coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सबै वडामा स्वास्थ्य संस्था

वडा कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत। तस्बिर: नागरिक

धादिङ - गत वर्ष सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो। सोही नीतिअनुरूप धादिङको गजुरी गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ संस्था स्थापना गरेको छ। एक वडा एक स्वास्थ्य संस्थाको अवधारणासहित स्वास्थ्य सेवालाई आमनागरिकमाझ सरल र सुलभ बनाउने उद्देश्यका साथ गाउँपालिकाले स्वास्थ्य संस्थाको निर्माण गरी सेवा दिन थालेको हो।

साबिकका गाविसस्तरीय स्वास्थ्य चौकीलाई समेत एक वडा एक स्वास्थ्य संस्थाका रूपमा राखी बाँकी पाँचवटै वडामा चालू आर्थिक वर्षमा आफ्नै स्रोत र साधनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए। ‘वडाका नागरिकलाई सजिलो होस् भन्ने उद्देश्यले वडावडामा स्वास्थ्य संस्था सञ्चालन गरेका हौं,’ उनले भने, ‘वडावासीले स्वास्थ्य सेवा लिन अर्को वडामा जानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ।’

दुई वर्षअघि स्थानीय तहको निर्वाचनमा गाउँपालिकाले आठवटै वडाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने प्रतिबद्धता गरेको थियो। त्यो प्रतिबद्धता पूरा भएको उनले बताए। विभिन्न बस्तीका स्थानीयहरूलाई स्वास्थ्य सेवा लिन निकै टाढा भएकाले नागरिकहरूलाई मध्यनजर गरी छिटो, छरितो र सुलभ सेवा दिने प्रयास थालिएको उनको भनाइ छ। आन्तरिक स्रोतमा २० लाख बजेट छुट्ट्याएर वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए। स्वास्थ्य सेवा केन्द्रमा अहिले अहेव, अनमी र कार्यालय सहयोगी नियुक्त गरेर आवश्यक आधारभूत औषधिसहित सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन्, ‘स–साना औषधि र प्राथमिक उपचारका लागि टाढा जान नपरोस् भनेर वडामै स्वास्थ्य सेवा सुरु गरिएको हो।’ उनका अनुसार गाउँपालिकाबाट छुट्ट्याइएको बजेटबाटै औषधि तथा जनशक्ति व्यवस्थापन हुने बताए।

उनले सामान्य रुघा, खोकी र ज्वरो आउँदा समेत सदरमुकाम तथा राजधानी नै धाउनुपर्ने बाध्यता हटेको बताए। भौगोलिक अवस्था र आर्थिक अवस्था कमजोर भएका जनताका लागि यो ठूलो राहत हुने गाउँपालिकाले अपेक्षा गरिएको छ। अब स्वास्थ्य केन्द्र खोज्दै बिरामीभन्दा बिरामी खोज्दै स्वास्थ्यकर्मी हिँड्ने अवधारणाबाट काम भइरहेको रेग्मीले बताए। यस गाउँपालिकामा प्रायः सीमान्तकृत चेपाङ समुदायको बसोबासको क्षेत्र रहेकाले स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी रूपमा सञ्चालनमा जोड दिएका छन्।

गाउँपालिकाले यसअघि गर्भवती महिलाको स्वास्थ्य र सुरक्षाका लागि आफ्नै खर्चमा ‘प्रसूति–प्रतीक्षा घर’ सञ्चालनमा ल्याइसकेको छ। बच्चाको जन्म दिने बेला भोग्नुपरेको दुःखकष्ट र समस्यालाई समाधान गराउने पहलस्वरूप गाउँपालिका आफैंले प्रसूति प्रतीक्षा घर सञ्चालन गरेको हो। बच्चा जन्माउनुअघि आएर बस्ने महिलाको खानेबस्नेलगायत सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको छ। अहिले यो नमुना र सहज भएको स्थानीय बताउँछन्। सुत्केरी र गर्भवती महिलाका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा पनि प्रदान गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App