coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गढीमाई परिसरमा भूमिगत सिसमहल

बारा - महागढीमाई नगरपालिका–१ को बरियारपुरस्थित विश्व प्रसिद्ध स्थानीय सरकारबाट १२ करोड रुपैयाँ लागतमा पोखरीमुनि सिसमहल र माथि सूर्य मन्दिर तथा प्रदेश सरकारबाट सात करोड ५९ लाख रुपैयाँ लागतमा धर्मशाला र विवाह मण्डप निर्माण कार्य अगाडि बढाइएको छ।

मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकहरूलाई लोभ्याउन पोखरीमुनि भूमिगत सिसमहल र माथि सूर्य मन्दिर, धर्मशाला, विवाह मण्डप, आधुनिक शौचालयलगायत पहिलादेखि कमि रहेका पूर्वाधारको निर्माण कार्यले अहिले गति लिएको छ। गढीमाई मन्दिर नेपालमा मात्र नभई भारतमा समेत प्रसिद्ध रहेको र दैनिक सयौंको संख्यामा नेपाली तथा भारतीय श्रद्धालुहरू दर्शन तथा पूजापाठका लागि आउने गर्छन्। विश्वमै एकपटकमा सबैभन्दा बढी पशुबलि हुने मन्दिरको रूपमा चर्चा पाए पनि यसको विकासमा राज्यपक्ष पहिलादेखि नै उदासिन रहेको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको आरोप छ।

गढीमाई मन्दिरको विकास गर्न र श्रद्धालु तथा धार्मिक पर्यटकहरूको गुनासो व्यवस्थापन गर्न बहुवर्षीय योजना बनाएर पोखरीमुनि सिसमहल र माथि सूर्य मन्दिर निर्माण कार्य अघि बढाइएको नगरप्रमुख यादवले बताए। १२ करोडको लागतमा तयार गरिने सिसमहल र सूर्य मन्दिर निर्माण पछि यसले थप पर्यटक आकर्षित गर्ने यादव बताउँछन्। उनका अनुसार डेढ वर्षको अवधिमा गढीमाई मन्दिर परिसरमा सफा राख्न नगरपालिकाबाट ४० लाख खर्चेर टायल तथा मार्बल लगाइएको, लगभग ४७ लाखको लागतमा वातानुकूलित शौचालय तथा मन्दिर वरिपरि रहेका पसलहरू व्यवस्थित गर्न ७५ लाख रुपैयाँ लागतमा सेडसहित भूमिगत नाला निर्माण गरिएको र पोखरीतल सिसमहल र माथि सूर्य मन्दिरको निर्माण कार्यमा अहिलेसम्म एक करोड २० लाख रुपैयाँ खर्च भएको छ। २०७६ मंसिरमा एक महिनासम्म लाग्ने पञ्च वर्षीय मेलामा ५० लाखभन्दा बढी श्रद्धालु आउने विश्वास गरिएको तथा सो मेलामा आउने श्रद्धालुहरूका लागि आवश्यक पूर्वाधार निर्माण गर्नको काम धमाधम भइरहेको नगरप्रमुख यादवले बताए।

स्थानीय निर्वाचनपछि गढीमाई परिसर परिसरमा भौतिक पूर्वाधार विकासको काम तीव्र गतिमा भइरहेको गढीमाईका पुजारी मंगल चौधरी बताउँछन्। मन्दिर परिसरमा नगरपालिकाको सहयोगमा टायल र मार्बल ओछ्याइएपछि फोहोरको समस्याबाट राहत मिलेको उल्लेख गर्दै पुजारी चौधरीले भने, ‘स्थानीय र प्रदेश सरकारको सहयोगमा डेढ वर्षको समयमा यहाँ निकै काम भएको छ। पूर्वाधारहरू निर्माण कार्यले मन्दिरका साथै बरियारपुरवासीलाई समेत फाइदा पुगेको छ।

जेठ ४ गते गढीमाई मन्दिर परिसरमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शिलान्यास गरेका थिए। भ्याली बाबु रत्न जेभी ललितपुरले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ जेठ ३ गते सात करोड ५९ लाख ७३ हजारमा ठेक्का स्वीकार गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर विनोदकुमार यादवका अनुसार विवाह मण्डप र धर्मशालाको दुई तले संरचनामा ५० कोठा रहनेछन्।

आधुनिक किसिमले निर्माण हुने विवाह मण्डप र धर्मशाला जनकपुरको जानकी मन्दिरको जस्तै हुने र सँगै जोडिएर रहने सभाहलको क्षमता चार सयजनाको हुने इन्जिनियर यादवले बताए।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App