coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धरानमा डेंगु नियन्त्रण बाहिर

लामखुट्टे नियन्त्रणका लागि घरदैलो अभियान गरिँदै। तस्बिर: नागरिक

धरान - डेंगु ज्वरोको प्रकोप नियन्त्रणबाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ। डेंगुको प्रकोप नियन्त्रण गर्न स्थानीय स्तरको प्रयास सम्भव नभएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो।

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले डेंगुको प्रकोप नियन्त्रणबाहिर गएकाले प्रदेश र संघीय सरकारका मन्त्रालयसँग सहकार्य र सहयोगका लागि पत्राचार गरिएको बताइन्। ‘हामीले सकेसम्म डेंगु नियन्त्रण प्रयास गरिरहेकै छौं तर नियन्त्रणमा नआएकाले चिन्तित छौं,’ कार्यवाहक प्रमुख भण्डारीले भनिन्, ‘काबुबाहिर जान लागेकाले प्रदेश र संघीय सरकारबाट पनि सहयोग आवश्यक छ।’

धरानमा पछिल्लो ३ सातामा ७५ जना डेंगुका बिरामी भेटिएको पुष्टि भइसकेको छ। सबै बिरामी स्वास्थ्यसंस्थाको सम्पर्कमा नआएकाले यो संख्या अझै बढी हुनसक्ने चिकित्सक बताउँछन्। डेंगुको प्रकोप क्षेत्रमा नियमित फगिङको काम भइरहेको छ। चिकित्सकसहितको ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको छ। तर डेंगु नियन्त्रणमा आउन सकेको छैन। डेंगु संक्रमित पोथी लामखुट्टेबाट मानिसमा संक्रमण हुने भएकाले पूर्णरुपमा नियन्त्रणमा ल्याउन लामखुट्टेका अन्डा र लार्भा नष्ट गर्नुपर्ने विज्ञ चिकित्सक बताउँछन्।

¥यापिड रेस्पोन्स टिमको आइतबार बसेको बैठकले डेंगु बिरामीको संख्या बढ्दै गएकाले उपचारमा सहज व्यवस्थापनका लागि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान र रोग नियन्त्रण महाशाखालाई आग्रह गर्ने निर्णय गरेको छ। टिमले प्रतिष्ठानको अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई भेटेर उपचार व्यवस्था सहज बनाउन आग्रह गरेको छ। ‘गम्भीर अवस्थाका बिरामीलाई आइसियू चाहिन्छ। वार्डमा पनि बेडको व्यवस्थापन होस्,’ ¥यापिड रेस्पोन्स टिमका संयोजक एवं प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका प्रमुख डा. विजयकुमार खनालले भने, ‘भेन्टिलेटर बढाउनुपर्ने, एम्बुलेन्सको सहज व्यवस्थापन गर्नुपर्नेलगायत कुरा राखेका छौं।’

प्रतिष्ठानमा पछिल्लो समय बिरामीको चापले गर्दा मेडिसिन विभागमा बेड अभाव छ। बिरामीलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ। १४ वर्षमुनि र ६० वर्ष उमेरमाथिका मानिसलाई डेंगु संक्रमण भए अवस्था गम्भीर पनि हुनसक्ने चिकित्सक बताउँछन्।

डेंगुका बिरामी भेटिएका कतिपय क्षेत्रमा जनचेतनामूलक भेला र अभियान चलाउन ढिला भइरहेको ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. खनालले बताए। ‘लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्ने अभियान बृहत्रुपमा वडा र टोलटोलमा सञ्चालन गर्नुपर्छ। यसका लागि जनप्रतिनिधि परिचालन हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन,’ डा. खनालले भने।
घरघरमा लामखुट्टेका लार्भा

चिकित्सकका अनुसार फगिङले वयस्क लामखुट्टेमात्र मार्छ। डेंगु संक्रमित अन्डा र लार्भा नमार्ने भएकोले फगिङ प्रभावकारी हुँदैन। लामखुट्टेको अन्डा र लार्भा घरमा टंकी, ड्रमलगायतमा जम्मा गरिएको पानीमा हुन्छ। धरानमा खानेपानी अभाव भएकाले होटल र घरमा पानी जम्मा गरेर राख्ने चलन छ। त्यही पानीमा लामखुट्टे बस्ने भएकाले डेंगु नियन्त्रणमा कठिन भइरहेको रेस्पोन्स टिमका सदस्य एवं प्रतिष्ठानको सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले बताए।

घरघरमा लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्ने अभियान बृहत्रुपमा नभएसम्म डेंगु नियन्त्रणमा नआउने उनले बताए। उपमहानगरपालिकाका वडा १४, १ र १५ मा शुक्रबार र शनिबार घरदैलो अभियान गर्दा प्रायः हरेक घरमा लाखौंको संख्यामा लामखुट्टेका अन्डा, लार्भा र प्युपा मात्र होइन, डेंगु संक्रमित लामखुट्टे नै फेलापरेको उनले बताए। ‘डेंगु संक्रमित लामखुट्टे पनि भेट्यौं। लार्भा र प्युपा त कति भेटियो कति,’ उनले भने।

प्रकाशित: २० जेष्ठ २०७६ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App