४ वैशाख २०८१ मंगलबार
अन्य

रगत बग्ने फूल

नामै काफी छ, ‘ब्लिडिङ हर्ट’। अर्थात् मुटुबाट झरेको रगत। ‘ब्लिडिङ हर्ट’ लोकप्रिय फूल हो। मुटु आकारको देखिने फूलबाट बाहिर निस्किएको जिब्रो वा घण्टी हेर्दा लाग्छ, ‘मुटुबाट रगत बगिरहेको छ’। हो,‘ब्लिडिङ हर्ट’ फुल्दा मुटुबाट रगत बगेको जस्तै देखिन्छ।

यो फूलको आकार झल्यास्स हेर्दा मुटुआकारबाट रगत बगिरहेको जस्तो देखिन्छ। त्यसैले पनि यो फूल नेपालका विशेषगरी सहरी क्षेत्रमा लोकप्रिय छ। अझ भनौँ काठमाडौँमा त नियमित फूल रोप्ने घरमा ‘ब्लिडिङ हर्ट’  प्रायः रोपेकै देखिन्छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ पनि ‘ब्लिडिङ हर्ट’लोकप्रिय फूल भएको बताउँछन्। अध्यक्ष श्रेष्ठले सामान्यतः ‘ब्लिडिङ हर्ट’का दुई किसिमका रंग लोकप्रिय भएको बताए। एउटा प्याजी रंगको फूलमा भित्र सेतो रंगको जिब्रो निस्किएको हुन्छ। सेतो रंगको जिब्रोको टुप्पामा रातो देखिन्छ। जुन मुटुबाट रगत बगेको जस्तो देखिन्छ भने अर्को सेतो मुटु आकारको रंगमा रातो जिब्रो निस्कन्छ। यो पनि मुटु आकारबाट रगत बगिरहेको जस्तो देखिन्छ। पूरै रातै रंग भएको ‘ब्लिडिङ हर्ट’ पनि पाइन्छ। जुन रंग मुटुबाट रगत झरिरहेको जस्तो देखिन्छ। तर यो किसिमको रंगको ‘ब्लिडिङ हर्ट’  भने बजारमा कमै देखिन्छ। यी सबै रंगका फूल आकर्षक देखिन्छन्। ग्राहकको सबै भन्दा धेरै आकर्षणको केन्द्रमा भने सेतो आकारमा रातो जिब्रो निस्किएको ‘ब्लिडिङ हर्ट’ पर्छ।

गमलामा फुलाउने कि लहरा छोड्ने ?
‘ब्लिडिङ हर्ट’ लहरे किसिमको फूल हो। यो फूल घर तथा गार्डेनमा रोपेर लहरामा पनि फुलाउन सकिन्छ। १५÷२० फिटको लम्बाइ जाने भएकाले जमिनमा रोपेर लहरा पठाउन सकिने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। घरको कौसी तथा अग्लो ठाउँमा रोपेर लहरा भुइँतिर खसाल्न पनि सकिन्छ। यसरी खसालेर फुलाउँदा पनि यो फूल सुन्दर तरिकाले सजाउन सकिने अध्यक्ष श्रेष्ठले बताए।

‘ब्लिडिङ हर्ट’लाई आवश्यकताअनुसारको बोटमा फूलाउन सकिन्छ। गमलामा रोपेर झ्याम्म पारेर होचोमा फुलाउँदा अत्यन्तै मनमोहक देखिने वनस्पति विज्ञ कुमार केसीले बताए। ‘घरको छत वा कौसीमा गमलामा लहरै ८÷१० वटा रोप्दा घरै उज्यालो देखिन्छ,’ केसीले भने। होचोमा फुलाउँदा बाक्लो झ्याम्म फुल्छ। यो फूल घर मात्रै हैन विवाहको कार, भेन्यु तथा घडामा सजाउन पनि सकिन्छ। यस फूललाई विशेषगरी गर्मी सिजनमा फुलाउन सकिन्छ। यो फूलका लागि कौसी न्यानो किसिमको हुनुपर्ने हर्टिकल्चर विशेषज्ञको सुझाव छ। कौसीबाट फूलको लहरा तल झारेर ‘ब्लिडिङ हर्ट’ धेरै वटा मुटुबाट रगत झरिरहेको जस्तो देखिन्छ। जसले मनै कटक्क हुन्छ।  

न्यानो हावापानी उपयुक्त
यो फूल सामान्यतः जाडो मौसममा फूल्दैन। सामान्यतः चैतको अन्त्यदेखि फुल्न सुरु भएर मंसिरसम्म फुल्ने जोरपाटीस्थित ओम नर्सरीका प्रोपाइटर धनप्रसाद घिमिरेले बताए।

जाडो मौसममा यो फूलका पात झरेर मुडुलै जस्तो हुन्छ अनि कसैकसैलाई यो बोट म¥यो भन्ने लाग्छ र उखेलेर फालिदिन्छन्। तर त्यसो गर्न नहुने ओम नर्सरीका घिमिरेको सुझाव छ। जाडो मौसममा छाँटकाँट गरेर न्यानो ठाउँमा राख्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ। छाँटकाँट गरेर जाडो मौसममा मल हाल्नु पर्छ। पीना, कम्पोस्ट, गाईको गोबर कम्तिमा छ महिना पुरानो हाल्न सकिन्छ। गर्मी लागेपछि फुल्न थाल्छ। धेरै चिसो भएको खण्डमा बोटै मर्न सक्छ। त्यसैले जाडो मौसममा घाम लाग्ने ठाउँमा राख्नु पर्छ। शीत पर्ने ठाउँमा राख्नु हुन्न। जाडो मौसममा दैनिक पानी दिँदा जरा कुहिएर मर्ने जोखिम हुनाले धेरै चिसो नहुने किसिमले पानी दिनु पर्छ। बिरुवाको माटो खोतल्दा माटो मुनि दुई इन्चभन्दा तल चिसो भए पानी दिनु पर्दैन। जमिनमा रोप्दा पनि चिसोभन्दा न्यानो ठाउँमै रोप्नु उपयुक्त हुन्छ। यो बहुवर्षीय फूल भएकाले चिसोबाट जोगाए वर्षौँ फुलाउन सकिन्छ।

काठमाडौँ उपत्यकामा ‘ब्लिडिङ हर्ट’ राम्रो फुलाउन सकिने वनस्पति विज्ञ केसीले बताए। हिमाली भेगमा भने चिसोका कारण यो फूल फुलाउन मुस्किल पर्छ। तराई क्षेत्रमा राम्रो फुलाउन सकिने घिमिरेले बताए। न्यानो ठाउँ चाहिने भएकाले तराई क्षेत्रमा राम्रो फुलाउन सकिने उनको तर्क छ। घिमिरेले भने, ‘धेरै गर्मी हुने ठाउँमा भने यो फूल मर्न सक्छ।’ सामान्यतः २० देखि ३५ डिग्रिको तापक्रममा ‘ब्लिडिङ हर्ट’ रामैसँग फुलाउन सकिने अध्यक्ष श्रेष्ठ बताउँछन्।

जस्तो फूल उस्तै मूल्य
काठमाडौँ उपत्यकालगायतका सहरी क्षेत्रमा ‘ब्लिडिङ हर्ट’ फूलको बिरुवा किन्न पाइन्छ। प्रतिबोट १५० देखि ५०० सम्म पर्ने नर्सरी व्यवसायी बताउँछन्। प्लास्टिकको तुलनामा गमलामा रोपेको बरुवा महँगो पर्छ। फूलको बिरुवा जति राम्रो फुल्यो, ठूलो भयो त्यति नै त्यसको मूल्य पनि बढी हुन्छ। यसको मूल्य गमलाको साइजमा पनि भर पर्छ।

कटिङबाट नयाँ बिरुवा
यति लोकप्रिय ‘ब्लिडिङ हर्ट’ फूल नेपालको स्थानीय फूल नभएको हर्टिकल्चर विशेषज्ञ बताउँछन्। श्रेष्ठले ‘ब्लिडिङ हर्ट’ विदेशबाट आयातित भएको बताए। विशेषगरी भारतबाट ‘ब्लिडिङ हर्ट’ आयात हुन्छ। यो फूलको हाँगा काटेर भुइँमा गाड्दा नयाँ बिरुवा बनाउन सकिन्छ। माघको अन्त्यमा काटेर भुइँमा नयाँ बिरुवाका लागि गाड्नु उपयुक्त हुन्छ। असार—साउनमा पनि नयाँ बिरुवा बनाउन सकिन्छ।

रोपिराखेको ‘ब्लिडिङ हर्ट’ को बिरुवालाई जमिनमा सुताएर बीरुवाको आँख्लो (गाँठो) मा हल्का खुर्किएर खुर्किएको भागमा जमिनको माटोले छोपिदिँदा पनि बिरुवा उत्पादन गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए। नयाँ बिरुवा उत्पादनको यो विधि अपनाउँदा बीरुवाको बीच वा टुप्पाको भागको आँख्ला खुर्किनु उपयुक्त हुन्छ।

एक भाग मधुमास (पिसेको नरिवलको जट्टा) मा कटिङ राखेर पनि ‘ब्लिडिङ हर्ट’ को बिरुवा बनाउन सकिने हर्टिकल्चर बिशेषज्ञले सुझाए।
व्यावसायिक रुपमा गरेका नर्सरीमा उत्पादन गरेका बिरुवा जुनसुकै सिजनमा रोप्न सकिन्छ। किनकि नर्सरीमा सेट भएका बिरुवा पाइन्छन्, जसका कारण बगैँचामा ल्याएर रोप्दा मर्ने जोखिम कमै हुन्छ। सामान्यतः जाडो सिजनमा भने बिरुवाका पत्ता झर्ने भएकाले यो सिजनमा एक ठाउँबाट अर्को ठाउँमा नसारेकै राम्रो।

जंगली फूल शौखिनको गार्डेनमा
यो फूल नेपालमा मात्रै हैन विश्वका धेरै बजारमा लोकप्रिय बन्दै गएको पाइन्छ।  जंगली फूल ‘ब्लिडिङ हर्ट’ लाई गार्डेनमा रोपेर सजाउने कलाको विकास भएसँगै यस फूलले लोकप्रियता पाएको हो। जंगली फूल शौखिनहरुको गार्डेनमा लोभलाग्दो गरी सजिँदै आएको छ। यो फूल सजिनेक्रम जारी भएसँग नेपालमा पनि यसको लोकप्रियता रामै्र छ।

‘ब्लिडिङ हर्ट’ शताब्दिऔँदेखि चाइना, कोरिया तथा जापानमा रोपेर घर तथा गार्डेन सजाउँदै आएको फूल हो। सन् १७४० मा जर्मन बोटानिस्ट जे.जि.ग्मेलिनले पहिलो पटक ल्याएर घरेलु फूलका रुपमा रसियाको बोटानिकल गार्डेनमा रोपेका थिए, जहाँ उनी काम गर्थे। १८४७ मा यो फूल युरोपमा रोप्न थालिएको पाइन्छ। मुटुको आकार जस्तो देखिने भएकाले ‘भ्यालेन्टाइन डे’ को अवसरमा उपहारको रुपमा ‘ब्लिडिङ हर्ट’ अमेरिकामा पुगेको पाइन्छ। यो फूल हजारौँ वर्षअगाडि एसियाको जंगलमा फुलेको पाइन्छ। यो केही शताब्दीअघि विकास भएको पाइन्छ। पश्चिमा संस्कृृतिमा भने सन् १८०० ताका पुगेको देखिन्छ।

यस फूलले व्यक्तिलाई आनन्ददायी बनाउँछ नै भावनात्मक पनि बनाउँछ। किनकि मुटुबाट रगत झरेको जस्तो देखिन्छ। ‘ब्लिडिङ हर्ट’ फूलेको देख्दा नयाँ किसिमको अनुभूतिका साथै सिर्जनशीलताको समेत विकास हुने तर्क फूलका शौखिनले गरेको पाइन्छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App