६ वैशाख २०८१ बिहीबार
समाज

ज्ञानेन्द्र शाही पक्राउ प्रकरण : कर्णालीका पत्रकारमाथि निरन्तर आक्रमण

सुर्खेत– पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेलगत्तै यहाँका पत्रकारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण सुरु भएको छ। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीका समर्थकहरुले यहाँका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने धम्की दिनुका साथै श्रद्धाञ्जलीसमेत व्यक्त गरिरहेका छन्।

नागरिककर्मी नगेन्द्र उपाध्यायसहित नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, शेरबहादुर थापालगायतलाई शाहीका समर्थकहरुले फोन, म्यासेन्जरमार्फत ज्यानमार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन्।

यहाँका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत धम्की दिनेविरुद्ध विद्युतीय कारोवार ऐन अन्र्तगत मुद्दा दर्ता गर्ने तयारी गरेका छन्। ‘सामाजिक सञ्जाल र फोनमार्फत बारम्वार धम्कीहरु आइरहेका छन्, असुरक्षा बढ्दै गएको छ’ प्रदेश अध्यक्ष थापाले भने, ‘सामाजिक सञ्जालमार्फत धम्की दिनेविरुद्ध कानुनी कारवाहीमा जाने तयारीमा छौं।’ यहाँका पत्रकारहरुले मंगलबार विभिन्न छ जनाविरुद्ध धम्की विद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दा दिने तयारी गरेका छन्।

‘हिरासत कक्षमा यातना दिएका छैनौं’

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका शाहीलाई पक्राउ लगत्तै हिरासत कक्षमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ। शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो। शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो।

‘घटनाका सन्दर्भमा एक पक्षीय कुराहरु बाहिर आएकाले आम जनतामा भ्रम सृजना भएको छ’ सोमबार पत्रकार सम्मेलन गरेर डिआइजी महेशविक्रम शाहले भने, ‘हिरासतमै नराखेको व्यक्तिलाई प्रहरीले यातना दियो भन्नु सरासर गलत हो।’

डिआइजी शाहले खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको बताए। ‘उनका समर्थकहरुले प्रहार गरेको ढुंगा लागेर छ जना प्रहरीसहित उनी पनि घाइते भएका हुन्’ शाहले भने, ‘प्रहरीले हिरासतमा राखेर यातना दिएको होइन्।’

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए। शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो।

‘अदालतले पक्राउ पूर्जी जारी गरेपश्चात शाहीको खोजतलास गरिरहेका थियौं’ उनले भने, ‘खुल्लामञ्चमा उनले गरेको कार्यक्रम सम्पन्न भएपछि पक्राउ गरिएको हो।’ उनले खुल्लामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा शाहीसहित तीन जनालाई राखिएको बताए। ‘त्यहीँबाट मेडिकल गर्नका लागि प्रदेश अस्पताल पठाइएको हो’ डिआइजी शाहले भने, ‘मेडिकल चेकजाँचपछि सिधै काठमाडौंको नाइट बसमा राखेर आवश्यक कारवाहीका लागि पठाएका हौं।

शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा र जवानद्धय रामसागर वर्मा, जीतबहादुर बोहरा, पवन सुवेदी र हस्त सिंह घाइते भएका थिए। शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो। शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ। 

प्रकाशित: २० जेष्ठ २०७६ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App