६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रकाशमानको गुनासोः पार्टीलाई सुधार्न खोज्दा नेतृत्वकाे विरोध गरेको आरोप लाग्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्। संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ। 

सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता–कार्यकर्तामा निराशा छाएको बताए। 

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए। कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ। उनले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनले बताए। ‘मुलुकमा रहेका तमाम चुनौतीहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद हो’, उनले भने। 

पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आफूलाई आरोप लाग्ने गरेको गुनासो उनले गरे। 

उनले कांग्रेसलाई सुधार्नका लागि जस्तोसुकै चुनौती झेल्नु परे पनि पछि नपर्ने दृढता व्यक्त गरे। सशक्त मजबुत पार्टी निर्माणको अभियानमा साथ दिन पनि उनले सबैमा अपिल गरे। 

कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए।

भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु र पदाधिकारीसमेत गरी दुई दर्जन बढीको सहभागीता थियो। नेता सिंहले सम्पर्क समितिहरुको भूमिका प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

प्रकाशित: २० जेष्ठ २०७६ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App