६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

मोनालिसा मुस्कानको नयाँ अर्थ

बीबीसी-केही तस्बिर यस्ता हुन्छन्, जुन केही कुराको प्रतीक बन्न पुग्छन् । केही पेन्टिङ, कुनै खास आन्दोलनको प्रतीक बन्न पुग्छन् । तर कुनै चित्र चाहिँ यस्ता पनि हुन्छन्, जसलाई जुनसुकै सिद्धान्त, आन्दोलनमा घुसाउन मिल्छ ? केही दिनअघि पोल्यान्डमा गर्भपातविरुद्धको नयाँ कानुनको विरोध गर्दै ठूलो संख्यामा सर्वसाधारण सडकमा निस्के । पोल्यान्डमा गर्भपातविरुद्ध प्रस्तावित नयाँ कानुनअनुसार गर्भपातलाई जुनसुकै अवस्थामा पनि गैरकानुनी मानिनेछ, चाहे शिशु जन्माउने आमाको ज्यानका लागि खतरा नै किन नहोस् ।

देशका अधिकांश व्यक्तिलाई यो प्रतिबन्ध अनावश्यक र निजी कुरामा दखल दिइएको भन्ने लाग्यो । धेरैजसोले पोस्टर र ब्यानर लिएर सडक नाप्न थाले । पोस्टरमा लेखिएको थियो– ‘मेरो गर्भाशय, मेरो रुचि ।’ यो विरोध प्रदर्शनमा एउटा कुरा खास थियो र त्यो खास कुरा लियोनार्दो दा भिन्सीको बहुचर्चित पेन्टिङ ‘मोनालिसा’को कटआउट थियो । यस कटआउटलाई धेरैले बोकेको देखियो ।

हिजोआज संसारभरि नै मोनालिसाको पेन्टिङलाई उनको रहस्यमयी मुस्कानका लागि चिद्धनिन्छ । यससँग जोडिएका कैयौँ किस्सा पनि छन् । तर गर्भपातविरोधी कानुन रोक्न गरिएको प्रदर्शनमा पनि यसलाई प्रयोग गर्न सकिएला भन्ने कसैले सोचेका थिएनन् । प्रदर्शनकारीहरुले आखिर के सोचेर यस चित्रलाई प्रयोग गरेका होलान् ?

जुन बेला लियोनार्दोले लिजा नामक महिलाको यो चित्र कोरेका थिए र लिजा लियोनार्दो दा भिन्सीका लागि मोडल बन्न तयार भएकी थिइन्, त्यो बेला उनी गर्भवती थिइन् । लिजाले जुन कपडा लगाएकी छन्, त्यो बेला इटालीका गर्भवती महिलाहरुले लगाउने गर्थे ।

सायद यही कारणले पोल्यान्डमा गर्भपातविरोधी कानुनको प्रतिरोध गर्नेहरुले मोनालिसाको कटआउट प्रदर्शनमा राख्न प्रेरित भए । यो पेन्टिङ बनेको पाँच सय वर्षभन्दा बढी भइसक्यो । इटालीको फ्लोरेन्समा बनाइएको यो पेन्टिङ त्यो समयको हो, जुन बेला गर्भपातलाई गैरकानुनी मानिदैनथ्यो । मोनालिसाको यो चित्रलाई पोल्यान्डमा जसरी प्रयोग गरियो, त्यसले एउटा कुरा स्पष्ट पारेको छ– लियोनार्दो दा भिन्सीको यो महान् रचना मुस्कानका लागि अथवा चोरी र नक्कल गर्नका लागि मात्र होइन ।

त्यसो त यो चित्र अन्य कुराको प्रतीपक पनि हो भन्ने कुरा पोल्यान्डका प्रदर्शनकारीहरुले साबित गरिदिए । उनीहरु यसमा सफल पनि भए किनभने पोल्यान्डको संसद् गर्भपातलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने कानुनमाथि पुनर्विचार गर्न सहमत भएको छ ।
उसो भए मोनालिसाको यो मुस्कान जितको मुस्कान त होइन ?

 

प्रकाशित: ११ कार्तिक २०७३ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App