८ वैशाख २०८१ शनिबार
अर्थ

कैदीलाई जुत्ता चप्पल बनाउने तालिम

ओखलढुंग – जिल्ला कारागार ओखलढुंगामा रहेका कैदीलाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ। कारगारमा रहेका आठ महिला र १३ पुरुष गरी २१ कैदीलाई एक सय ६० घण्टे मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो।

तालिममा सहभागीलाई पाँच प्रकारका जुत्ता चप्पल बनाउने सीप सिकाइएको आयोजक रौता टेक्निकल कलेज इटहरी, सुनसरीकी प्रशिक्षक चम्पा नेपालले बताइन्। प्रशिक्षक नेपालका अनुसार महिला, पुरुष र बालबालिकाका लागि आवश्यक पर्ने नाप तथा पाँच डिजाइनका मखमलको जुत्ता चप्पल बनाउन सिकाइको छ।

कारागारमा सिकेको सीप बाहिरी जीवनमा पनि लागू गर्न प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आग्रह गरेका छन्। सिकेको सीपबाटै व्यावसायिक बन्न सकिने सुझाव सहभागीलाई प्रजिअ आचार्यले दिए।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले तालिममा सहभागी महिला र पुरुष कैदीलाई सीकेको सीपलाई

निरन्तर व्यवहारमा लागू गरी आयआर्जन गर्न सुझाव दिए। उनले जुत्ता बनाउन आवश्यक उपकरण सहयोग गरिदिन तालिम आयोजक र सहयोगी संस्थालाई अनुरोध गरे।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाको एक लाख २८ हजार वित्तीय सहयोगमा तालिम सञ्चालन भएको हो। आगामी वर्ष छालाको जुत्ता चप्पलको एडभान्स तालिम सञ्चालनका लागि पहल गरिने व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका कार्यालय प्रमुख भविन्द्र कुमार खत्रीले बताए।

कारागारभित्र रहेर पनि नौलो तालिम सिक्न पाएकामा कैदीले खुसी व्यक्त गरे। यसअघि बाँसको मुडा बनाउने र ढाका बुनाइ तालिम कारागारभित्र सञ्चालन भएका थिए। ढाका तथा मुडा बुनेर कारगारमा कैद भुक्तान गरिरहेका केही कैदीले आयआर्जन गरिरहेको जिल्ला कारागार ओखलढुंगाले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App