८ वैशाख २०८१ शनिबार
अन्य

दुई दिन नजरबन्द

तस्बिरः कृष्पा श्रेष्ठ

‘इलामको बरबोटे थाहा छ ?’ साहित्यकार विष्णुविभु घिमिरेले सोधे।

यो त्यही ठाउँ त हो, जहाँ नेपाली साहित्यका अर्का मुर्धन्य व्यक्तित्व तारानाथ शर्मा जन्मिएका थिए।

‘हो, त्यही ठाउँमा २०१० साल भाद्र १० गते कृष्णजन्माष्टमीमा म जन्मिएँ,’ घिमिरेले कथा सुरु गरे, ‘म साइँलो छोरा थिएँ र दाइहरुको पछि लागेर स्कुल गएँ।’

उनले तीन कक्षासम्म गाउँकै स्कुलमा पढे। गाउँमा पढ्न गाह्रो भएकाले उनलाई बुबा  हरिनारायण घिमिरे र आमाको तोरण कुमारीको सल्लाहमा छोराहरुलाई इलाम बजारको पब्लिक आदर्श हाइस्कुलमा पु-याए। त्यहाँ उनको प्रवेश परीक्षा लिइयो र पढाइ तिख्खर ठानेर ५ कक्षामा भर्ना लिइयो। बाबुले उनीहरुलाई डेरा खोजेर राखिदिए। डेराको एउटा पाली (एक भाग)मा घिमिरे दाजुभाइ बस्थे भने अर्को पालीमा नेकपाका नेता झलनाथ खनाल। घिमिरे भन्दा तीन ब्याच सिनियर रहेछन् खनाल। त्यो बेला नै खनाल पढ्नमा धेरै तेज रहेको कुरा गाइँगुइँ चल्थ्यो।

एकचोटी साँझपख खनालको कोठामा घिमिरे पुगे। खनाल त धर्के कमिज र सुरुवाल लगाएर खाना खाइरहेका। घिमिरेलाई अचम्म लाग्यो। ‘त्यतिबेला ब्रतबन्ध गरेकाले कछाड बेरेर खाना खानुपथ्र्याे। कम्तीमा घिमिरेको घरमा यस्तै चलन थियो तर खनाल भने ब्रतबन्ध गरिसके पनि मस्तसँग लुगा लगाएरै खाएको देखेर उनलाई अचम्म लाग्यो। घिमिरे भन्छन्, ‘सायद म अचम्ममा परेको देखेर होला झलनाथले ‘बाहिर कसैलाई नभन्नू है !’ भने। उनी स्कुलदेखि नै प्रगतिशील थिए।’

औलोले धन्नै मरिएन
पब्लिक आदर्श हाइस्कुलमा कक्षा ५ मा एक वर्ष मात्रै अध्ययन गरे घिमिरेले। त्यतिबेला बिस्तारै तराई झर्ने चलन सुरु भएको थियो। घिमिरेका बुबाआमा पनि पहिल्यै तराई झरिसकेका थिए। दाजुभाइ मात्र पढ्न बसेका थिए। उनीहरु त्यतिबेला इलामबाट झापा हिँडेरै आउजाउ गर्थे। ‘दशैँ र बिदाको दिनमा घर जाने चलन थियो। त्यतिबेला गोरेटो घोडेटो बाटो हुन्थ्यो,’ घिमिरे भन्छन्, ‘हामी इलामबाट एक रात दुई दिनको हिँडाइपछि झापा पुग्थ्यौँ।’

पछि झापाको ज्यामीरगढीमा उनीहरुको स्थायी बसोबास बन्यो। राजवंशी र सतारहरु उनीहरुका साथी बने। त्यतिबेला उनको परिवारमा कोसँग बोल्ने कोसँग नबोल्ने भन्ने बन्देज थिएन। सबैसँग समान व्यवहार गर्नुपर्छ भन्ने त्यतिबेलै उनले सिके।

राजवंशीका बारीको अमिलो आँप कति चोरेर खाए उनले। ‘हामी धुलाबारी हाइस्कुलमा पढ्थ्यौँ,’ उनले भने, ‘बिहान ६ बजेबाट क्लास हुन्थ्यो। फर्कंदा १२/१ बज्थ्यो। त्यतिबेला खाली पेटमा हामी नुनखुर्सानीसँग काँचो अमिलो आँप खान्थ्यौँ।’ यसो भन्दै गर्दा उनको मुखमा हल्का पानी आयो।

त्यतिबेला तराई क्षेत्रमा औलोको महामारी थियो। विष्णुका दाजुभाइलाई पनि औलो (मलेरिया) रोगले च्याप्यो। ‘कडा ज्वरो आउने र उठ्नै नसकिने हुन्थ्यो,’ घिमिरेले बालापनको ज्वरो सम्झँदै भने, ‘त्यतिबेला धन्न औलो उन्मूलनका लागि सरकारले केही काम गरेको थियो र बाँचियो नभए त मरिने रहेछ !’

चोर काटिएको देख्दा
तराईको जिल्लामा त्यो बेला घना जंगल थियो, बस्ती पातालो। त्यसैले चोर–डाँकाको बिगबिगी हुन्थ्यो। चनाखो भएर सुत्नुपथ्र्यो। कुनै न कुनै घरमा चोेर नलागेको दिन हुँदैनथ्यो। एक दिन छिमेकीको घरलाई डाँकाहरुले घेरिहाले। दशैँका बेला थियो, सामान घरभरि थियो। त्यो घर अलि एकान्तमा थियो। मैदाली दाइले पनि खुकुरी झिकेछन्। १५/२० जनाको समूहमा आएका डाँकासँग एक्लै भिडेछन्। दुई जना डाँका त ठाउँको ठाउँ मारेछन्। भोलिपल्ट गाउँभरि हल्लीखल्ली भएर घिमिरे पनि हेर्न पुगे। ‘चोरले घाँटी र निदारमा राडी बाधेँका र पुरै कालो मास्क लगाएका रहेछन्,’ घिमिरेले उतिबेलाको कुरा सम्झँदै भने, ‘सुरुमा खुट्टामा छप्काइदिएछन्। चोर ङ्याच्चै भएर तल बसेपछि मारिदिएछन्। त्यो बेला दशैँमा मासु खानेबेला त्यही नली खुट्टाको यादले खानै मन लागेन।’

हेडसरको २० छडी
स्कुलमा औसत विद्यार्थीमा गनिन्थे विष्णुविभू। उनले नपढेको निहुँमा गाली खाएनन् तर एउटा रमाइलो घटनाले भने राम्रै कुटाइ भेटे। भएछ के भने, त्यतिबेला पनि कक्षामा मनिटर बस्ने चलन थियो। मनिटरले उनीसित सुपारी मागेर हैरान बनाउने ! एक दिन त झोँक चलेछ र दिएनन्। मनिटरले एक जना छात्रालाई सुनाएछ– विष्णुले भनेको तिम्रो र फलानोको प्रेम सम्बन्ध छ रे नि ! विपरीत लिंगीसँग बोल्दा पनि नबोल्ने त्यो समयमा यस्तो हल्ला चलेपछि ती छात्रा प्रधानाध्यापकलाई भनिदिइछन्।

हो होइन नछुट्याई हेडसरले २० छडी दनादन दिएछन्। ‘हात त पुरै रातो भयो,’ उनले भने, ‘कुटाई खाएको कुरा घरमा भन्ने कुरा भएन।’

त्यतिबेला धुलाबारी हाइस्कुलका प्रिन्सिपल सुरेन्द्रप्रसाद जोशी थिए। उनी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका मामा हुन्। स्कुलका संस्थापक शर्माकै पिताजी परशुराम शर्मा थिए। ‘मान्छे यसै माथि पुग्दैन,’ घिमिरेले भने, ‘विश्वप्रकाश यसै यो ठाउँमा पुगेका हैनन्, यसको लागि परिवार पहिलेदेखि नै हरेक कुरामा दह्रो खुट्टा टेकेको हुन्छ, हुनुपर्छ।’

सिपी मैनालीको घरमा नजरबन्द
२०२७ सालमा एसएलसी उत्तीर्ण गरेका विष्णु आइए पढ्न मेची महाविद्यालय भर्ना हुने भए। त्यतिबेला खोलामा बाढी आएकाले तर्न नसकेर एक साता रोकिए।

एक सातापछि मेची कलेज पुग्दा उनका साथी कृष्ण प्रधानले डेरा खोजिसकेका रहेछन्। उनीहरु एउटा कोठामा बस्ने भए पनि घरभरि उनीहरुकै रजाइँ थियो। त्यो घरमा अरु कोही बस्दैनथे। गाउँबाट तेल चामल ल्याएर गुजारा चलाउनु पथ्र्यो। खर्च सकिएपछि उनका साथी कृष्ण खर्च लिन घर जाँदा घरमा एक्लै परे।

राति ८ बजे घोप्टे लगाएर कोठामा एक्लै लालटिन बालेर पढिरहेका घिमिरेले ढोका ढक्ढक्याएको सुने। आवाजले भन्यो, ‘ओई केटा, ढोका खोल् म यही घरको मान्छे हुँ।’ विष्णु ढोका खोल्नु कि नखोल्नु, दोधारमा परे। ‘मलाई न त त्यो एरियाबारे थाहा थियो न त त्यस घरका मान्छेलाई म चिन्थेँ,’ उनले बेलिबिस्तार लगाउँदै भने, ‘ढोका खोल्दा त म तर्सिएँ।’

निधारमा रातो पट्टी बाँधेको मान्छे उनको अघिल्तिर थियो। त्यो व्यक्तिले हातमा तरबार पनि बोकेको थियो। घोप्टे खोलेपछि सरासर माथि उक्लियो र चेतावनीयुक्त शैलीमा भन्यो, ‘खाना पका।’

उनले खाना पकाए, खुवाए र भाडा माझे। उनी आफ्नो कोठामा के जान लागेका थिए फेरि चेतावानीयुक्त शैलीमा त्यो मान्छेले भन्यो, ‘सुन्, तँ बाहिर निस्कन पाउँदैनस्। ट्वाइलेट जान पर्दा घोप्टे खोल्नु परे पनि मलाई जानकारी नदिई नखोल्नू।’

उनी अलमल्लमा परे तर डराएनन् उनी। उनलाई त्यो मान्छेले कलेज जान पनि दिएन। दुई दिनसम्म बन्दी भएपछि कसरी उम्कने होला भनेर उपाय सोच्न थाले।

त्यो मान्छे ट्वाइलेट गएको मौका पारेर उनी केही पर रहेको पसलसम्म पुगे। त्यहाँ उनका साथी भेटिए, अच्युत। ‘त्यतिबेला अच्युतलाई देख्दा त मलाई भगवान नै देखेँजस्तो भयो,’ उनले भने, ‘उसलाई सबै कुरा भनेँ। कसैलाई भनिस् भने च्वाट्टै काटिदिन्छु भनेको छ भनेर पनि उसलाइ सेयर गरेँ।’

घिमिरे घर त आए, त्यही मान्छे हातमा तरबार लिएर बसेको थियो। सोध्यो, ‘कहाँ गएको थिइस् ? मैले न जा भनेको हैन ? कसैलाई भनेको रहेछस् भने च्वाट्टै काटिदिन्छु।’

‘तेल सकिएर लिन गएको,’ उनले जवाफमा भने, ‘नुन पनि छैन। तपाईं जानुहुन्छ कि म जाउँ?’

उनले यति सोधेपछि त्यो मान्छेले भनेछ ‘तँ जा, भाग्ने चैँ हैन नि ! म हेरिरहन्छु, जा।’

उनी बाहिर पुगेपछि साथी भएको ठाउँ पुगे। अच्युत र विष्णु मिलेर प्रहरी चौकी गए। उनीहरुले प्रहरीलाई लिएर घर गए। त्यहाँ त्यो मानिसले खाना पकाएर राखेको रहेछ। प्रहरीले उसलाई पक्राउ गरे। उसले मैले पकाएको भात लान पाउनु पर्छ भनेर भात दाल खन्याएर राख्यो। पक्राउ परेको झ्वाँकमा घिमिरेलाई चेतावनी दिँदै भन्यो, ‘तँलाई मैले चिनेको छु। पख्लास्, तँलाई पछि मारिदिन्छु।’

को रहेछ त त्यो?

‘कुन्नी ?’ विष्णुले भने, ‘अहिलेसम्म त्यो कोहो भन्ने मैले पत्तो पाएको छैन। त्यो त पागल पो रहेछ ! धन्न बचियो।’

माओको रेडबुक सिरानी
त्यो घरमा उनीहरुको कोठा भाडा १० रुपैँया थियो। कहिलेकाहीँ सिपी र आरके मैनालीका बाबु घरमा आउँथे। उनले एक दिन त घरको ताला नै सुम्पिए।

झापा विद्रोहको प्रमुख हर्ताकर्ता सिपी मैनालीको बुबाको सामीप्य पाएका घिमिरेसँग सोधियो, ‘सिपीका बुबाको छोराहरुप्रति कस्तो धारण थियो?’ विष्णुले केही गम्भीर हुँदै भने, ‘उनी नरम भाषामा कुरा गर्थे। छोराहरुका लागि नै जोगाएको तमसुक सिपीले आगँनमा ल्याएर जलायो भन्थे। खाद्यान्न बाँड्यो पनि भन्थे। खासै गुनासो त गर्दैनथे पछि–पछि भने उनी आउनै छाडे। त्यतिबेला सिपीको बारेमा कसैले कुरा गर्न प¥यो भने खासखुस मात्रै कुरा गर्थे।’

सिपीका बाबुले मूल कोठाको तालाचाबी सुम्पेपछि भने विष्णुलाई खसखस लागेछ। उनले साथी कृष्णलाई खोलौँ भने। कृष्णले हुन्न भने। ‘मेरो त मनले मान्दै मानेन,’ उनले किशोर वयको उत्सुकता सुनाउन थाले, ‘ऊ त सोझो थियो। भो यस्तो नगरौँ भन्थ्यो। मलाई चाहिँ साह्रै खुल्दुली बढ्यो। ढोका खोलेपछि त अचम्ममा प-यौँ।’

त्यो कोठामा त थानका थान माओका रेड बुक, चिल्ला पाना, राम्रा चित्रसँगै त्यहाँ थुप्रै साहित्यका पुस्तक पनि रहेछन्। त्यही बेला ढोका खोल्दै पुस्तकहरु निकाल्दै दुवैले पढे। माओका ‘रेड बुक’ भने उनीहरुले बुझ्ने प्रकारका थिएनन्। ‘त्यो पुस्तक हामीले के बुझ्ने ?’ घिमिरेले हाँस्दै भने, ‘साथीहरु आएको बेला सिरानी बनाउन भने काम लाग्थ्यो !’

बिपीको तस्बिरले प्रजातान्त्रिक भएँ
२०२८ सालमा झापा विद्रोह भएको थियो। झापा लगायत पूर्वाञ्चलका अधिकांश जिल्ला कम्युनिस्टमय  थिए। झापा विद्रोह घिमिरेले पनि प्रत्यक्ष महसुस गर्न पाए। ‘सुरुमा कर्णबहादुर गौतमलाई मारे,’ झापा विद्रोहको कथा सुनाउँदै घिमिरेले थपे, ‘जमिन्दारलाई मार्ने उनीहरुको अभियानै थियो क्यारे! गौतम जमिन्दार त थिएनन्, जमिनदारको खेत हेरिदिने मान्छे थिए। उनी लगायतलाई मारेपछि सरकारले दोहोरो भिडन्तमा सुखानीको जगंलमा यो आन्दोलनमा लाग्नेहरुलाई मा-यो।’

घिमिरेका बुबाले घरमा महाभारत रामायण लगायतका कथाहरु वाचन गरेर सुनाउँथे। त्यही मेसोमा एकदिन महाभारत सुनाउँदै गर्दा अजुर्नको हात घुँडामुनितिर आइपुग्थ्यो। उनी राम्रो राजग्रह भएका मान्छे थिए भन्ने कुरा आयो। त्यही बेला उनका पिताजीले भनेछन्, ‘बिपीको हात पनि त्यस्तै छ।’

यो सुनेपछि बालापनमा रहेका घिमिरेको मनमा हुटहुटी चल्न थाल्यो, बिपीलाई देख्न पाए !

घिमिरेले बालचन्द्र शर्माको किताबमा बिपीको फोटो देखे। त्यो फोटोले उनलाई यति तान्यो कि उनी हेरेकाहे-यै भए। उनलाई बिपी एकदमै मन प¥यो। ‘उनको तस्बिर हेरेरै मलाई उनका साहित्यिक कृति पढ्न मन लाग्यो र पढ्न थालेँ,’ घिमिरेले भने, ‘बिपी मन पर्ने भएपछि उनको दल कांग्रेस रहेछ भनेर म उतैतर्फ आकर्षित भएँ।’

उनी मेची क्याम्पस पढ्दा प्रजातान्त्रिक समूहबाट चुनाव लडे। कोषाध्यक्ष पदमा निर्वाचित पनि भए। त्यतिबेला उनलाई कम्युनिस्ट गढमा प्रजातान्त्रिक नहुन अग्रजले नसुझाएका हैनन् तर उनको मनमा बिपीको तस्बिर यति गढेको थियो कि उनी प्रजातान्त्रिक नभइरहन सकेनन्।

अशेष मेरो प्रिय साथी
स्नातक पढ्न उनी विराटनगर आए। पाञ्चालीस्थित गणेशराज शर्माको घरमा उनी बसे। सानैबाट कविता लेख्ने भए पनि उनको औपचारिक साहित्यिक यात्रा विराटनगरबाट सुरु भयो। उनीहरुले कविता–नाटकमार्फत् प्रजातन्त्रको पैरवी गरिरहे।

२०३२ सालमा नाटककार अशेष मल्लसँग उनको दोस्ती जम्यो। मित्रता यति गहिरियो कि उनीहरुको आजसम्म पनि मित्रता उस्तै छ।

गहिरो पढ्न आवश्यक छ
त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्ययपन गराएका घिमिरे अहिले गहिरो अध्ययन आवश्यक भएको बताउँछन्। ‘हाम्रो पालामा त संघर्ष गर्ने, जसरी हुन्छ पढ्ने र अघि बढ्ने भन्ने थियो,’ उनले भने, ‘माया प्रेम सम्बन्ध त परका कुरा थिए।’ मागी विवाह गरेका घिमिरेले अहिलेको पुस्तामा गहिरो अध्ययन अनुसन्धानको अभाव भएको देख्छन्।

उनले नयाँ पुस्तालाई आफ्नो दिमागको दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिए।

प्रकाशित: २० जेष्ठ २०७६ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App