गणतन्त्रको खोजीमा १२ वर्ष

सोमबार, २० जेठ २०७६, १० : ५१ डा. सुरेश आचार्य

मुलुकले बाह्रौं गणतन्त्र दिवस मनायो। यस अवसरमा राष्ट्रपतिले गणतन्त्र स्मारकको उद्घाटन पनि गर्नुभयो। राष्ट्रपतिलगायत प्रधानमन्त्री र दलका नेताले शुभकामना सन्देश पनि नियमित शैलीमा जारी गर्नुभयो। दोस्रो कार्यकालमा रहनुभएकी मुलुकको दोस्रो राष्ट्रपतिको सन्देशमा गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख पनि गरियो। गणतन्त्र पर्वका रूपमा मनाइएन। मुलुकले राजतन्त्रबाट गणतन्त्रमा ऐतिहासिक फड्को मारेको भन्ने गरिए पनि गणतन्त्र दिवस सार्वजनिक बिदाको दिन बन्न सकेन। सरकारले गणतन्त्रको स्मरण गर्नु आफ्नो कर्तव्यका रूपमा बुझ्यो। सरकारी तहमा गणतन्त्र समारोह समिति बनेका खबर आए। तर, देशभर उमंग र उत्साहका साथ गणतन्त्र दिवस मनाएको खबर सुन्न पाइएन।

मुलुकमा दुई सय ४० वर्ष पुरानो राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापना भएको हो। २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक बस्यो र पहिलो निर्णयमा नै मुलुकमा राजतन्त्रको अन्त्य भएको घोषणा गरियो र मुलुक गणतन्त्रमा प्रवेश गरेको समर्थनमा संविधानसभा हल करतल ध्वनीले गुञ्जायमान भयो। भोलिपल्टका अखबारहरूमा ब्यानर समाचार मात्र बनेन, अखबारको नाम (मास्टहेड) भन्दा माथि समाचारको शीर्षक राखेर मिडियाले पनि उत्सव मनाए। अत्यन्त शान्तिपूर्ण ढंगबाट नेपालको राजतन्त्रको अन्त्य भयो। तत्कालीन महाराज ज्ञानेन्द्रका लागि सम्भवतः अत्यन्त पीडादायी बनेको त्यो दिन नेपाली नागरिक हर्ष र उल्लास मनाउँदै थिए। २००७ सालमा प्रजातन्त्र स्थापनामा सहयोगी बनेको राजतन्त्र २०१७ साल पछिका दिनमा प्रजातन्त्रको हत्याराका रूपमा स्थापित भएको थियो। लोकतन्त्रका पक्षधर नेपाली नागरिकले त्यसकारण राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा फेरि एकपटक आफ्नो ऐतिहासिक विजय देखेका थिए।

नेपालमा गणतन्त्रको पक्षमा नेपाली राजा आफैं उभिएका थिए। २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापनाको घोषणा गर्दैगर्दा महाराज त्रिभुवनको सन्देशमा‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचित गरेको वैधानिकसभाले तर्जुमा गरेको गणतन्त्रात्मक संविधानअनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले’ सोही अनुसार शासन पद्धति अगाडि बढ्ने प्रस्ट उल्लेख थियो। २००७ सालको क्रान्ति गरेको नेपाली कांग्रेसको माग पनि गणतन्त्रमा मुलुक जानुपर्छ भन्ने थिएन। उसले राणाशाहीको अन्त्य मात्र चाहेको थियो। राजा स्वयम्ले गणतन्त्रको घोषणा गरिरहँदा कांग्रेसलाई प्रजातन्त्र जनाउने अंग्रेजी शब्द ‘डेमोक्रेसी’को गलत अनुवाद भएको भन्ने लागेको थियो। तर, राजा त्रिभुवनले यसलाई अथ्र्याउने क्रममा आफ्ना छोरा महेन्द्रको महत्वाकांक्षालाई ध्यानमा राखेर नै जानीबुझी गणतन्त्रको कुरा गरेको पढ्न पाइन्छ।

आज पनि गणतन्त्रप्रति नागरिक आस्था कमजोर भएको छैन। तर, गणतन्त्र कुनै एक राजाको सट्टा अरू कसैलाई महाराज वा महारानी बनाइदिन ल्याइएछ भन्ने अनुभूतिचाहिँ बढ्न थालेको छ।

अर्थात् गणतन्त्र २००७ सालको क्रान्तिसँगै नेपाल भित्रिएको थियो। तर,शासन गर्दै जाँदा राजा त्रिभुवन पनि नागरिक अधिकार कुण्ठित गर्नेतर्फ अग्रसर भएको पाइन्छ। संवैधानिक राजतन्त्रको दायरामा बस्न नचाहने राजा महेन्द्रको महत्वाकांक्षाले २०१७ पुसपछि सम्पूर्ण शासन सत्तासहितको राजतन्त्र स्थापित हुन पुग्यो। त्यही महŒवाकांक्षा महेन्द्रकै माहिला छोरा ज्ञानेन्द्रमा सवार हुँदा राजतन्त्रको अन्त्य पनि हुनपुग्यो।

लोकतन्त्रको स्थायित्वका लागि गणतन्त्र आवश्यक हो वा होइन भन्ने बहस जति पनि गर्न सकिन्छ। बेलायतको लोकतन्त्रका विषयमा आजसम्म कुनै प्रश्न उठेको छैन। न त त्यहाँका महारानीबाट शासन सत्ता हातमा लिने कुनै चाहना नै कहिल्यै अभिव्यक्त भएको छ। अमेरिकाको गणतन्त्रमा राष्ट्रपति कार्यकारी छन् र सिधै नागरिकबाट निर्वाचित हुन्छन्। भारतको लोकतन्त्रमा राष्ट्रपति अप्रत्यक्ष तरिकाबाट निर्वाचित हुन्छन्। उनमा कुनै कार्यकारी अधिकार हुँदैन। अस्ट्रेलियामा बेलायतकी महारानीलाई राष्ट्र प्रमुखको प्रतीक मानिएको छ। राजतन्त्रको विकल्प गणतन्त्र हो कि होइन ? यो प्रश्नको राजनीतिक जवाफ त्यसैले फरक–फरक हुन सक्छ।

तर, नेपाली नागरिकलाई मुलुकमा गणतन्त्र छ कि छैन भनेर सोध्यो भने त्यसको अनुभूति उसले गर्न पाएको छैन। गणतन्त्रले महाराजको विकल्प मात्र दिएको हो वा गणतन्त्र नागरिकसरहको राष्ट्र प्रमुखको द्योतक पनि हो ?यो प्रश्नले आम नेपालीको मन चिमोटेको छ। राष्ट्रपतिलाई एउटा सामान्य नागरिकको पहुँचभन्दा किन पर राख्नुपर्छ ? के हामीले सामान्य नागरिकलाई नै राष्ट्रपति बनाएका होइनौं ? आलंकारिक हैसियतको त्यो पदलाई ठूलो सुरक्षा घेराभित्र राखेर सबैको पहुँचबाट टाढा पु¥याउँदा त्यो पदको मर्यादा र सम्मान बढ्ने हो ?यो प्रश्न को व्यक्ति राष्ट्रपति भयो भन्नेसँग जोडिएको होइन। कतिपय व्यक्तिका स्वभाव र चरित्रले पनि प्रश्नहरू उठ्ने गर्छन्। सिंगो राष्ट्रपतिको व्यवहार र आचरणमा देखाउन लगाइएको सामन्ती संस्कारको विकासले आज गणतन्त्रको अनुभूति नागरिकले गर्न पाएको छैन। यो चरित्रले व्यक्तिको आचरण, सोच र संस्कारमा समेत परिवर्तन ल्याइदिन्छ र नचाहेर पनि राष्ट्रपति एउटा सीमित घेराभित्र खोपामा बस्न बाध्य हुन्छ। जब खोपाबाट बाहिर निस्कन्छ, अनि के–के न हो जसरी सार्वजनिक रूपमा प्रस्तुत गराइन्छ। यसको परिणाम, उसले अनाहक नागरिक आक्रोश व्यहोर्नुपर्ने हुन्छ।

कुनै बेला महाराज संविधानभन्दा माथि थिए। मुलुकको कानुन उनका लागि बनेका थिएनन्। उनले बनाएका कानुन प्रजाका लागि हुन्थ्यो। पछिल्लो चरणमा प्रजाको हैसियत जनतासम्म बनेको थियो। पछिल्लो समय महाराज संवैधानिक भए र पनि, कतिपय संवैधानिक अधिकार राजाले प्रयोग गर्दैनथे। राजा र उनको परिवारलाई मताधिकार थिएन। अर्थात् उनीहरू नागरिक थिएनन्। त्यसैले राजाले संविधानमाथि रहेर अधिकार प्रयोग गर्न खोज्थे। महाराज ज्ञानेन्द्रको प्रयत्न संविधानभन्दा माथि जाने खालको भएर नै मुलुकले गणतन्त्र खोज्यो। महाराजको रूप खातिरदारीमा पनि प्रकट हुन्थ्यो। उनीहरू नागरिकबाट टाढा र कुलीन वर्गका हुन्थे। उनीहरूका गतिविधि नागरिकको जानकारीभन्दा बाहिर हुन्थ्यो।
आज पनि गणतन्त्रप्रति नागरिक आस्था कमजोर भएको छैन।

तर, गणतन्त्र कुनै एक राजाको सट्टा अरू कसैलाई महाराज वा महारानी बनाइदिन ल्याइएछ भन्ने अनुभूतिचाहिँ बढ्न थालेको छ। आफूलाई नागरिकभन्दा पृथक् र कतिपय सन्दर्भमा संविधानभन्दा माथिको व्यवहार खोज्ने संस्कार र संस्कृतिले नेपाली गणतन्त्र र लोकतन्त्रसमेत संस्थागत हुन सकेको छैन। राष्ट्रपति विदेश भ्रमणमा जाँदा विमान चार्टर गर्नुपर्ने कुन संस्कार हो ? नेपाली अर्थतन्त्रले यो कति धान्ने विषय हो ? राष्ट्रपति वा प्रधानमन्त्री विदेश भ्रमणमा जाने भन्नासाथ किन सम्पूर्ण विमानस्थलका सबै कार्यतालिका अस्तव्यस्त बन्नुपर्ने ?राष्ट्रपति सडकमा निस्कनु अपराध होइन, तर राष्ट्रपति सडकमा निस्केका कारण नागरिकले दुःख पाउनु पनि अपराधबापतको सजाय जस्तो हुनु हुँदैन। सडकमा निस्किएका झण्डावाल गाडीहरूले किन ट्राफिक नियमको पालन गर्नु नपर्ने ?उसका लागि कुन कानुनले यस्तो विशेष व्यवस्था गरेको हो ? के ऊ नागरिकभन्दा माथिल्लो हैसियतको हो ?

आजसम्म कुनै मन्त्री वा अरू झण्डावाल पदाधिकारी कुनै कार्यक्रममा समय अघि पुगेको रेकर्ड बिरलै होलान्। सडक जाममा परेर ठूलै निर्णय समयमा लिन छुटेको उदाहरण पनि सुन्न पढ्न पाइएको छैन। तर, हतार सधैं उनीहरूलाई मात्र हुन्छ, मानौं नागरिकचाहिँ यो देशमा बेफिक्री खान बस्न पाइरहेका छन्। नागरिकलाई बित्ने र ढिलो हुने कुनै काम नै हुँदैन। एउटा नागरिक र नागरिकको प्रतिनिधिबीचको यो भेदले गणतन्त्रलाई गणतन्त्रकै रूपमा र लोकतन्त्रलाई लोकतन्त्रकै रूपमा बुझ्न पाउने अवस्था बन्न सकेको छैन।

नागरिकले प्रत्यक्ष निर्वाचित गरेका पदाधिकारीमा त नागरिक प्रतिनिधि भएको झिनो आभाष पाइँदैन। लोकमाथि शासन गर्ने प्रवृत्तिलाई लोकतन्त्र मान्नुपरेको छ। गणहरू अघिपछि लगाएर हिँड्ने पद्धतिलाई गणतन्त्र भनेर बुझ्नुपरेको छ। लोकले लोकलाज नहुने गरी लोक हितमा गर्ने शासन लोकतन्त्र बन्न सकेन।गणहरूको घेराबाहिर बसेर आमनागरिकको सेवक बन्ने गणतन्त्रको परिकल्पना नै गर्न सकिएन। समय व्यतीत हुँदै जाँदा आयु सकिँदै जान्छ। पदावधि सकिँदै जान्छ। र, जीवन पनि समाप्त हुन्छ। तर, लोकतन्त्र वा गणतन्त्र आफैं युवा, तन्नेरी, प्रौढ वा संस्थागत हुँदैन। यसलाई संस्कारले, व्यवहारले र आचरणले संस्थागत गर्दै लैजान्छ। अर्को गणतन्त्र दिवसमा पनि यिनै खालका शब्द खर्च गर्नुपर्ने अवस्था रह्यो भने त्यो दोष गणतन्त्र आफैंले मात्र धान्न सक्दैन।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad