८ वैशाख २०८१ शनिबार
राजनीति

जागरण अभियान प्रभावकारी भएन: सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्। आफ्नै निवास चाक्सीबारीमा सोमबार पार्टीका नेता तथा कार्यकर्तासँगको छलफलमा नयाँ संविधानअनुसार पार्टी संरचना निर्माण नहुँदा जागरण अभियान प्रभावकारी बन्न नसकेको दाबी गरेका हुन्।

केन्द्रदेखि तल्लो तहका नेता तथा कार्यकर्ता जिम्मेवारीविहीन रहेको धारण राख्दै पूर्वमहामन्त्री सिंहले आफ्नै नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टी संरचना बनाउन अलमल भइराखेको धारणा राखे। ‘आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरूमा समेत निराशा छाएको छ,’ सिंहले भने, ‘पार्टी संस्थागत रूपमा नचल्दा लथालिंग बन्न पुगेको छ।’

पार्टीलाई विधि विधानका साथै विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थका आधारमा सञ्चालन गर्ने प्रवृत्ति हावी हुँदै गएको आरोप लगाउँदै सिंहले मुलुकमा रहेका चुनौती सामना गर्न सशक्त र प्रभावकारी पार्टी आवश्यक रहेको आंैल्याए। ‘पार्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो,’ सिंहले भने, ‘यही ढर्राले पार्टी चल्दैन।’

कांग्रेसले वैशाख २५ गतेबाट पहिलो चरणको एक महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ। नयाँ संविधानअनुसार प्रदेशदेखि तल्लो तहसम्मका कार्यसमिति र निकायलाई मात्र होइन पार्टीका विभाग अझै गठन हुन सकेको छैन। पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ माघ २ गते देखि नेतृत्वविहीन छ भने तरुण दलसहितका भ्रातृ संगठनको केन्द्रीय समिति पूर्ण छैन।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App