coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आमा समूह सक्रिय

नुवाकोट - विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित ‘स्वास्थ्य सुधार आमा समूह’मा ९ महिने बच्चाकी आमा अन्जु लामा आबद्ध छिन्। उनी हरेक महिना हुने समूह बैठकमा सहभागी भई आफ्नो र बच्चाको स्वास्थ्य तथा पोषणबारे छलफल गर्छिन्। बच्चा जन्मिएको २ वर्ष नहुन्जेल प्रत्येक महिना एक पटक बच्चाको तौल लिनुपर्ने रहेछ भन्ने कुरा सो समूहको बैठकबाट थाहा पाएको उनी बताउँछिन्।

‘स्वास्थ्य संस्था गई अघिल्लो महिनाको भन्दा तौलमा थपघट के भयो भन्ने जानकारी लिन्छौं। अनि समूह बैठकमा छलफल गर्छौं,’ उनले भनिन्, ‘हरेक बैठकमा स्वास्थ्य स्वयंसेविका आउनुहुन्छ। बच्चाको स्वास्थ्यमा कुनै समस्या भए सोध्छौं। त्यस्तै अर्को बच्चालाई समस्या भई ठिक भएको छ भने सम्बन्धित आमाको अनुभव पनि थाहा पाउँछौं।’

पेटमा बच्चा बसेको दिनदेखि बच्चा जन्मिएर २ वर्षसम्मको अवधिलाई हजार दिन भनिन्छ। त्यही हजार दिने आमा र बच्चाको स्वास्थ्य तथा पोषणबारे बैठकमा छलफल हुने गरेको छ। बच्चा गर्भमा बसेपछि ४, ६, ८ र ९ महिनामा स्वास्थ्य संस्था गई गर्भ जाँच गराउनुपर्ने र गर्भवती भएको ४ महिनादेखि बच्चा जन्मिएको ४५ दिनसम्म दैनिक आइरन चक्की खानुपर्ने रहेछ भन्ने कुरा पनि बैठकबाटै थाहा पाएको तादी गाउँपालिका–२ रालुकाकी सिर्जना केसीले बताइन्। ‘बच्चा, आमा र गाउँघरको सरसफाइ, खानेपानीको शुद्धीकरण विधि, बच्चालाई पोसिलो जाउलो बनाउने तरिका, साबुनपानीले हात धुने तरिका र परिवार नियोजनका साधन तथा प्रयोगबारे बैठकमा छलफल हुन्छ,’ केसीले भनिन्, ‘गाउँघरतिर छोरीलाई ५ महिनामा र छोरालाई ६ महिनामा भात खुवाउने चलन छ तर छोेराछोरी दुवैलाई ६ महिना पूरा नहुन्जेलसम्म पानी पनि नखुवाई आमाको मात्र दूध खुवाउनुपर्छ। यसले गर्दा बच्चाको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग गर्छ भनेर स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यसँग सम्बन्धित संघसस्थाका प्रतिनिधि र स्वास्थ्यकर्मी आएर भनिराख्नुहुछ।’

 जिल्लाका ८८ वटै वडाका विभिन्न टोलमा स्वास्थ्य आमा समूह गठन भएका छन्।

आमा समूहको बैठकमा बच्चाकी आमाको मात्र होइन, परिवारका अन्य सदस्यहरू पनि सहभागि हुने गरेका छन्। बैठकमा भएका छलफलले परिवारका अन्य सदस्यलाई पनि बुझाउने गरेको रालुकाकी ५७ वर्षीया अम्बिका आचार्यले बताइन्। ‘हाम्रो पालामा आफ्नो स्वास्थ्यको कुरा अरूलाई भन्न लाज लाग्थ्यो। अहिले बैठकमा सबै आमाहरू एकै ठाउँमा भेला भई स्वास्थ्यका कुरा गर्छन्। विशेष गरी बच्चालाई कुनै रोग नलागोस् भनेर सतर्क गराउँछन्,’ आचार्यले भनिन्।

जिल्लाको ८८ वटै वडाका विभिन्न टोलमा स्वास्थ्य आमा समूह गठन भएका छन्। गठन भएका आमा समूहका सदस्यलाई निरन्तर सहभागी गराउन मासिक १ सय रुपैयाँसम्म बचतसमेत गर्ने गरेका छन्। बचत गरेको रकम आमा र बच्चाको स्वाास्थ्यमा कुनै समस्या देखिएमा सहुलियत ब्याजदरमा ऋण लिएर उपचार खर्च जुटाउने गरेका छन्।

सो समूह सक्रिय बनाउन आमा र बच्चाको पोषणसँग सम्बन्धित काम गर्दै आएको सुआहाराले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सुआहाराले समूहका सदस्यहरूलाई सहभागी गराई पोसिलो खाना प्रदर्शनी तथा बनाउने विधि प्रयोगात्मक रूपमा सञ्चालन गर्दै आएको सुआहाराका पोषण अधिकृत रेखा लामाले बताइन्। ‘हामीले स्वास्थ्य स्वयंसेविकाको साथ लिएर स्वास्थ्य आमा समूहलाई सक्रिय रूपमा सञ्चालन गरिरहेका छौं। जसअन्तर्गत ‘भन्छिन् आमा’ कार्यक्रमबाट प्रसारण भएका विषयवस्तुमा आधारित भई छलफल गर्छौं। जीवनको महत्वपूर्ण क्षण भनेर गर्भवती भएको थाहा हुँदा, सुत्केरी हुँदा र बच्चाले ६ महिना पूरा गरेको समयलाई लिन्छौं। त्यो समयमा हामीले अन्डा, साबुन र बच्चालाई लुगाजस्ता वस्तु लिएर उहाँकै घरमा उत्सव मनाउँछौं,’ लामाले भनिन्, ‘गुणस्तरीय स्वास्थ्यका लागि आफ्नै पहल भनेर हजार दिनका परिवारका लागि कृषिका कार्यक्रमसँगै कुन घरमा हजार दिने आमा र बच्चा छ भनेर सामाजिक नक्सांकन गर्ने गरेका छौं।’

चार महिनामाथिका गर्भवती र सुत्केरी भएको ४५ दिन भित्रका महिलालाई नियमित आइरन चक्की खान, बच्चालाई पूर्ण स्तनपान गराउन, मासिक रूपमा तौल नाप्न, पोलियो र भिटामिन ए खुवाउने बेलालगायतलाई मध्यनजर गर्दै प्रत्येक आमाहरूको मोबाइलमा एसएमएस आउने गरेको छ।

फोटो

स्वास्थ्य आमा समूहमा छलफल गर्दै हजार दिने परिवारका सदस्यहरू।

प्रकाशित: २२ जेष्ठ २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App