८ वैशाख २०८१ शनिबार
समाज

छोराको आसमा सात छोरी

छोराको उपचार पछि कुराकानीमा ६२ बर्षिय बोगटी:डिबी /नागरिक

जुम्ला - कालिकोट तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्ला अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन्। घरनजिकैको स्कुल जाँदै गर्दा बाटोमा जंगली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी कर्णाली अस्पताल जुम्ला आइपुगे। अस्पतालमा उनले भने, ‘यो मेरो एक्लो छोरा हो। जसरी पनि बचाइदिनुुस् डाक्टर साब। यो छोरो रहेन भने म पनि रहनेछैन। छोरा जन्माउनकै लागि सात छोरी जन्माउनुप-यो।’

उनले छोराको आसमा सातओटी छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दंग परे। चिकित्सकले उपचार सुरु गरे। चिकित्सकको उपचारपछि उनका छोराको स्वास्थ्य अवस्था सुध्रँदै गइरहेको छ। ‘अहिले खेल्न र बोल्नसक्ने भएको छ,’ बोगटीले भने, ‘कर्णाली अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो। छोरो नहुँदा म पनि यो संसारमा हुन्नथें होला। छोरो बाँचेकोमा धेरै खुसी छु।’

उनका छोराको आइसियूमा उपचार भइरहेको छ। उनका अनुसार ६ वटी छोरी जन्मिसकेपछि साताैं पटक छोरा जन्मिएको हो। छोराभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे। उनले भने, ‘यो समाज छोरा जन्मेकोमा उत्सव मनाउँछ। छोरी जन्मेकोमा घृणा गर्छ। समाजकै लागि भए पनि छोरा खोजेको हुँ। छोराकै आसमा सातओटी छोरी भए। बीचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयन्त गर्दै छु।’

‘यो समाज छोरा जन्मेकोमा उत्सव मनाउँछ । छोरी जन्मँदा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ ।’

अहिले उनका ६ ओटी छोरी पोइल गइसकेका छन्। कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा रहेको उनले बताए। उनले भने, ‘समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला। छोरी भए, अर्काको घर गए, एक्लो बनाए। अहिले सहाराविहीन झैं छु।’ कर्णाली प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले छोराको आसमा सात छोरी जन्माएका उनले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको बताउँछन्। उनले भने, ‘जंगली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो। छोरो छटपटाउन थाल्यो। बाबु उपचारका लागि रोइकराई गर्न थाले। तर बिहानै निको भएर छोरो बोल्न थालेपछि मुहारमा खुसी देखियो। अस्पताल पनि उनको खुसीमा निकै सन्तुष्ट छ।’

सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवाबासी चलेको उनी बताउँछन्। ‘निको भएर घर फर्कुंला भन्ने आस थिएन,’ उनले भने, ‘अब छोरा निको भएपछि खुसी साथ घर फर्कंदै छु। छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ। अब खुसीका साथ फर्कन्छु। छोराले पुनर्जन्म पायो।’

प्रकाशित: २२ जेष्ठ २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App