७ वैशाख २०८१ शुक्रबार
राजनीति

मदिरा सेवन र धूमपान नगर्ने घोषणा

सर्लाही – लालबन्दी नगरपालिकाका जनप्रतिनिधिले मादक पदार्थ सेवन र धूमपान नगर्ने घोषणा गरेका छन्। सोमबार दिउँसो नगरपालिकाकै सभालमा आयोजित एक कार्यक्रममा मेयर मानबहादुर खड्कासहित कार्यपालिका सदस्यहरूले आइन्दा मदिरा सेवन र धूमपान नगर्ने प्रतिबद्धता जनाएका हुन्।
‘मेरा पाँच प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता’ भन्ने नाराका साथ आफूसहित सम्पूर्ण कार्यपालिका सदस्यले मदिरा सेवन एवं धूमपान नगर्ने प्रतिबद्धता जनाएको मेयर खड्काले बताए। कार्यक्रममा बोल्ने क्रममा मेयर खड्काले ‘म रक्सी–चुरोट र सूर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वच्छ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु,’ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। लगत्तै कार्यक्रममा उपस्थित अन्य जनप्रतिनिधिलाई पनि मेयर खड्काले तत्काल प्रतिबद्धता जनाउन लगाए। मेयर खड्काको आग्रहपछि २७ जना कार्यपालिका सदस्यमध्ये कार्यक्रममा उपस्थित २५ जना जनप्रतिनिधिले पनि क्रमैसँग मदिरा सेवन एवं धूमपान नगर्नेलगायत पाँचवटै प्रतिबद्धता व्यक्त गरेका थिए।

‘मदिरा सेवनबाट परिवार अनि समाजमा ससाना झैझगडादेखि ठूला खालका आपराधिक घटनासमेत हुने गरेको छ। धूमपानले पनि स्वास्थ्य र आर्थिक क्षयीकरण गर्छ,’ मेयर खड्काले भने, ‘त्यसैले यस्ता कुराहरू सबैले त्याग्नु जरुरी छ। अरूलाई भन्नुभन्दा पहिला आफैंबाट सुरुवात गर्ने घोषणा गरेका छौं।’

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App