८ वैशाख २०८१ शनिबार
समाज

खानेपानीमा भ्रष्टाचार भएको प्रकरण उत्कर्षमा

इटहरी– १४ वर्षदेखि इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष रामप्रसाद चौलागाईंलाई स्थानीय सरकारका प्रमुख मेयर द्वारिकलाल चौधरीले भ्रष्टाचारको आरोप लगाएको घटना यतिबेला चर्चामा छ।

मेयर चौधरीले टंकी निर्माण, जग्गा खरिद र पाइप विस्तार गर्दा भ्रष्टाचार गरेको सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि एक सातासम्म चौलागाईं मौन बसे। पाँच दिनअघि पत्रकार सम्मेलन गरी त्यसबारे प्रतिक्रिया सार्वजनिक गरेका छन्।

चौलागाईंविरुद्ध चौतर्फी आलोचना भएपछि पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिस्पर्धीको रुपमा लिएर प्रोपोगान्डा गरेको जिकिर गरे। ‘२०६२ सालमा पहिलोपटक कम्प्युटर सफ्टवेयरमार्फत बिलिङ गर्न थालिएको हो,’ उनले भने, ‘स्थानीय सरकारको प्रमुखबाट मलाई आरोप लगाइयो, त्यही संस्थाले सत्य–तथ्य सार्वजनिक गर्दा कुनै आपत्ति छैन।’ उनले खानेपानी संस्था आफूप्रति विश्वस्त भएकाले गर्दा विश्वस्त नहुनेले उठाएको कुराप्रति केही भन्ने कुरा नभएको प्रतिक्रिया दिए।

मेयर चौधरीको दाबीपछि उनले आफूले तीन वटा कुरा खोजिरहेको जनाए।  ‘पार्टीको अनुशासन हेर्ने ठाउँबाट यो अहिलेको अवस्था सिर्जना भएकोमा मेयर चौधरीलाई हदैसम्मको कारबाही हुनुपर्छ,’ चौलागार्ईंले भने,  ‘उनीमाथि (मेयर) कानुनी कारबाही गर्न तयारी गरिरहेको आवश्यक पर्दा गर्नेछु। तर, म व्यक्तिगत रुपमा भने कानुनी प्रक्रियामै जानुपर्छ भन्ने विकल्पमा चाहिँ छैन।’ उनका अनुसार सबैभन्दा पहिला त मान्छेको मानमर्दन र संस्थाप्रति लगाएको आरोपमाथि छानबिन हुनुपर्छ।

‘छानबिन भएपछि बोलेको के रहेछ, यकिन हुन्छ,’ उनले भने, ‘छानबिन सकेर म भ्रष्टाचारी भए जे जे सजाय भोग्न पनि तयार, आरोपमा पुष्टि हुने आधार चाहियो? छानबिन गरेर प्रमाणित गर्न चुनौती दिनबाहेक अहिले त अरु त म के नै पो गर्न सक्छु र !’

मेयर चौधरीले आफूविरुद्ध तीन दर्जन हाराहारी म्यासेज पठाएको पनि सुनाए।  ‘ती म्यासेजमा के लेखिएको छ भन्ने कुरा अहिले सार्वजनिक गर्ने पक्षमा छैन। जुन ठाउँमा दिनुपर्ने हो दिइसकेको छु। कल्पना पनि गर्न नसकिने कुरा लेखिएको छ,’ उनले भने। मेयर चौधरीले पठाएको म्यासेज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सेयर गरिसकेको बताए।

मेयर चौधरी र खानेपानीका अध्यक्ष दुवै जना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली गुटका हुन्। २०७४ असारमा भएको स्थानीय तहको निर्वाचनका लागि दुवै जना मेयर पदको उम्मेदवारका लागि आकांक्षी थिए। नेता सर्वध्वज साँवाको सम्भावना बलियो हुँदा चौलागाईंले सावाको सट्टा बरु चौधरीको पक्षमा लबिङ गरेका थिए।

‘अहिलेसम्म हामी दुई जनाबीच कहिले केही भएको थिएन, एक्कासि यस्तो हुन पुग्यो,’ चौलागाईंले पत्रकार सम्मेलनमा भने। यी दुई जनाबीच जेठ ६ गते नेकपा सुनसरीको शपथग्रहण कार्यक्रमदेखि सम्बन्ध बिग्रिएको थियो। सो कार्यक्रममा चौलागाईंले मेयर चौधरीलाई नमस्कार गरे। तर, नमस्कार नफकाईकन चौलागाईंमाथि आक्रोश व्यक्त गरेका थिए। त्यो घटनापछि चौलागाईं आफै साइट लागेका थिए।

त्यसपछि मेयर चौधरीले चौलागाईंलाई पिटेको अभिव्यक्ति दिँदै आएका छन्। पिट्नुको कारणबारे स्पष्ट पार्दै भन्ने गरेका छन्, ‘खानेपानी संस्थामा पाइप लाइन विस्तार, टंकी निर्माण  र जग्गा खरिदमा भ्रष्टाचार गरेकाले गर्दा पिटेको हुँ।’ तर, कसैले भ्रष्टाचार गरेको पुष्टि भएमा त्यसलाई कारबाहीको दायरमा ल्याउने कानुनी प्रक्रिया हुन्छ। पछिल्लोपटक एक टेलिभिजनमा अन्तर्वार्ता दिएका मेयर चौधरीले चौलागाईंलाई भ्रष्टाचार गरेको र ऐलानी जग्गा ओगटेर घर निर्माण गरेको बताएका छन्।

‘चौलागाईंलाईं आफूले सुरुआतदेखि जान्दा र चिन्दाको अवस्थाबाट अहिले आएर आर्थिक हैसियत ह्वात्तै बढेको छ,’ मेयर चौधरीले टेलिभिजनको अन्तर्वार्तामा भनेका छन्, ‘चौलागाईंको व्यापार व्यवसाय केही छैन, कसरी ह्वात्तै आर्थिक हैसियत बढ्यो ?’ दुवै जना निकट नेकपाका इटहरीका एक जना नेताले पनि चौलागाईंको आर्थिक हैसियत सोचेभन्दा बढी नै बढेको स्वीकारे। ‘अब मेयरले बोलेको विषयमा टिप्पणी गर्ने कुरा भएन तर चौलागाईंको आर्थिक हैसियत चाहिँ बढेकै हो,’ उनले भने, ‘तर, भ्रष्टाचार भएको भए छानबिन गर्ने अधिकारसमेत स्थानीय सरकार प्रमुख भएकाले गर्दा मेयरलाई भएकाले गर्दा आधार–प्रमाणका आधारमा अभिव्यक्ति दिनुपर्छ।’

खानेपानी संस्थाका अध्यक्षमाथि भ्रष्टाचारको आरोप लागे पनि नैतिकताका आधारमा राजीनामा नदिने भएका छन्। ‘मैले राजीनामा किन दिने म आफूलाई मेरो संस्थामा भ्रष्टाचार भएको भएकै छैन, हामी हाम्रो संस्थाप्रति विश्वस्त छौं,’ उनले भने।

हुन त खानेपानी संस्थामा भ्रष्टाचार राजनीतिक दलसँगै अन्य समूहले बेला बेलामा आरोप लगाएर आन्दोलनको चर्काउने चेतावनी दिने गरेका छन्। जेठ ११ गते नेपाली कांग्रेस इटहरीले भ्रष्टाचारको आरोप लगाउँदै छानबिन गर्न माग गरेको थियो।

इटहरी खानेपानी संस्थाको हरेक चार वर्षको अन्तरमा निर्वाचन हुनुपर्ने नियम छ। तर, दलहरूबीचको अन्तरविरोधले पछिल्लो समय नौ वर्षपछि २०७१ जेठ २६ गते निर्वाचन भएपछि दोस्रो कार्यकालका लागि चौलागाईं अध्यक्ष चयन भएका थिए। तत्कालीन एमालेको समूह र अरु छ दलको गठबन्धनबीच उपभोक्ता संस्थाको वडा परिषद्मा भएको निर्वाचनबाट एमालेका अधिकतर उम्मेदवार विजयी भएपछि मूल समितिको निर्वाचनमा पूरै तत्कालीन एमालेका उम्मेदवारको मात्र उम्मेदवारी परेकाले पूरै टिम स्वतः विजयी भएको थियो।

खानेपानी संस्था ०५१  सालदेखि सुरु भएकोमा संस्थापक अध्यक्ष तत्कालीन गाविस अध्यक्ष एमालेका दिवंगत नेता प्रमोदकुमार प्रधान थिए। उनी ०५८ सम्म अध्यक्ष भएका थिए। ०५८ देखि ०६२ सम्म एमालेकै दिवंगत नेता बिपी पौडेल अध्यक्ष भएका थिए। त्यसपछि भने चौलागाईं नै अध्यक्ष रहँदै आएका छन्।

सम्बन्ध बिग्रनुमा सिएफएल प्रकरण
त्यसो त एक वर्षअघि झन्डै एक करोड रुपैयाँ हाराहारीको इटहरी उपमहानगरपालिकाले कानुनविपरीत बिना प्रतिस्पर्धा सिएफएल बल्ब खरिद प्रकरण नै मेयर चौधरी र खानेपानीका अध्यक्ष चौलागाईंबीच सम्बन्ध बिग्रिनुको मुख्य कारण रहेको पार्टीका नेता–कार्यकर्ताले बताउने गरेका छन्। कार्यकर्ताका अनुसार बल्ब खरिदको मुद्दा चर्काउन चौलागार्ईंले भूमिका खेलेको चौधरीको अन्तिम निष्कर्ष छ।

बल्ब खरिद प्रकरण चर्कंदा चौलागाईंले नै समन्वय गरेर आफ्नै घरमा त्यतिबेलाका एमालेका नेता जीवन घिमिरे, धर्म निरौला, रमेश बस्नेत, नन्द बस्नेतलगायतलाई डाकेर के गर्ने? भनेर छलफल गरेको बताए। ‘सिएफल बल्ब खरिद प्रकरणमा मलाई फँसाउने सूचीमा राखेर निसाना बनाइएको हुनुपर्छ,’ चौलागाईंले नागरिकसँग टेलिफोनमा भने।

चौलागाईंले चौधरीको पैसा चलाएको कारणले पनि समस्या निम्तिएको पार्टीका नेता–कार्यकर्ताको बुझाइ छ। चौधरीसँग आफ्नो कुनै प्रकारको आर्थिक कारोबार नभएको जिकिर गरे। तर, नेता–कार्यकर्ता चौलागाइंको जिकिरप्रति विश्वस्त छैनन्।

बल्ब खरिदमा जनप्रतिनिधिको संलग्नता नभएकैले गर्दा अख्तियारले क्लिन चिट दिएको मेयर चौधरीको दावी छ। मेयर चौधरीले यसमा जनप्रतिनिधिको दोष नहुँदा अख्तियारले क्लिन चिट दिँदा कर्मचारीले भने उन्मुक्ति पाएको दावी गर्दै आएका छन्।

मेयर चौधरीले एक वर्षअघि बल्ब खरिदमा तत्कालीन कार्यकारी अधिकृत सागर मिश्र, त्यतिबेलाका स्टोर किपर मनोज दाहाल र लेखा अधिकृत लखनलाल चौधरीले नै भ्रष्टाचार गरेको दावी गर्दै आएका छन्।

बल्ब खरिदमा आर्थिक वर्ष २०७३–०७४ मा पनि ८३ लाखको भुक्तानीमा पनि समस्या भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले अनुसन्धान आयोगले बल्ब खरिदको मुद्दा टुंगो लगाइसकेको छ।

जग्गा खरिदमा शंका
इटहरी पूर्वकै उदयमान सहरको रुपमा विकसित हुँदै गएसँगै खानेपानीको क्षमता विस्तार गर्न इटहरीका तीन वटा वडामा खानेपानी संस्थाले जग्गा खरिद गरेको छ। खानेपानी संस्थाले वडा नं. १०, १६ र १७ मा जग्गा खरिद गरेको हो। यी वडामा खरिद गरेको जग्गालाई नै लक्षित गरेर भ्रष्टाचार भएको मेयर चौधरीले दावी गर्दै आएका हुन्।

खानेपानी संस्थाले यसै वर्ष वडा नं. १० मा १९ कट्ठा सवा १९ धुर जग्गा प्रमोद चौधरीसहित सात जनाको समूहसँग खरिद गरेको छ। यो जग्गा एक करोड ४१ लाख ९३ हजार ३ सय ३७ रुपैयाँमा खरिद गरेको जनाइयो। यस्तै, वडा नं. १६ मा १० कट्ठा १५ धुर जग्गा आर्थिक वर्ष २०७४–७४ मा खरिद गरेको छ। यो जग्गा एक करोड ७१ लाख तीन हजार २ सय ५० मा रामप्रसाद न्यौपानेबाट खरिद गरिएको हो। यस्तै, वडा नं. १७ मा अघिल्लो आर्थिक वर्षमै १५ कट्ठा १८ धुर खरिद गरिएको थियो। यहाँ जग्गा खरिद गर्दा एक करोड ६६ लाख ९३ हजार ४ सय १० रुपैयाँ लागेको थियो।

अहिले इटहरी उपमहानगरपालिकाका अहिले सात वटा वडामा पूर्ण रुपमा र अरु सात वटा वडामा आंशिक घर परिवारले मात्र खानेपानीको सेवा पाएका छन्। यहाँ २० वटा वडा छन्। खानेपानी संस्थाका अनुसार इटहरी वडा नं. २, ४ र ५ मा टंकी निर्माण गरी दैनिक एक करोड लिटर पानी वितरण गर्दा १६ हजार पाँच सय घरधुरी लाभान्वित भएका छन्। पछिल्लो समय तीन वटा जग्गा खरिद गरेर टंकी निर्माण गरी ६० हजार घरधुरीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

पाइप लाइन विस्तार भने आर्थिक वर्ष २०६२–०६३ मा सरकारले साना सहरी खानेपानी आयोजनाअनुसार बेला बेला काम गर्ने गरेको जनाइयो। केही महिनाअघि कोसी राजमार्गअन्तर्गत इटहरी वडा नं. १ मै मापदण्डविपरीत पाइप विस्तार गरेको स्थानीय गाउँलेले उपमहानगरपालिका कार्यालयमै गएर गुनासो गरेका थिए।

खानेपानीले थप नयाँ तीन घरमा जहाँ धारा जडान गर्दा पनि सय मिटर पाइप भने सधैभरि विस्तार गर्ने गरेको छ। इटहरी खानेपानी उपभोक्ता संस्थाबाहेक सरकारले इटहरी वडा नं. १२ मा पर्ने खनार खानेपानी आयोजना पनि २०६५ सालदेखि सुरु भए पनि अहिलेसम्म काम सकिएको छैन। खनार खानेपानी योजना पूरा हुँदा आठ हजार दुई सय ४५ जना जना लाभान्वित हुनेछन्। आयोजना पूरा गर्न स्थानीयले बेला बेलामा दबाब दिँदै आएका छन्। योबाहेक इटहरीकै पकली र हाँसपोसामा पनि खानेपानी आयोजना विस्तार हुँदै छ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App