७ वैशाख २०८१ शुक्रबार
समाज

मुख्य आरोपी पाठक प्रहरी नियन्त्रणमा

नेपालगन्ज– नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको रकम हिनामिना गर्ने मुख्य आरोपी अरुणकुमार पाठकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। २०५१ सालमा स्थापना भएको उक्त सहकारीको कुल ५२ करोड पुँजी मध्ये कर्मचारीले २६ करोड हिनामिना गरेको घटना केहीदिन अघि सार्वजनिक भएको थियो।

नेपालगन्ज परस्पुर निवासी पाठकले सहकारीको २१ करोड ९४ लाख ३६ हजार १ सय २४ रुपैयाँ हिनामिना गरेको सञ्चालक समितिको आरोप छ। रकम हिनामिनाकै कारण सहकारी बन्द हुने अवस्थामा पुगेपछि सञ्चालक समितिले पाठकलाई रकम जम्मा गर्न ताकेता गर्दा उनी केहीदिन अघि फरार भएका थिए। भारतमा लुकेर बस्दै आएका पाठकलाई मंगलबार बिहान सादा पोशाकमा रहेका प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट नियन्त्रणमा लिएका हुन्। 

सहकारीको रकम हिनामिनाबारे आफ्नो बचाउ गर्दै उनले जिल्ला प्रशासन परिसरमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलन लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रकाश सापकोटाले पाठकलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको बताए। यसअघि फरार रहेका पाठकलाई प्रहरीले खोजी गर्दै आएको थियो। सहकारी संस्थाले आन्तरिक रुपमा छानविन गर्न गठन गरेको समितिले पाठकले २१ करोड ९४ लाख ३६ हजार १ सय २४ रुपैयाँ हिनामिना गरेको पुष्टी गरेको थियो। पाठकले उक्त रकम आफ्नो दायित्वभित्र पर्ने भन्दै एकवर्ष भित्रमा सबै रकम तिर्ने हस्ताक्षर समेत गरेको सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले बताएका छन्। फरार रहेका पाठकका परिवारले अहिलेसम्म २० लाख रुपैयाँ मात्र जम्मा गरिदिएको डिएसपी सापकोटाले जानकारी दिए। 

पत्रकार सम्मेलनमा अभियुक्त पाठकले आफूले दवावमा परेर हस्ताक्षर गरेको र सन्ध्याकालिन काउण्टर सञ्चालन हुँदा सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीलाई पनि आफुले मासिक रुपमा रकम बुझाएको जिकिर गरे। रकम हिनामिनामा आफुमात्र संलग्न नभएर अध्यक्ष चौधरी, गंगाधर सुवेदी र गोपाल भण्डारीको पनि संलग्नता रहेको बताए। आफूले संस्थाको १ करोड २५ लाख रुपैयाँ भने चलाएको स्वीकार गरे। 

छानविन समितिका अनुसार सहकारीको खजुरा शाखाका प्रबन्धक सुर्यबहादुर बिकले ६२ लाख ८७ हजार ५३ रुपैयाँ हिनामिना गरेका छन्। उनले अहिलेसम्म आधा रकम फिर्ता गरेको प्रहरीले जनाएको छ। यस्तै नेपालगन्ज शाखाका सहायक प्रबन्धक गंगाधर गंगाधर सुवेदीले २ करोड ८९ लाख ४७ हजार ९ सय १५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। सुवेदीले अहिलेसम्म २५ लाख जम्मा गरेका छन्। यस्तै बैजापुर शाखाका प्रबन्धक लिलाधर ओलीले ३८ लाख ७७ हजार ७ सय ७८ रुपैयाँ हिनामिना गरेको छानविन समितिले जनाएको छ। 

ओलीले आफ्नो दायित्वमा पर्ने रकम मध्ये ११ लाख फिर्ता गरिसकेको डिएसपी सापकोटाले बताए। रकम हिनामिना गरेको आरोप लागेका मध्ये सुवेदी बाहेक सबै प्रहरीको सम्पर्कमा आईसकेको उनले जानकारी दिए। ‘सहकारीभित्र भएको हिनामिनाको आन्तरिक रुपमा छानविन चलिरहेको छ, हिनामिनाको आरोप लागेका ब्यक्तिले रकम फिर्ता गरिरहेका छन्,’ उनले भने ‘अहिलेसम्म गंगाधर सुवेदी बाहेक सबै प्रहरीको सम्पर्कमा छन्, उनीहरुलाई तारेखमा छाडेका छौं।’ मंगलबार प्रहरी नियन्त्रणमा आएका पाठकविरुद्ध अनुसन्धान भइरहेको सापकोटाले बताए।

रकम हिनामिना भएपछि सहकारीको आर्थिक कारोबार बन्द गरिएको छ, भने आरोपित कर्मचारी फरार छन्। कारोबार बन्द भएपछि आफ्नो रकम फस्ने चिन्ताले ठुलो संख्यामा उपस्थित सेवाग्राहीले सहकारीको कार्यालय र जिल्ला प्रशासनमा धर्ना दिँदै आएका छन्। सेवाग्राहीले बिहीबार पनि बिहानैदेखी धर्ना दिएका थिए। सहकारीमा फसेको रकम असुल गरिदिन उनीहरुले माग गरेका छन्।

प्रकाशित: २१ जेष्ठ २०७६ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App