८ वैशाख २०८१ शनिबार
समाज

नसर्ने कडा रोगका बिरामीलाई राहत

पनौती नगरपालिका कार्यालय

बनेपा - तीप्र सहरीकरणसँगै नसर्ने रोगबाट बिरामी हुने मानिसको संख्या पनि बढ्दो छ। यस्ता बिरामीलाई संघीय सरकारले दिने उपचार खर्चमा स्थानीय सरकारले पनि केही रकम थप गरिदिन थालेको छ।

काभ्रेको पनौती नगरपालिकाले नमुना (पाइलटिङ) का रुपमा मुटु तथा रक्तनलीको रोग, क्यान्सर, मृगौला रोग र स्पाइनल इन्जरीबाट बिरामी भएका नगरवासीलाई एक पटक १० हजार रुपैयाँ थपिदिन थालेको हो। ‘जेठ १९ गतेसम्म हामीले चारवटा नसर्ने रोगका डेढ सय बिरामीलाई १५ लाख रुपैयाँ राहतका रुपमा वितरण गरिसकेका छौं। चालु आर्थिक वर्षको बजेटमा यस्ता बिरामीहरुको संख्या १ सय ४० को अनुमान गरिएको थियो। तर, बिरामी संख्या बढ्दो छ’, नगर स्वास्थ्य शाखाकी उप–संयोजक सिर्जना चौलागाईले भनिन्।

पनौतीका अधिकांश स्वास्थ्य संस्थामा विगतमा सर्ने रोगहरुको बाहुल्य रहेकोमा तीव्र सहरीकरण र बदलिँदो खानपीनसँगै नसर्ने कडा रोगका बिरामीहरु बढ्न थालेको उनले जानकारी दिइन्। ‘चालु आर्थिक वर्षमा नगरपालिकाले चार प्रकारका कडा नसर्ने रोगका बिरामीहरुलाई रकम थपिदिएको हो। नेपाल सरकारले तोकेका सबै खालका नसर्ने कडा रोगका बिरामीहरुलाई आगामी बजेटबाट थप रकम दिनका लागि गृहकार्य सुरु गरिसकेका छौं’, चौंलागाईले थपिन्।

नसर्ने रोगका बिरामीलाई संघीय सरकारले दिने उपचार खर्चमा स्थानीय सरकारले पनि केही रकम थप गरिदिन थालेको छ।

पछिल्ला वर्षहरुमा नसर्ने कडा रोगका बिरामीहरु बढेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख शुभाकर श्रेष्ठको भनाइ छ। ‘अन्यत्रको दाँजोमा हाम्रो केन्द्रमा नसर्ने रोगहरुजस्तै डाइबिटिज र ब्लड प्रेसरको औषधिहरुको खपत ह्वात्तै बढेको छ। यसबाट पनि स्वास्थ्यक्षेत्रमा अबको लगानीका साथै जनचेतनामूलक कार्यक्रमहरु पनि नसर्ने कडा रोगहरुमै केन्द्रित हुनुपर्ने देखेका छौं’, उनले भने।

परिवारका उत्पादनशील उमेर समूहका सदस्यको अल्पायुमा हुने मृत्युले गर्दा सामाजिक तथा आर्थिक विकासमा नकारात्मक असर परिरहेको सन्दर्भ व्यक्त गर्दै वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले यी रोगहरुको उपचारका क्रममा थोरै राहत भए पनि बिरामी र परिवारलाई पुगोस् भनेर नमुनाका रुपमा रकम दिन थालिएको जानकारी उनले दिए। ‘लाखौं खर्च लाग्ने कडा रोगका बिरामीहरुलाई नगरपालिकाले दिन थालेको १० हजार रुपैयाँ ठूलो रकम नहोला। तर, बिरामीहरुको पीडामा नगरपालिका पनि सहयात्री हुँदै घाउमा मलम लगाउन खोजेको अनुभूति गराउन थालेका हौं’, उनले भने।

नसर्ने कडा रोगका कारण विशेष गरी ३० देखि ७० वर्ष उमेर समूहका मानिसको मृत्यु भइरहेको सन्दर्भमा पनौती नगरपालिकाले आगामी बजेटबाट यिनै उमेर समूहलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रममा जोड दिने भएको छ। ‘नसर्ने कडा रोगहरुको प्रमुख कारकका रुपमा हामीहरुले जीवनशैलीलाई बदल्ने नाममा गरेको खेलाँचीलाई लिएका छौं। त्यसैले विभिन्न संस्थाहरुको साझेदारीमा नगरपालिकाले आगामी वर्षका लागि स्वस्थ जीवनशैली प्रपद्र्धनलाई जोड दिने नीति तथा कार्यक्रमहरु ल्याउँदैछ’, नगर प्रमुख भीम न्यौपानेले भने।

विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा प्रकाशन गरेको नेपाल कन्ट्री प्रोफाइलअनुसार सो वर्षको कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग थियो। १ करोड ७९ लाखको मृत्यु मुटु तथा रक्तनलीको रोगबाट भएको थियो। यो नसर्ने रोगबाट हुने कुल मृत्य संख्याको करिब २२ प्रतिशत हुन आउँछ। यस्तै, ९० लाख क्यान्सर, ३९ लाख श्वासप्रश्वास र १६ लाख मधुमेहबाट मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनको ६५ औं महासभामा सदस्य राष्ट्रले नसर्ने रोगका कारणले हुने अल्पायु मृत्युलाई सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ।

स्वास्थ्य संस्थाको सामाजिक परीक्षण

पनौती नगरपालिकाले नगरक्षेत्रभित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा आमनगरवासीको पहु“च र संलग्नतालाई अभिवृद्धि गर्ने उद्देश्यले तेस्रो पक्षको संलग्नतामा सामाजिक परीक्षण प्रक्रिया अघि बढाएको छ। यसै अनुरुप मंगलबार जिल्लाकै पुरानो खोपासी प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण कार्यक्रमअन्तर्गत आमभेला गरिएको छ।

तत्कालीन काभ्रेको निर्वाचन क्षेत्र नं ३ का सेवाग्राहीहरु लक्षित गर्दै जाइकाको सहयोगमा केन्द्रको स्थापना भएको हो। अघिल्लो वर्षभरिको दाँजोमा चालु वर्षको ८ महिनामा सेवा लिन आउनेहरुको संख्या ह्वात्तै बढेको केन्द्र इन्चार्ज सुभाकर श्रेष्ठले जानकारी दिए, ‘अघिल्लो आर्थिक वर्षमा महिला ४ हजार १ सय ६२ र पुरुष २ हजार एक सय ९ गरी ६ हजार २ सय ७१ जनाले सेवा लिएकोमा चालु वर्षको दोस्रो चौमासिकसम्ममा महिला ४ हजार ३ सय १२ जना र पुरुष २ हजार ३ सय २५ जना गरी ६ हजार ६ सय ३७ जनाले सेवा लिइसकेका छन्। अन्तिम चौमासिकमा पनि सेवाग्राहीहरुको संख्या बढेको छ। जनप्रतिनिधिहरुले केन्द्रमा पाउने सुविधाबारेमा नगरवासीहरुलाई सुसूचित गरिदिन सकेको खण्डमा मध्यम तथा निम्नवर्गका सेवाग्राहीले बढी सुविधा पाउँथे’, उनले थपे।

पछिल्ला वर्षहरुमा सरकारी स्वास्थ्य सेवा प्रदायकहरुलाई छाडेर नगरवासीहरु निजीमा आकर्षित हुँदै गएको केन्द्रको व्यवस्थापन समिति अध्यक्ष एवं पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीको भनाई छ, ‘एउटा अस्पतालमा हुने सुविधा यहाँ हुँदाहुँदै पनि यसको सामाजिक बजारीकरण नहुँदा सेवाग्राहीहरु आकर्षित नभएको पायौं। अब हामी जनप्रतिनिधिहरु पनि केन्द्रको सेवाबारे प्रचारप्रसारमा जुट्छौं’, उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २२ जेष्ठ २०७६ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App