coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सार्वजनिक जग्गामा अवैध बालुवा खानी

बासिङ व्यवसायीले अतिक्रमणगरी अबैध ढंगले बालुवा उत्खनन् गरेको सुयल डाँडाको सार्वजनिक जग्गा। तस्बिर: श्याम राई

काठमाडौं - शंखरापुर नगरपालिकाको ऐतिहासिक ठाउँ मानिने साँखुमा व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गरेर अनधिकृत रूपले बालुवा उत्खनन् गरेको पाइएको छ। नगरपालिका वडा ९ इन्द्रायणी सार्वजनिक सुयल डाँडामा पहुँचवाला व्यवसायीले अतिक्रमण गरेर बालुवा उत्खनन् गरेका हुन्। बालुवा उत्खनन् गरेर डाँडा मासेपछि त्यहाँ रहेको गोरखकाली मन्दिर जोखिममा परेको छ। सो डाँडामा अहिले पनि डोजर लगाएर बालुवा उत्खनन् गरे पनि नगरपालिका र वडा कार्यालय मौन रहेको स्थानीय बताउँछन्। उत्खनन्मा नगरप्रमुखकै संलग्नता रहेको स्थानीयको आरोप छ।

स्थानीय तथा समाजसेवी जयराम पुडासैनीले ८४ रोपनी डाँडा भएको सो सार्वजनिक जग्गामा नगरप्रमुखकै संलग्नतामा व्यवसायीले करिब ३० रोपनी जग्गा अतिक्रमण गरिसकेको बताए। ‘मेयरकै संलग्नतामा सार्वजनिक जग्गाको डिस्कोको करिब २० रोपनी जग्गा बासिङ व्यवसायीले बालुवा निकालेर सकिसकेका छन्,’ उनले भने, ‘अहिले पनि स्काभेटर ल्याएर बालुवा उत्खनन् भइरहेको छ। पटकपटक नगरपालिकामा जानकारी गराउँदा पनि रोक्ने पहल गरिएको छैन। यो डाँडा मात्र नभई शंखरापुर नगरपालिमा पुरै वासिङ व्यवसायीले दोहन गरिरहेका छन।’

उत्खनन्मा वडा र नगरपालिकाकै कर्मचारी संलग्न हुने गरेको उनले बताए। भूमरी चोकलगायतका ठाउँका करिब एक हजार घर उच्च जोखिममा पर्नुका साथै पानीको हाहाकार हुँदै गएको उनको गुनासो छ। ‘पहुचवाला वासिङ व्यवसायीले बालुवा उत्खनन् गर्दा पानीको हाहाकार भएको छ। घर जोखिममा परेका छन्,’ उनले भने, ‘सबै पानीको स्रोत सुकिसकेको छ। पहिले यसरी दोहन हुने गरेको थिएन। स्थानीय चुनावपछि दोहन बढ्दा पर्यटकीय क्षेत्र साँखु कुरुप बनेको छ।’

सार्वजनिक वनमा समेत वासिङ व्यवसायीहरुले अतिक्रण गरेपछि जडिबुटीको नास, वन्यजन्तुलाई असरलगायत समस्या निम्तिएकोे उनी बताउँछन्। उनका अनुसार खुलालटारमा भूकम्पले भत्काएको मनमोहन प्रतिष्ठान चौरको करिब ८० रोपनी जग्गा पनि अतिक्रमण गरिसकेका छन। ‘यहाँ सेतीदेवी, सल्मुदेवी लगायत करिब १५ वटा वासिङ व्यवसायी छन,’ उनले भने, ‘म जग्गा दोहन रोक्न पहल गर्दैछु तर यहाँ व्यवसायी र जनप्रतिनिधि मिलेर शंखरापुर ठाउँ ध्वास्त पार्न लागेका छन्। नगरपालिकाले चाहे एक घण्टामै रोक्न सक्छ। त्यसैले यो काम नगरपालिकाले तत्काल बन्द गराउनुपर्छ।’
बालुवा ढुवानी गर्ने ट्रिपरले साँखुका बाटो पनि बिगारीदिएको स्थानीय गुनासो गर्छन्। सुयल डाँडा मात्र नभई मनोहरा खोला अतिक्रमण गरी डोजर लगाइएको छ। दोहनकै क्रममा पञ्चकन्य मन्दिर भत्किएको छ।

नगरपालिकाको वडा ८ मा पर्ने मनबत्ताखोला र त्यहाँको पहाड पनि दोहन गरिएको छ। बासिङ व्यवसायीले नगरपालिकाको वडा ७, ८ र ९ मा बालुवा उत्खनन् भइरहेको छ। वासिङ व्यवसायीहरुले जनप्रतिनिधिको मिलेमतोमा साँखुमा अबैध रुपले बालुवा उत्खनन् गरेपछि खेतीयोग्य जमिनमा क्षति पु¥याएको अर्का एक स्थानीयले गुनासो गरे।

स्वाच्छ बग्ने शालीनदी पनि दैनिक धमिलो बग्दै गएको छ। पानीको पनि समस्या थपिदै गएको छ। उनका अनुसार साँखुको बज्रयोगिनी मन्दिर नै जोखिममा पारेर बालुवा उत्खनन् भइरहेको छ। साँखुमा रहेको अन्य ऐतिहासिक मन्दिरहरु पनि मासिने क्रममा छन। इतिहास बोकेको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगरी सार्वजनिक जग्गाको अतिक्रमण नरोके आन्दोलनगरी बन्द गर्ने स्थानीयको चेतावनी छ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बासिङ व्यवसायीले मापदण्ड विपरीत काम गरिरहेको पाइएकाले रोक्नलाई पहल गर्दै आएको बताए। ‘केही व्यवसायीहरुले मापदण्डबाहिर रहेर सार्वजनिक जग्गा अतिक्रमण गरेका छन,’ उनले भने, ‘नियन्त्रण गर्नको लागि बैठकमा सबैलाई माईनोट गराएको छु। मापदण्डभित्रमा काम नगरे बन्द गरिदिन्छौं।’ सुयल डाडाँको सार्वजनिक जग्गामा अतिक्रमण नगरी व्यक्तिको जग्गाबाट मात्रै बालुवा उत्खनन् गरिरहेको उनले दाबी गरे।

प्रकाशित: २२ जेष्ठ २०७६ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App