७ वैशाख २०८१ शुक्रबार
भिडियो

'श्रममन्त्रीको साँठगाँठ बिना कसरी रोकियो मलेसिया?'

काठमाडौं- श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारीलाई लिएर श्रम मन्त्रालयको नेतृत्वमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै साँठगाँठमा मलेसिया नखुलेको आरोप लगाएकी छन्।

एक वर्षसम्म मलेसिया रोजगारी नखुल्नुको कारण मागगर्दै आज संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि नागरिक न्युज सँग कुरागर्दै सांसद संग्रौलाले भनिन्-'किन रोकियो भन्ने कुरा पनि बाहिर नआउने, पहल कदमी गरेको पनि नआउने, गरिएको श्रम सम्झौता पनि आज सम्म कार्यान्वयन नहुने,के कारणले हो?'

नेपालको एक प्रमुख रोजगार गन्तव्य मलेसिया जान नेपालीहरु रोकिएसँगै त्यहाँका रोजगारदाताले विकल्प खोज्न थालेको उल्लेख गर्दै संग्रौलाले भित्र-भित्रै केही खिचडी पाकेको हुनसक्ने आशंका व्यक्त गरिन। संग्रौलाले आक्रोश मिस्रित प्रश्न गर्दै भनिन्-'मलेसिया बन्द गरेर नेपालीलाई अलपत्र पार्ने हक यो देशको श्रममन्त्रीलाई छ? मलेसिया रोजगारीमा के खिचडी पाक्दैछ मन्त्रीज्यू?'

'नेपालको एक प्रमुख रोजगार गन्तव्य मलेसियाको रोजगारी रोकिएसँगै लाखौं नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वन्चित भएका छन्। झन्डै पाँच लाख नेपाली कार्यरत रहेको र वर्षेनी दशौँ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको छ र मलेसियाली रोजगारदाताहरू विकल्प खोज्न थालेका छन्' संसदमा दर्ता गरिएको प्रस्तावमा भनिएको छ,'गत वर्ष कार्तिक १२ मा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम शुरु गर्न सकेको छैन।' 

मलेसिया रोजगारी बारे संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नु पर्नाको ४ कारण उल्लेख गरिएको छ:
१. लाखौं नेपाली युवाहरुको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुनेगरी जति सक्दो रोजगार खुला गर्न।

२. मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखिकरण, मागपत्र प्रमाणिकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगीने क्रम बढदै गईरहेको छ। मलेसिया जान चाहने युवाहरुको मेडिकल जांच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको छ। यसको प्रमाणका लागि मलेसियासँग शून्य लागतमा श्रम सम्झौता भएपनि ७ महिनासम्म पनि मेडिकल गर्ने संस्था सूचिकरण र छनोट गर्न नसक्दा रोजगारी खुल्न सकेको छैन।

३. वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार गत वर्षको १ साउनदेखि यसवर्ष २ जेठसम्म मलेसियामा  १ सय ९४ जना कामदारले ज्यान गुमाइसकेका छन् भने ६७ जना गम्भीर रूपमा अंगभंग भएका छन्। वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा सबै मुलुकमा गरी ८ सय २१ जना कामदारको मृत्यु भएको थियो। त्यसैले नेपालीहरुलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्यवहारिक जानकारी दिने व्यवस्था शुरु गर्न नेपाली दूतावासहरूलाई परिचालन गरी  नेपालीहरुको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन। 

४. वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाइ वैदेशिक रोजगारक्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन।  

प्रकाशित: २१ जेष्ठ २०७६ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App