव्र बनाउँदै अघि बढेको भारतका बीचमा रहेको तथ्य भुल्नुहुँदैन।

भूगोलले सम्बन्धलाई जति सहज बनाएको हुन्छ त्यति नै जटिल बनाइरहेको हुन्छ। नेपालको भूगोल सहज र जटिलताको बीचमा छ। भारतमा मोदीको पुनरोदयलाई नेपालले अत्यन्त स्वाभाविकरूपमा लिनुपर्छ। उनलाई पहिलोपटक जनकपुरधाम, पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनी करिडोरको सन्देश छर्दै हिँड्ने बाटोमा अवरोध खडा नगरिएको भए शायद पछिल्ला चरणका अविश्वास उत्पन्न हुने थिएनन्। जनकपुर यात्रामा पहिलोपटक जसरी अवरोध खडा गरियो त्यसले नेपालप्रति मोदीलाई कठोर बन्न मार्ग बनायो कि भन्नेबारे हामीले सोच्नुपर्छ। त्यसपछि उनले जनकपुर, पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनी करिडोरका सन्देश प्रवाहित गरेका सुनिँदेैन। यसबेला यतिमात्र भनौँ, मोदीको पुनरोदयलाई नेपाली जनताले चुनौती र अवसर दुवैरूपमा बुझ्नु उपयुक्त होला।

प्रकाशित: २२ जेष्ठ २०७६ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App