coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर

काठमाडौं - विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने लम्बोदर न्यौपानेलाई ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश गरेको छ। विशेष अदालतबाट आदेश भएको एक घण्टाभित्रै न्यौपानेले प्राइम बैंकबाट ७८ लाख रुपैयाँ बैंक ग्यारेन्टी धरौटी बुझाएर तारेखमा बसेका हुन्। न्यौपाने नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका सञ्चालक समिति अध्यक्ष हुन्।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि न्यौपानेलाई मंगलबार धरौटी तिरी तारेखमा बस्ने आदेश गरेको हो। २० दिनअघि राजनारायण पाठकलाई पनि अदालतलाई ७८ लाख धरौटी बुझाउन आदेश गरेको थियो। पाठकले पनि अदालतको आदेश भएको एक घण्टामै ७८ लाख रुपैयाँ बुझाएर धरौटीमा बसेका थिए।

अदालतले मागेबमोजिमको रकम तुरुन्तै बुझाएर धरौटीमा छुटेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए। ‘न्यौपानेलाई रिसवत घुस मुद्दामा ७८ लाख रुपैयाँ धरौटी माग भएको थियो। उनले धरौटी बुझाएका छन्,’ प्रवक्ता पाण्डेयले भने। न्यौपानेले पाठकलाई मुद्दा मिलाउन भन्दै घुस रकम बुझाएको सार्वजनिक भएपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो। अख्तियारले आफ्नै आयुक्त पाठक र न्यौपाने दुवैजनालाई प्रतिवादी बनाई प्रतिव्यक्ति ७८ लाख रुपैयाँ बिगो माग गर्दै चैत १२ मा मुद्दा दर्ता गरेको थियो।

अख्तियारले घुसमा संलग्न घुस लिने र दिने दुवैजनालाई मुद्दा चलाएको थियो। अख्तियारले मागदाबी गरे अनुसारकै रकम अदालतले धरौटी मागेको हो। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँगबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको दाबी गरेका थिए। २०७४ भदौमा कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेबाट दुईपटक गरी पाठकले रकम लिएको आरोप लगाइएको थियो।

कलेज सञ्चालकहरूमा विवाद भएपछि दुई गुटमा बाँडिएका थिए। प्राध्यापक दीपक भट्टराई, पूर्व उद्योगमन्त्री रहेका हरिप्रसाद पाण्डे एउटा गुटमा छन्। कलेजका सञ्चालक भट्टराई २०५१ सालदेखि २०६७ सम्म प्रिन्सिपल भएर काम गरेका उनले जग्गा र शेयर आफ्नो बनाउन अनेक प्रयासमा थिए।

त्यसैगरी कलेज सञ्चालक लम्बोदर न्यौपाने, इन्जिनियर लवराज भट्टराई, रामरत्न उपाध्याय, सूर्यबहादुर केसी, उपेन्द्र गौतम अर्को गुटमा देखिएको थियो। कलेजको नाममा ३६ रोपनी जग्गा रहेको थियो। तत्कालीन चाँगुनारायण गाविसले २०५६ साल पुस १५ मा १७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिएको थियो।

इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पति हड्प्ने विषयमा देखिएको विवादमा अख्तियारका आयुक्त पाठकले घुस लिएको सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। पाठकलाई न्यौपानेले अर्को व्यक्ति मार्फत घुस लिएको अडियो, भिडियो सार्वजनिक भएपछि मुद्दा चलाउन अख्तियारमै नैतिक दबाब परेको थियो।

प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले रकम उठाएर ३५ लाख रुपैयाँमा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ कलेज स्थापना भएको थियो। २०५१ साल असोज ९ मा त्रिभुवन विश्वविद्यालयबाट कलेजले सम्बन्धन पाए पनि हाल पोखरा विश्वविद्यालयको सम्बन्धनमा छ।

प्रकाशित: २२ जेष्ठ २०७६ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App