६ वैशाख २०८१ बिहीबार
समाज

उपभोक्ताको सहभागितामा बबई सिँचाइको मूल नहर

बैदी - सयौं उपभोक्ताको सहभागितामा शनिबार बबई सिँचाइ आयोजनाको मूल नहर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। विगतमा झैं रोपाइँ सुरु हुनुपूर्व साविकका तीन गाविस (पदनाहा, धधवार र मगरागाडी) का सयौं उपभोक्ताको सहभागितामा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा ३ हजार ५ सय जनाको सहभागिता रहेको बबई सिँचाइ आयोजना कार्यालयको रेकर्डमा उल्लेख छ। शनिबार बिहान ८ बजे नहरभित्र पसेका उपभोक्ताले दिउँसो १२ बजेसम्म नहर सफा गरेका थिए।

विगतदेखि नै उपभोक्ताले नहरभित्रको हिलो, बुट्यान र कडा माटो खनेर बगाउने काममा तीन घण्टा श्रमदान गरे। उपभोक्ता समिति र बबई सिँचाइ आयोजना कार्यालयले तोकेको समयमा उपभोक्ता स्वतःस्फूर्त सो सफाइ कार्यक्रममा श्रमदान गर्न सहभागी हुने गरेका छन्। उपभोक्ता समितिले नहर सफाइ गर्दा सजगता अपनाएर नहरभित्र डोरी बाँध्ने, गाडी र प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध मिलाएको थियो। गम्भीर चोट लागेमा प्राथमिक उपचारपछि अस्पतालसम्म पु¥याउन गाडी र चालक तयार पारी सफाइ कार्यक्रम सुरु गरेको सो कार्यालयका कर्मचारीले जानकारी दिए।

वर्षौें पहिलेदेखि यहाँका उपभोक्ताको श्रमदानबाट नहर सफाइ हुँदै आएको छ।

यहाँका प्रत्येक घरका बासिन्दाले सामूहिक रूपमा सरसफाइ गर्ने गरेका छन्। यसरी सामूहिक प्रयासबाट गरिएको नहर सफाइ कार्यक्रमले भाइचाराको सम्बन्ध स्थापित हुने र आत्मीयता बढ्ने उपभोक्तामा विश्वास छ। कार्यक्रममा आफू सधैं उत्साहका साथ उपस्थित हुने गरेको पदनाहाका ६० वर्षिय भोला थारूले बताए। ‘हामी उपभोक्ताले परम्परागत कामलाई निरन्तरता दिइरहेका छौं,’ उनले भने, ‘यहाँ बच्चादेखि वृद्धसम्म नहर सफाइमा सहभागी भई आफूले सकेको काम गर्छन्। सबैजना नहरभित्र पस्नुपर्दैन।’

सफाइ कार्यक्रममा पदनाहा, मगरागाडी र धधवारका प्रत्येक घरबाट एक÷एकजना उपस्थित भएका थिए। बालबालिका तथा महिलाको समेत सहभागिता रहेको थियो। कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको बबई सिँचाइका पूर्वी नहर प्रणालीका अध्यक्ष बलिराम थारूले बताए। ‘वर्षौें पहिलेदेखि यहाँका उपभोक्ताको सक्रिय सहभागितामा नहर सफाइ हँुदै आएको छ,’ उनले भने, ‘उपभोक्ताको एकता नहर सफाइ कार्यक्रमका दिन हेर्नलायक हुन्छ।’ द्वन्द्वको समयमा श्रमदानको प्रचलन हराए पनि विगतमा झैं यस प्रचलनलाई जीवित राख्न भरपुर कोसिस गरिरहेको अध्यक्ष थारूले दाबी गरे। प्रत्येक गाउँका उपभोक्तालाई लठ (लट्ठी)को नापमा नहर सफाइको जिम्मा दिइएको हुन्छ। उक्त लठ तीन मिटर लम्बाइको हुन्छ। उनका अनुसार यस वर्ष मझरालाई ६० लठ, बुढानलाई ८० लठ र धधवारलाई ९१ लठको नहर सफाइ गर्ने जिम्मा दिइएको थियो। उपभोक्ताको सक्रिय सहभागितामा हुने सो सरसफाइ कार्यक्रम देशकै नमुना भएको बबई सिँचाइ आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए। ‘यस्तो उपभोक्ताको एकता हेर्न कहीँ पाइँदैन,’ उनले भने, ‘उपभोक्ताको सक्रिय सहभागिताले आयोजनालाई सहयोग पुगेको छ।’ कार्यालयका अनुसार बबईको मूल नहरबाट विभाजित भएको पानी पूर्व र पश्चिम नहर प्रणालीको ४२ किलोमिटर लामो नहर हुँदै किसानको खेतखेतमा पुग्ने गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App