coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लव कार्यकर्ता खोज्न डिएसपी नै फिल्डमा

काठमाडौं - पूर्वका चार जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि बढेको सूचनाको आधारमा डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका छन्। हातहतियारसहित विप्लव समूहका कार्यकर्ता जिल्लाका विभिन्न भागमा गतिविधि गरिरहेको सूचना पाएपछि प्रदेश १ प्रहरी कार्यालयको आदेशअनुसार डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका हुन्। भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्बुका प्रहरी प्रमुख आफैं विप्लवका कार्यकर्ता खोज्न खटिएका हुन्। भोजपुरका केशवकुमार थेवे, संखुवासभाका मीनबहादुर लामा, सोलुका शालिकराम शर्मा, खोटाङका राजकुमार केसी आफैं फिल्डमा छन्।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख केदार रिजालले ती जिल्लामा विप्लव समूहको गतिविधि बढेका कारण जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई नै फिल्डमा खटिन आदेश दिएका थिए। उनीहरूसहित सशस्त्र प्रहरीको एक समूह पनि खटिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा गस्ती खटिएको हो। जिल्लास्थित एउटा गाउँपालिमा कम्तीमा चारदेखि पाँच दिनसम्म बिताउने गरेका छन् भने एकआपसमा जोडिने जिल्लाको सीमाक्षेत्रमा उनीहरूको गस्ती बढी हुने गरेको छ। खोटाङ, सोलु, भोजपुर जिल्लाको सीमामा संयुक्त गस्ती खटिएको छ। त्यस्तै संखुवासभा, भोजपुर र सोलुको सीमाक्षेत्रमा पनि तीन जिल्लाका संयुक्त सुरक्षा गस्ती खटिएको छ।

प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदार रिजालले पनि ती जिल्लाका डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटाइएको बताए। उनका अनुसार शंकास्पद मानिसको गतिविधि बढेको स्थानीय व्यक्तिबाट आएको सूचनालाई ध्यान दिएर प्रहरी खटाइएको हो। ‘आवश्यकता अनुसार डिएसपी मात्रै होइन, प्रदेश प्रहरी प्रमुखनै फिल्डमा खटिनेछ,’ उनले भने। विप्लव समूहले पूर्वाञ्चल ब्युरो प्रमुख परिवर्तन गरेसँगै उनीहरूको गतिविधि बढेको सूचना सुरक्षा निकायमा पुगेको थियो। हातहतियारसहित विप्लवका कार्यकर्ता पूर्व गएको सूचना यसअघि नै प्रहरीमा आएको थियो। त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘केही समयअघिदेखि पूर्वका केही जिल्लामा उनीहरूको गतिविधि बढिरहेको थियो, त्यसकारण थप मद्दती फौजसहित गस्ती परिचालन भैरहेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। सोमबार बिहान पनि सोलुखुम्बुको छेस्काममा प्रहरी चौकीमाथि असफल आक्रमणको सूचना आएपछि गृह मन्त्रालयले तत्कालै ३१ जनालाई सोलु पठाएको थियो। तर स्थानीय प्रहरी र गस्तीमा गएको प्रहरीले दिएको सूचना गलत भएपछि केन्द्रीय प्रहरीले त्यसको जबाफ दिनुपरेको थियो।

‘सोलुको छेस्काममा चौकी आक्रमण हुन खोजेको भन्ने हल्ला मात्रै हो, त्यो सही थिएन। सोमबार बिहान धेरै हल्ला भयो, यसले सुरक्षाकर्मीको मनोबल गिराउने काम मात्रै ग¥यो,’ प्रदेश प्रहरी प्रमुख डिआइजी रिजालले भने। उनका अनुसार विगत एक हप्तादेखि नै पूर्वका चार जिल्लामा सुरक्षा गस्ती बढाइएको थियो। ‘जिल्लास्थित डिएसपी नै गस्तीमा खटिएका छन्। उनीहरूको रिपोर्ट मैले दिनदिनै लिइरहेको छु तर पनि चौकी आक्रमण असफल प्रयास भएको हल्ला गरियो,’ डिआइजी रिजालले भने। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी सुरज श्रेष्ठले पनि एक हप्ताअघिबाटै पूर्वमा सशस्त्र प्रहरी गस्तीमा खटिएको बताए। उनका अनुसार जिल्ला सुरक्षा समितिले गरेको निर्णयअनुसार गस्तीमा सशस्त्र प्रहरी खटिएको छ।

भोजपुरमा जेठ ७ गते प्रहरीले विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेलाई गोली प्रहार गरी पक्राउ गरेको थियो। उनलाई उपचारका लागि धरान ल्याउदा ल्याउदै मृत्यु भएपछि त्यसक्षेत्रमा सो समूहको गतिविधि बढेको सुरक्षा निकायको विश्लेषण छ। भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली प्रहार गरेको थियो। सुरक्षा स्रोतका अनुसार पूर्वका चार जिल्लामा उनीहरूले प्लाटुन नै खडा गरे तालिम दिने गरेको सूचना प्राप्त भएपछि प्रहरी सुरक्षा गस्तीमा निस्केको थियो।

सोलुको छेस्काम र त्यसआसपासका क्षेत्रमा पनि सो समूहका गतिविधि बढेको सुरक्षा निकायमा जानकारी आएको थियो। सोहीअनुसार सुरक्षा टोली गस्ती गर्दै गुँदेल पुगेको थियो। गुँदेल पुगेकै टोलीले बाटो खन्ने मजदुरहरू टर्च बालेर हिँडेको देखेपछि विप्लव कार्यकर्ता भएको आंशका गरेको थियो। छेस्काम घर भएका बाटो खन्ने मजदुर घर फर्कदा गँदेलमा रहेका सुरक्षाकर्मीले उनीहरुको पहिचान नगरी विप्लव कार्यकर्ता भएको जानकारी दिएका थिए। त्यसको आधारमा सोमबार बिहान छेस्काम प्रहरी चौकी आक्रमण प्रयास भएको हल्ला फैलिएको थियो। प्रदेश १ प्रहरी कार्यालयका अनुसार अहिले पूर्वका केही जिल्लामा नियमित संयुक्त सुरक्षा गस्ती चलिरहेको छ। केही दिनअघि सरुवा भएका तर सरुवा भएको क्षेत्रमा नगएका डिएसपीकै कमाण्डमा सुरक्षा गस्तीमा पठाइएको छ।

प्रकाशित: २२ जेष्ठ २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App