४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

प्रदर्शनकारीविरुद्ध सैनिक हस्तक्षेप, कम्तीमा १३ जनाको मृत्यु

सैनिक शासनविरुद्ध राजधानी खार्तुममा लोकतन्त्रवादी प्रदर्शनकारीले बालेको टायर। तस्बिर : एजेन्सी

खार्तुम – सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

सैनिक मुख्यालय बाहिर गोली चलेको आवाज सुनिएको र कम्तीमा १३ जनाको मुत्यु भएको तथा दर्जनौं प्रदर्शनकारी घाइते भएको मेडिकल स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ। सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र सहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका छन्। संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथि दमन नगर्न सुडानको सेनालाई आग्रह गरेका छन्। यी दुवै मुलुकले नागरिकलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन्। गत अप्रिलमा सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेदेखि सुडानमा संक्रमणकालीन सैन्य परिषद् (टिएमसी)ले शासन गरिरहेको छ। परिषद्ले भने प्रदर्शनकारीको प्रमुख प्रदर्शनस्थललाई तोड्न कुनै बल प्रयोग नगरेको जनाएको छ।

‘बल प्रयोग गरेर सुडानी सेनाको मुख्यालय बाहिर रहेका प्रदर्शनकारीलाई तितरवितर पारिएको छैन। तर नागरिकका लागि सुरक्षा चुनौती बनेका वरपरका क्षेत्रमा रहेका प्रदर्शनकारीलाई भने हटाइएको छ,’ परिषद्का प्रवक्ता लेफ्टिनेन्ट जेन साम्स अल–दिन कब्बासीले संयुक्त अरब इमिरेट्स आधारित स्काई न्युज अरबिया टेलिभिजन च्यानलाई बताए।

प्रदर्शनकारीको पक्षमा उभिएको सुडानी चिकित्सकको केन्द्रीय कमिटीले सेनाको गोली लागेर कम्तीमा १३ जना प्रदर्शनकारीको ज्यान गएको जनाएको छ। चिकित्सक टोलीले सैनिक कारबाहीबाट अन्य धेरै व्यक्ति घाइते भएको जनाएको छ। उनीहरुका अनुसार कैयौं घाइतेको अवस्था चिन्ताजनक रहेको छ। ‘धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउन अहिले व्यापक मात्रामा बल प्रयोग भइरहेको छ,’ सुडानी प्रोफेसनल एसोसियसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन्। सुडानी प्रोफेसनल एसोसिएसन (एसपिए)ले सेनाले ‘रक्तपातपूर्ण नरसंहार’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’का लागि सुडानी जनतासमक्ष आह्वान पनि गरेको छ। उसले टिएमसीसँगको सबै खाले सम्बन्धलाई तोडेको बताउँदै जनतालाई प्रदर्शनमा उत्रिन आह्वान गरेको छ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि सुडानमा प्रदर्शन रोकिएका छैनन्। अधिकारकर्मीहरुले भने सुरक्षा फौजले प्रदर्शनकारीको प्रमुख प्रदर्शनस्थलमा व्यापक बल प्रयोग गरेको आरोप लगाएका छन्। राजधानी खार्तुममा रहेका प्रमुख अस्पतालमध्येको एक अस्पतालको स्रोतले जनाएअनुसार उनीहरुले कम्तीमा आठवटा मृत शरीर भेटेका छन् र कैयौं घाइतेको उपचार भइरहेको छ। सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेको र सेनाले राखेको छेकबार हटाउने प्रयास गरिरहेको बताइएको छ। उनीहरुले देशमा नागरिक शासन हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन्।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App