६ वैशाख २०८१ बिहीबार
समाज

ब्यासी-कमलविनायक वैकल्पिक सडक बनाउन प्रस्ताव

भक्तपुर– भक्तपुरको ब्यासीदेखि कमलविनायकसम्म पुग्ने सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिइएको छ। साँंघुरो सडकका कारण अत्याधिक जाम हुनाले यसको बैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको हो। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको मंगलबार बसेको भक्तपुरमा निजी आवास पुनःनिर्माणसम्बन्धी बैठकमा ब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र ऐतिहासिक पाटी, सत्तल, पोखरी तथा ढुंगेधाराहरु रहेको हुँदा सो क्षेत्रमा बाटो फराकिला गर्दा सम्पदाहरु नास हुने बताए। यसकारण यसको वैकल्पिक सडक आवश्यक रहेको उनले बताए। ठूलो ब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनःनिर्माण गर्न नक्सा पासमा समस्या भइरहेकोतर्फ पनि उनले प्राधिकरणको ध्यानाकर्षण गराए। 

सडक साँघुरो हुँदा यात्रुहरुलाई आवागमनमा समस्या भएको र सडक दुर्घटनाको सम्भावना भएको बताउँंदै उनले त्यस क्षेत्रलाई व्यवस्थित रुपमा फुटपाथ बनाई पुरानै शैलीमा घर निर्माणमा जोड दिने बताए।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा भाइकाजी तिवारीले सडक छेउका घरहरु पुरानै शैलीमा पुनःनिर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताए। उनले ब्यासी–कमलविनायक सडकको वैकल्पिक सडकको लागि अध्ययन भइरहेको जनाए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले स्थानीय जनताको राय–सुझावअनुसार सडकको मापदण्ड हेरफेर गरी सडकको दायाँबायाँ पेटी निर्माण गर्नुपर्ने बताए। बैठक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो। 

प्रकाशित: २१ जेष्ठ २०७६ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App